close

चोरीको फोनबाट मोबाइल बैंकिङ ह्याक: रिकन्डिसनको बाइक किन्ने बहानामा व्यापारीबाट डेढ लाख झ्वाम

टेकपाना टेकपाना

मंसिर ६, २०८२ १९:१८

चोरीको फोनबाट मोबाइल बैंकिङ ह्याक: रिकन्डिसनको बाइक किन्ने बहानामा व्यापारीबाट डेढ लाख झ्वाम

काठमाडौँ । राजधानीको जडिबुटीमा एक रिकन्डिसन सञ्चालन गर्दै आएका रामेश्वर शर्मा (नाम परिवर्तन) का लागि गत बिहीबारको दिन अरू दिनजस्तै सामान्य थियो । रिकन्डिसनमा सेकेन्ड ह्यान्ड बाइक खरिद गर्न ग्राहक आउनु नौलो कुरा थिएन । त्यही क्रममा आफूलाई मिलन श्रेष्ठ (नाम परिवर्तन) बताउने एक व्यक्ति बाइक किन्ने इच्छासहित पसल आइपुगे । रामेश्वरले पसलका सबै बाइक देखाए, जसमध्ये मिलनलाई जम्मा २४ हजार किलोमिटर गुडेको अपाचे १६० बाइक मन पर्‍यो । 

रामेश्वरले सहज रूपमा उक्त बाइकको मूल्य डेढ लाख रुपैयाँ भएको बताए । मिलनले बाइक राम्ररी नियाले र सबै निश्चित भइसकेपछि मूल्य नै नघटाई खरिद गर्न तयार भए । बाइक बिक्री गर्न खोज्दा अधिकांश ग्राहकले मूल्य घटाउने, बार्गेनिङ गर्ने गरे पनि मिलनले मूल्य नै नघटाएको देख्दा रामेश्वरलाई केही असामान्य त लाग्यो । तर दङ्ग पनि परे । मिलनले ‘तपाईंको क्यूआर ल्याउनुस्’ भन्दै तत्कालै क्यूआर कोडबाट रकम पठाइदिए । 

बाइकमा पोख्त देखिने मिलनले सबै चित्त बुझेपछि रकम भुक्तानी गर्दै रामेश्वरलाई भने, “बाइक टेस्ट त गर्नु पर्‍यो नि । मैले पैसा हालिसकेँ चेक टाइम कति हुन्छ भन्नुहुन्छ कि बरु ? किनभने अहिले हेर्दा पो मन पर्‍यो चलाउँदा केही फरक अनुभव भयो भने त अर्को लिनुपर्ला ।”

ग्राहकको यो प्रस्तावमा सहमत हुँदै रामेश्वरले पनि लिखित सम्झौताको पत्र तयार पारी मिलनलाई हस्ताक्षर गर्न लगाए र औंठा छाप पनि हाने । 

चेक टाइम पूरा भएर सबै चित्त बुझिसकेपछि बाइक नामसारी गर्ने सर्तमा मिलन बाइक लिएर गए । सबै कुरा राम्रै भइरहेको थियो । दुई दिनपछि मिलन बाइक ल्याएर पुनः रिकन्डिसनमा आए, सामान्य कुराकानी गरेर फर्किए । तर, बाइक किनेको चौथो दिनमा उनी पुनः पसलमा पुगे र बाइकमा समस्या देखिएको भन्दै बाइक बुझाउने र रकम फिर्ता लिने प्रस्ताव राखे । 

पहिले सम्झौता नै ‘चेक टाइम’ सहित भएकाले रामेश्वरले पनि करकाप गरेनन् । बाइक बुझाएर रकम लगेको कागज बनाइयो । रामेश्वरले मिलनलाई डेढ लाख रुपैयाँ फिर्ता त दिए, तर अनलाइनबाट आएको रकम अनलाइनबाटै नपठाइ नगद दिए । टेकपानासँगको कुराकानीमा रामेश्वर भन्छन्, “त्यतिबेला अनलाइनमा रकम त थियो, तर नगद नै आफूसँग भएकाले जम्मा गर्न के बैंक गइरहनु भनेर नगद नै दिएँ । तर, त्यही नै मेरो गल्ती भयो ।”

नगद डेढ लाख रुपैयाँ बुझिसकेपछि मिलन आफ्नो बाटो लागे ।

त्यसपछि भोलिपल्ट रामेश्वरको रिकन्डिसनमा बाइक खरिद गर्ने अर्का व्यक्ति आए । र, रकम पठाइदिन खोजे तर रकम गएन । बारम्बार प्रयास गर्दा पनि रकम नगएपछि ती ग्राहकले रामेश्वरलाई आफ्नो खाता चेक गर्न भने । 

रामेश्वरले आफ्नो खाता चेक गर्दा उनी छाँगाबाट खसेजस्तै भए । बैंक खाता ब्लक भएको रहेछ । उनले तत्कालै बैंकमा फोन गरे । बैंकका कर्मचारीले भने, “प्रहरीबाट निवेदन आएपछि हामीले तपाईंको खाता ब्लक गरेका हौं । एक पटक जिल्ला प्रहरी परिसर काठमाडौँमा सम्पर्क गर्नुहोला ।”

राम्ररी कारोबार सञ्चालन गर्दै आएका उनलाई यतिका वर्षसम्म कहिल्यै यस्तो अनुभव भएको थिएन । जिल्ला प्रहरी परिसर पुगेर बुझ्दा पो थाहा भयो, उनको पसलको क्यूआर कोडमा मिलनले हालेको डेढ लाख रुपैयाँ चोरी भएको मोबाइलबाट ट्रान्सफर गरिएको रहेछ ।

जिल्ला प्रहरी परिसरका अनुसन्धान अधिकृतका अनुसार काठमाडौँकै एक महिलाको घरबाट केही दिनअघि सामान्य मोबाइल फोन चोरी भएको थियो । ती महिलाले आफ्नो फोन सामान्य खालको भएकाले वास्ता गरिनन् । अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, “घरबाटै फोन चोरी भयो । सामान्य फोन भएकाले खोज्ने प्रयास त गरे, तर बाँकी केही काम गरेनन् ।” पछि फुर्सदमा टेलिकम गएर हराएको नम्बरको सिम कार्ड निकाल्दा र बैंकबाट रकम काटिएको मेसेज आउन थालेपछि मात्र उनी झस्किइन् । 

बैंकमा बुझ्दा उनको मोबाइल बैंकिङबाट तीन लाख रुपैयाँ बढी ट्रान्सफर भइसकेको थियो । पीडित महिलाले दिएको निवेदनका आधारमा प्रहरीले रकम ट्रान्सफर भएको अकाउन्ट बन्द गर्न खोज्दा रिकन्डिसन सञ्चालक रामेश्वरको खाता ब्लक हुन पुगेको थियो ।

अनुसन्धान अधिकृतका अनुसार मोबाइल चोर्ने व्यक्तिले सिम निकालेर अर्को स्मार्टफोनमा राखे । त्यसपछि विभिन्न बैंकका एप डाउनलोड गरेर मोबाइल नम्बर हान्दै प्रयास गरे । बैंक मिलेर पासवर्ड रिसेट प्रक्रिया अगाडि बढेपछि पासवर्ड ‘फर्गेट’ गरेर ओटीपीमार्फत नयाँ पासवर्ड राखे र अकाउन्टको एक्सेस लिए । 

यता मोबाइल धनीले सामान्य मोबाइल भन्दै वास्ता नगर्दा चोरलाई सजिलो भयो । प्रहरी भन्छन्, “जम्मा दुई दिनमा तीन लाख रुपैयाँ रित्याएको देखिन्छ । सबैभन्दा बढी रकम त बाइक खरिद गर्न खर्च गर्‍यो र अन्तिममा रिकन्डिसन वालालाई नै झुक्याएर नगद लिएर गयो । बाँकी भने पसलमा खाना खाँदा बढी रकम ट्रान्सफर गरेर बाँकी रकम नगद लिने गरेको देखिन्छ ।”

विडम्बना, रिकन्डिसन सञ्चालक रामेश्वरलाई ती ठग व्यक्तिको नाम (मिलन श्रेष्ठ) र मोबाइल नम्बर बाहेक अरू केही थाहा छैन । सामान्यतया बाइक किनबेच गर्दा नागरिकता वा लाइसेन्सको प्रतिलिपि राख्ने गरेका रामेश्वरलाई त्यस दिन ती विवरण राख्नुपर्छ भन्ने ख्याल नै भएन । अनुसन्धान अधिकृत भन्छन्, “त्यो मान्छे को थियो भन्ने नै खुल्दैन । न कागजात बुझाएको छ न प्रमाण खुल्ने अरू केही छ । उसको हस्ताक्षर र औंठा छापबाट के के खुल्छ र ? तर, भेटिंदै नभेटिने भन्ने त होइन । हामी अनुसन्धान गरिरहेका छौं ।” मोबाइल नम्बर, उसले प्रयोग गर्ने फोन आदिका आधारमा उसलाई फेला पार्ने सम्भावना भने छ ।

यो घटनाले डिजिटल भुक्तानी र सेकेन्ड ह्यान्ड बजारमा नयाँ प्रकारको ठगीको तरिका उजागर गरेको छ । कुनै व्यक्तिले मोबाइल बैंकिङबाट रकम हालेर नगद फिर्ता लिन खोजेमा विशेष सचेत हुनुपर्ने प्रहरीको सुझाव छ । अनलाइन ठगी, मोबाइल चोरी गरेर वा सिम डुप्लिकेसन गरेर बैंकिङ एक्सेस लिने र त्यसलाई नगदमा परिणत गर्न यस्ता जुक्ति लगाउने गतिविधि बढिरहेकाले सजग रहनुपर्ने ती अनुसन्धान अधिकृतको भनाइ छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ २०:३३