सडक सुरक्षाका लागि नेपाली युवाले बनाए एआई डिटेक्सन सिस्टम, ट्राफिक व्यवस्थापनमा सजिलो हुने
मंसिर ८, २०८२ १६:२२
काठमाडौँ । काठमाडौँका चिया पसल, रेस्टुरेन्ट तथा को-वर्किङ स्पेस । जहाँ पायक पर्छ, त्यहीँ भेटेर सडकको यात्रालाई सुरक्षित गराउन सूचना प्रविधिको प्रयोग कसरी गर्ने भनेर छलफलमा जुट्छन् ‘सडक साथी’ का युवा । यस्तै छलफलबाट पत्ता लागेका समस्याहरू समाधानका प्रयासमा खटिन्छन् । तीन महिना पहिले उनीहरूले सडकलाई सुरक्षित बनाउन ‘नियो एनमोली डिटेक्सन सिस्टम’ को नमुना तयार पारे । अनि त्यसलाई लिएर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरीलाई आफ्नो नमुना देखाए ।
ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरसहित केही सडकहरूमा सवारीसाधनको गति पत्ता लगाउन ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपीआर क्यामरा) जडान गरेको छ । तर सवारी दुर्घटना गराउने कारण अरू पनि हुने सडक साथीका सह-संस्थापक निपुण न्यौपाने (२५) बताउँछन् ।
“सडकमा जडान भएका सीसीटीभी फुटेजबाट नै लेन मिच्ने , जेब्रा क्रसिङ अगाडि रोक्ने, तीव्र गतिमा सवारी साधन चलाउने जस्ता ट्राफिक गल्तीहरू विश्लेषण गर्न सम्भव छ । हामीले यही गल्ती विश्लेषण गरेर कारबाही प्रक्रिया अघि बढाउन सकिने प्रविधिको नमुना बनाएर प्रहरीलाई लगेर देखायौँ,” न्याैपानेले भने ।
आफूहरूले नमुनाको रूपमा तयार पारेको प्रणाली वास्तवमा प्रयोगमा ल्याएमा गाडीहरूको स्पीड नाप्ने ‘राडर गन’ हातमा बोकेर चोक चोकमा ट्राफिक प्रहरी बस्न आवश्यक नै नपर्ने उनको दाबी छ । “यातायात व्यवस्था विभागसँग भएको तथ्याङ्कलाई नेपाल प्रहरीले प्रयोग गरेर सवारी धनीहरू चिन्न सकिन्छ । यो प्रविधिलाई नागरिक एपसँग एपीआई प्रयोग गरेर जोड्न सकिन्छ । त्यसपछि सवारी धनीले गरेको गल्तीको जानकारी नागरिक एपबाटै दिन सक्ने बनाउन मिल्छ,” उनले भने ।
यो प्रणाली सञ्चालनमा ल्याएमा ट्राफिक व्यवस्थापनमा हाल प्रयोग हुँदै आएका भन्दा कम जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि पारदर्शी तरिकाले सेवा दिन सक्ने उनको भनाइ छ । तर नेपाल सरकारको आन्तरिक समन्वयमा समस्या भएका कारण उक्त नमुनालाई कार्यान्वयनमा लैजान समस्या विभिन्न निकायहरूले देखाउँदै आएको उनले सुनाए । भौतिक तथा पूर्वाधार मन्त्रालय, गृह मन्त्रालय र कानुन मन्त्रालयमा पनि उक्त नमुना देखाउने योजना रहेको उनले सुनाए ।
उनले थपे, “हामीले प्रविधि प्रयोग गरेर सहज, सस्तो र पारदर्शी तरिकाले यसरी काम गर्न सकिन्छ भनेर प्रहरीलाई समाधान दिने प्रयास गरेका हौँ । त्यो नमुना अनुसारको सबै प्रणाली हामीलाई नै तयार गर्न दिनुपर्छ भन्ने छैन । नेपाल प्रहरीले जुनसुकै कम्पनीलाई पनि यस्तो प्रणाली बनाउने जिम्मा दिन सक्नुहुन्छ ।” आफूहरूले उपलब्ध गराएको समाधानलाई प्रयोगमा ल्याउन सरकार तर्फबाट नै अग्रसरता र लगानी हुनुपर्ने उनले सुनाए ।
आफैँ दुर्घटनामा परेपछि सुरु भएको ‘सडक साथी’को यात्रा
किशोरावस्थादेखि नै बाइकमा घुमफिर गर्न रुचाउने निपुण साथीहरूसँग बाइकमा नेपालका विभिन्न घुमफिर गर्ने, तीव्र गतिमा बाइक कुदाउने, साथीहरूसँग मिलेर स्टन्ट गरेर रमाइलो गर्थे । बाइकमा बेपरवाह रूपमा घुमफिर गरिरहेको बेलामा कहिलेकाहीँ दुर्घटना हुनै लागेर धेरै पटक जोगिएको पनि उनीसँग अनुभव छ ।
तीव्र गतिमा नै बाइक चलाइरहेको बेला सन् २०२२ मा भने उनी भक्तपुर रोडमा दुर्घटनामा परे । उनी सम्झन्छन्, “मैले १०० को स्पीडमा चलाइरहेको बाइक स्कुटरको पछाडी गएर ठोक्कियो । भाग्यवश स्कुटरमा सवार दुई जनालाई केही पनि भएन । तर, मेरो खुट्टामा चोट लाग्यो । दुई महिनासम्म हिँड्नलाई वैशाखीको सहारा लिनु पर्यो ।” त्यो समयमा उनले आफ्नो गल्तीका कारण दुर्घटनामा परेर दु:ख पाएको महसुस गरे । र, सडक दुर्घटनाका कारणहरू खोज्न थाले ।
रोड ट्राफिक इन्जुरी (आरटीआई) कसरी हुन्छ, यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा खोज्ने, विभिन्न अनलाइन कक्षा लिन थालेको उनी सुनाउँछन् । “सडकमा हुने दुर्घटनाहरू तीव्र गतिको कारण मात्र नहुने रहेछ । लेन मिच्ने, गलत स्थानमा पार्किङ लगायतका कयौँ कारणहरूले दुर्घटना निम्त्याउने रहेछ ।”
त्यसपछि उनले सडकलाई सुरक्षित बनाउन सघाउने उद्देश्यले प्रवीन बन्जाडे (२६) सँग मिलेर मार्च २०२३ मा सडक साथी नामक गैरसरकारी संस्था चलाउन सुरु गरे । सन् २०२४ मा भने संस्था दर्ता गराएर नै काम गर्न थाले । त्यसयता यो संस्थाले सामाजिक सञ्जालबाट सडकमा गर्ने व्यवहार दुर्घटना लगायतका विषयमा सचेतना प्रदान गर्ने, सडकको सुरक्षाको लागि डिजिटल समाधानको नमुना प्रस्तुत गर्ने, सडक दुर्घटना हुँदा आकस्मिक नम्बरहरू उपलब्ध गराउने जस्ता काम गर्दै आएको छ ।
सडक साथीको बोर्डमा नौ जना सदस्यहरू छन् । बीएससी सीएसआईटी, बीआईएम, सीए, भिडिओ एडिटिङ र एनिमेसन लगायतका विषयमा अध्ययन गरेका छन् । सबै सदस्यहरू आफ्नो आफ्नो क्षेत्रमा फुल टाइम काम गर्छन् । बाँकी समयमा भने ‘सडक साथी’ को माध्यमबाट डिजिटल सचेतना, उद्धार तथा नीतिगत व्यवस्थाका लागि आवाज उठाउँछन् । यसरी काम गर्दै जाँदा प्राविधिक सहयोग चाहिए आईटीसँग सम्बन्धित विज्ञता भएको साथीहरूको पनि सहयोग लिन्छन् ।
असल उद्धारकर्ता कानुन ल्याउन अनलाइन पेटेसन
नेपालमा हरेक दिन सात देखि नौ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको निपुण सुनाउँछन् । उनले भने, “ संसारभरि ५ देखि २९ वर्ष उमेर समूहमा सबै भन्दा धेरै मृत्यु हुने कारण नै सडक दुर्घटना हो ।” इन्स्टाग्राममा सडकमा गर्न हुने नहुने काम, दुर्घटनाबाट बच्न के गर्ने लगायतका जानकारी सहितको सामग्री प्रसारण गर्दै आएका छन् ।
यता, सडकमा दुर्घटना हुँदा आफैँ फस्ने मनसायले उद्धार गर्न मानिसहरू हिच्किचाउने गरेको न्यौपाने बताउँछन् । उनले भने, “सडकमा हुने दुर्घटनामा उद्धार गर्न जाँदा घाइतेको ज्यान गएमा कानुनी झन्झट आइपर्ने, प्रहरीलाई चाहिने प्रमाण नष्ट हुन सक्ने, अस्पताल लैजाँदा आफूलाई आर्थिक बोझ आउन सक्ने डरले मानिसहरू उद्धार गर्न हत्तपत्त चाहँदैनन् ।”
यस्तो बेलामा राम्रो नियत राखेर उद्धार गर्न चाहने व्यक्तिका लागि संसारभरि ‘गुड समार्टन ल’ भनेर लागु गरिएको उनले बताए । यस्तै किसिमको कानुनी व्यवस्था ‘असल उद्धारकर्ता कानुन’ नेपालमा पनि लागु गर्नुपर्ने भन्दै संस्थापनाको समयदेखि नै वकालत गर्दै आएको उनले बताए ।
यही क्रममा करिब तीन महिना पहिला असल उद्धारकर्ता कानुनका लागि स्पिक अप नेपालसँग सहकार्य गरेर हस्ताक्षरसहितको पेटेसन तयार पारेर कानुन निर्माणका लागि बुझाएको उनले सुनाए । उनले भने,
“सडक सुरक्षा सम्बन्धी कानुनमा असल उद्धारकर्ताका लागि पनि व्यवस्था गर्न लागिएको थियो । तर जेनजी आन्दोलनसँगै संसद विघटन भएपछि यो कानुन आउने प्रक्रिया अहिले रोकिएको छ ।”
सडक साथी एप ल्याउने तयारी
सडकमा सुरक्षित व्यवहार सघाउन सडक साथी एप बनाउने तयारी भइरहेको न्यौपानेले जानकारी दिए । उनका अनुसार जनवरी २०२६ मा सार्वजनिक गर्ने गरी एप विकासको काम भइरहेको छ ।
उक्त एपमा सवारी चालक अनुमति पत्रमा सवारीसाधन चलाउँदा अपनाउनु पर्ने सुरक्षा लगायतका जानकारीहरूलाई क्विज जसरी खेलेर सिक्न सकिने फिचर राखिएको छ । ट्राफिक नियमका साथै सडकमा हुनुपर्ने नागरिक चेतनाका बारेमा उक्त एपमा सिकाउने गरी तयारी भइरहेको छ ।
दुर्घटनाका समयमा रगत दिन चाहने र लिन चाहनेबिच सम्पर्क गराउन छुट्टै ‘ब्लड सेक्सन’ बनाइएको छ ।
नेपालभरिबाट प्रहरी, ट्राफिक, एम्बुलेन्स, ब्लड बैंक लगायतका तीन हजार बढी आपत्कालीन नम्बरहरू सङ्कलन गरिएको उनले सुनाए । यी नम्बरहरूलाई खोज्न सजिलो होस् भनेर सर्च फिचरलाई अझ राम्रो बनाएर एपमा राखिने तयारी भइरहेको छ ।
यस्तै सडक दुर्घटना लगायतका समयमा कसरी उद्धार र प्राथमिक उपचार गर्ने लगायतका विषय सिकाउने भिडिओहरू पनि सो एपमा समावेश गर्न लागिएको उनले बताए ।
सडक दुर्घटना हुँदा उद्धार गर्ने व्यक्तिलाई घाइते व्यक्तिको बारेमा सहजै जानकारी पाउन सक्ने गरि आईसीई कार्ड बनाउने फिचर पनि एपमा उपलब्ध हुने उनले बताए । ब्लड ग्रुप, इमर्जेन्सी नम्बर, रोग वा नियमित सेवन गर्ने औषधि आदि जानकारी समावेश हुने उक्त कार्डको पीडीएफ एपमा राखिने छ । सो पीडीएफ डाउनलोड गरेर विवरण भरेर गाडीमा सहजै भेटिने स्थानमा राख्न सकिने उनले बताए ।
एपमा उपलब्ध हुने आईसीटी कार्ड, इमर्जेन्सी नम्बर, ब्लड सेक्सनका सुविधा हाल वेबसाइटमा पनि उपलब्ध रहेको न्यौपानेले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ १७:२१
