close

फेसबुक ग्रुपमा पनि रेडिट जस्तै फिचर, वास्तविक नामको सट्टा ‘निकनेम’ मार्फत पोस्ट गर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर ९, २०८२ ८:५

फेसबुक ग्रुपमा पनि रेडिट जस्तै फिचर, वास्तविक नामको सट्टा ‘निकनेम’ मार्फत पोस्ट गर्न मिल्ने

काठमाडौँ । फेसबुक ग्रुपहरूका लागि नयाँ फिचर आएको छ । मेटाले हालै ल्याएको यो फिचरअन्तर्गत अब प्रयोगकर्ताले फेसबुक ग्रुपमा पोस्ट वा कमेन्ट गर्दा आफ्नो वास्तविक नामको सट्टा ‘निकनेम’ (उपनाम) प्रयोग गर्न पाउनेछन् ।

फेसबुक ग्रुपहरूलाई रेडिट वा डिस्कर्ड जस्ता फोरमहरूजस्तै बनाउने प्रयास अनुसार यो सुविधा आएको देखिन्छ । जसअनुसार प्रयोगकर्ताले गोपनीयता कायम राख्दै ग्रुपमा व्यक्तिगत उपस्थिति जनाउन सक्नेछन् ।

यो सुविधा ‘एनोनिमस’ (गुमनाम) पोस्टिङभन्दा फरक छ । गुमनाम भएर पोस्ट गर्दा प्रयोगकर्ताको पहिचान लुक्ने भएपनि अन्य सदस्यहरूसँग सम्बन्ध विस्तार गर्न सकिँदैन । तर, निकनेमको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो मुख्य फेसबुक प्रोफाइल र वास्तविक परिचय नखुलाईकन ग्रुपभित्र आफ्नो छुट्टै पहिचान बनाउन सक्नेछन् ।

प्रयोगकर्ताले सेट गरेको निकनेमबाट गरिएका पोस्ट, कमेन्ट र रियाक्सनहरूमा उनीहरूको वास्तविक प्रोफाइल र फोटो अन्य साधारण सदस्यले देख्न पाउने छैनन् । यद्यपि, ग्रुपका एड्मिन, मोडेरेटर र फेसबुकको सिस्टमले भने वास्तविक प्रयोगकर्ताको पहिचान देख्न सक्नेछन् । साथै, ग्रुपका अन्य सदस्यले उक्त निकनेमबाट विगतमा गरिएका पोस्टहरूको हिस्ट्री हेर्न सक्नेछन् ।

फेसबुकले लामो समयदेखि प्रयोगकर्ताले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने वास्तविक नाम नै प्लेटफर्ममा प्रयोग गर्नुपर्ने नीति लिँदै आएको थियो । तर, साथीभाइ र परिवारभन्दा बाहिरका अपरिचित व्यक्तिहरूसँग अन्तरक्रिया हुने ग्रुप हरूको प्रकृतिलाई ध्यानमा राख्दै कम्पनीले यो लचिलो नीति ल्याएको हो ।

नियम तथा सर्तहरू 

फेसबुकले प्रयोगकर्तालाई निकनेमको सुझाव दिनेछ, तर प्रयोगकर्ताले फेसबुकको ‘कम्युनिटी स्ट्यान्डर्ड’ पालना हुने गरी आफैँले पनि नाम छान्न सक्नेछन् । यो सुविधा लिनका लागि प्रयोगकर्ताले पोस्ट गर्दा ‘पोस्ट एनोनिमस’ (Post anonymously) को छेउमा रहेको अप्सन रोज्नुपर्नेछ ।

प्रयोगकर्ताले हरेक दुई दिनमा एकपटक मात्र आफ्नो निकनेम परिवर्तन गर्न पाउनेछन् । नाम परिवर्तन गर्दा विगतमा गरिएका पोस्ट र कमेन्टहरूमा पनि नयाँ नाम नै देखिनेछ । निकनेम प्रयोग गर्नेहरूले लाइभ भिडिओ र मेसेजिङजस्ता केही सुविधाहरू भने प्रयोग गर्न पाउने छैनन् ।

यो फिचर विश्वव्यापी रूपमा उपलब्ध गराइएको भए पनि यसलाई लागु गर्न सम्बन्धित ग्रुपका एडमिनले अनुमति दिनुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ ८:५