close

अब एन्ड्रोइडबाट सिधै आईफोनमा फाइल पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर ९, २०८२ १७:२१

अब एन्ड्रोइडबाट सिधै आईफोनमा फाइल पठाउन सकिने

 

काठमाडौँ । एन्ड्रोइड र विन्डोज डिभाइसबिच सहज रूपमा काम गर्दै आएको गुगलको ‘क्विक शेयर’ फिचरले अब एप्पलको ‘एयरड्रप’सँग पनि काम गर्ने भएको छ । गुगलले बिहीबार एक ब्लगमार्फत नयाँ अपडेट घोषणा गरेको हो । 

यससँगै अब एन्ड्रोइड र आईओएस डिभाइसबिच दुईतर्फी फाइल शेयरिङ सम्भव भएको छ । यो सुविधा सबैभन्दा पहिले पिक्सेल १० सिरिजका स्मार्टफोनमा उपलब्ध भएको छ । अन्य एन्ड्रोइड डिभाइसमा यो सुविधा कहिले आउँछ भन्नेबारे कम्पनीले केही खुलाएको छैन ।

कम्पनीका अनुसार एन्ड्रोइड र आईफोनबिच फाइल शेयर गर्नको लागि एयरड्रपको ‘एभ्रिवन फर १० मिनेट्स’ (Everyone for 10 minutes) मोड प्रयोग गर्नुपर्नेछ । यो फिचर प्रयोग गर्दा डेटा कुनै सर्भरमा नगई सोझै डिभाइसमा जान्छ । यसो हुँदा कतै पनि लग नबस्ने गुगलले स्पष्ट पारेको छ ।

यो फिचर प्रयोग गर्नको लागि आईफोन, आईप्याड वा म्याक प्रयोगकर्ताले आफ्नो एयरड्रप सेटिङमा गएर ‘एभ्रिवन फर १० मिनेट्स’ (Everyone for 10 minutes)को अप्सन छान्नुपर्छ । त्यसपछि एन्ड्रोइड प्रयोगकर्ताले ‘क्विक शेयर’ मा गएर नजिकै देखिने एप्पल डिभाइस छनोट गर्न सक्छन् ।

आईफोन प्रयोगकर्ताले नोटिफिकेसनमा ‘एसेप्ट’ (Accept) गरेपछि फाइल ट्रान्सफर हुनेछ । गुगलले यो फिचरमा कडा सुरक्षा उपाय अपनाइएको जनाएको छ । हाललाई ‘एभ्रिवन फर १० मिनेट्स’ मोडमा मात्र काम गर्ने भए पनि गुगलले भविष्यमा एप्पलसँग सहकार्य गरी ‘कन्ट्याक्ट्स वन्ली’ (Contacts Only) मोड पनि ल्याउने जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ १७:२१