close

‘मोजा जस्तो’ भन्दै गिज्याइएको आईफोन राख्ने थैली विश्वभर सोल्ड आउट

टेकपाना टेकपाना

मंसिर १३, २०८२ १२:१८

‘मोजा जस्तो’ भन्दै गिज्याइएको आईफोन राख्ने थैली विश्वभर सोल्ड आउट

काठमाडौँ । एप्पलले हालै सार्वजनिक गरेको नयाँ एक्सेसरिज ‘आईफोन पकेट’ को स्टक विश्वभर सकिएको छ । ‘मोजा जस्तो झोला’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना र ट्रोल गरिए पनि बिक्री खुला भएको केही दिनमै यो उत्पादन पूर्ण रूपमा बिक्री (सोल्ड आउट) भएको हो ।

गत १४ नोभेम्बरदेखि अमेरिका, बेलायत, चीन, जापान, फ्रान्स, इटाली, सिङ्गापुर र दक्षिण कोरियामा एप्पलको अनलाइन स्टोरमार्फत यसको बिक्री सुरु गरिएको थियो । प्रविधि सम्बन्धी जानकारी दिने पोर्टल ‘म्याक र्‍युमर्स’ का अनुसार अमेरिकामा बिक्री सुरु भएको केही समयमै यसको सबै स्टक सकिएको थियो । दक्षिण कोरिया लगायतका अन्य देशमा केही दिनसम्म सीमित कलर र साइजमा उपलब्ध भए पनि हाल विश्वभर नै यो पूर्ण रूपमा बिक्री भइसकेको छ ।

के हो आईफोन पकेट ?

‘आईफोन पकेट’ जापानमा निर्मित एक विशेष प्रकारको थैली हो, जसलाई ‘इसे मियाके’ को अनुसन्धान र विकासको नतिजाका रूपमा लिइएको छ । एप्पल डिजाइन स्टुडियोसँगको सहकार्यमा तयार पारिएको यस एक्सेसरिजमा ‘थ्रीडी-निटेड’ प्रविधि प्रयोग गरिएको छ । बहुउपयोगी मानिएको यो साधनले आईफोनलाई पूर्ण रूपमा छोप्न सक्छ । यसलाई तन्काएर स्क्रिन हेर्न, अन्य साना सामग्री राख्न तथा हातमा बोक्न वा शरीरमै लगाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

अमेरिकामा यसको मूल्य १४९.९५ डलरदेखि २२९.९५ डलरसम्म तोकिएको थियो । यो छोटो र लामो गरी दुई साइजमा उपलब्ध गराइएको थियो । छोटो साइजमा लेमन, मन्डारिन, पर्पल, पिङ्क, पिकक, सफायर, सिनेमन र ब्ल्याक कलर भेरियन्ट उपलब्ध थिए भने लामो साइजमा सफायर, सिनेमन र ब्ल्याक कलर भेरियन्ट राखिएको थियो ।

एप्पलले ११ नोभेम्बरमा यसको घोषणा गर्दा विश्वभर मिश्रित प्रतिक्रिया आएको थियो । महँगो मूल्य र सामान्य डिजाइनलाई लिएर धेरैले यसलाई गिज्याएका थिए । यो ‘लिमिटेड एडिसन’ (सीमित संस्करण) एसेसरिज भएकाले अब यो पुनः स्टकमा आउँछ वा आउँदैन भन्ने विषयमा एप्पलले हालसम्म कुनै स्पष्ट जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८२ १२:१८