close

इजरायली सेनाका कमान्डरलाई एन्ड्रोइड फोनमा प्रतिबन्ध, अब आईफोन मात्रै प्रयोग गर्नुपर्ने

टेकपाना टेकपाना

मंसिर १४, २०८२ ८:५१

इजरायली सेनाका कमान्डरलाई एन्ड्रोइड फोनमा प्रतिबन्ध, अब आईफोन मात्रै प्रयोग गर्नुपर्ने

काठमाडौँ । इजरायली सेनाले सुरक्षाको कारण देखाउँदै आफ्ना वरिष्ठ अधिकारीहरूलाई एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । यो निर्णयसँगै अब वरिष्ठ सैन्य कमान्डरहरूले आधिकारिक सञ्चारका लागि एप्पलको आईफोनमात्र प्रयोग गर्न पाउनेछन् ।

गुगलले एन्ड्रोइड फोनहरू आईफोनभन्दा बढी सुरक्षित रहेको दाबी गर्दै प्रचार अभियान चलाएको केही हप्तामै इजरायली सेनाको यो निर्णय सार्वजनिक भएको हो ।

‘द जेरुसेलम पोस्ट’ र इजरायली आर्मी रेडियोका अनुसार सेनाको नयाँ नियम लेफ्टिनेन्ट कर्नेल र सोभन्दा माथिल्लो दर्जाका कमान्डरहरूमा लागु हुनेछ । वरिष्ठ अधिकारीहरूको फोन ह्याक हुने र सूचना चुहिने जोखिम कम गर्ने उद्देश्यले यो कदम चालिएको समाचारमा उल्लेख छ ।

हमाससँगको जारी द्वन्द्व र क्षेत्रीय तनावका बीच सैनिकहरूका डिभाइस ह्याक गरी महत्त्वपूर्ण डेटा र टोलीको लोकेसन चोरी गर्ने 'हनी पट' (Honey Pot) आक्रमणका घटनाहरू बढेपछि सेनाले कडा नीति लिएको हो ।

रोचक कुरा त के छ भने गत महिना मात्र गुगलले आफ्नो पिक्सेल फोन अमेरिकी रक्षा मन्त्रालयको स्वीकृत सूचीमा परेको भन्दै यसको सुरक्षा प्रणालीको प्रशंसा गरेको थियो । तर, इजरायली सेनाले भने एन्ड्रोइडलाई अपरेसनल वा कमान्डको कामका लागि असुरक्षित ठहर्याएको छ ।

इजरायली सेनाको नयाँ निर्देशन अनुसार, एन्ड्रोइड फोनहरू व्यक्तिगत प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ भने कुनै पनि सैन्य वा कमान्डको कामका लागि आईफोन अनिवार्य गरिएको छ । गुगलले पछिल्लो समय एन्ड्रोइडको सुरक्षामा सुधार गरेको भए पनि एप्पलको क्लोज्ड इकोसिस्टम (Locked down ecosystem) लाई इजरायली सेनाले बढी सुरक्षित मानेको देखिन्छ ।

-फोर्ब्सको सहयोगमा ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ ८:५१