काठमाडौँ । एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड सङ्ख्या एक करोड नाघेको छ । यो कोसेढुङ्गा पार गरेको अवसरमा कम्पनीले ग्राहकहरूका लागि १० दिने विशेष ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ ।
१६ मंसिर (आज)देखि सुरु भएको यो योजना अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० जीबी डेटा नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहकहरू यो पुरस्कार जित्न योग्य हुनेछन् । विजेताले प्राप्त गर्ने डेटा १० दिनसम्म मान्य हुने बताइएको छ ।
एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले एक करोड डाउनलोडको उपलब्धिले एप ग्राहकको डिजिटल दैनिकीको अभिन्न हिस्सा बनेको पुष्टि गरेको बताए । यो उपलब्धिले सरकारको डिजिटल नेपाल अभियान र कागजरहित सेवा प्रवाहमा टेवा पुर्याएको भन्दै उनले एनसेलप्रति ग्राहकले देखाएको विश्वासका लागि आभारी प्रकट गरे ।
एनसेल एपमार्फत ग्राहकले सेन्टर वा पसलमा नगईकनै रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, गुनासो दर्ता तथा सेवा सक्रिय वा निष्क्रिय बनाउने जस्ता सुविधा लिन सक्छन् । साथै, विदेशमा रहेका नेपालीले रोमिङ सेवा व्यवस्थापन गर्न र रिचार्ज गर्न पनि एपको प्रयोग गर्दै आएका छन् । गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध यो एप प्रयोगकर्ताको सहजतालाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ २०:२१
