close

बजारमा आउँदै लिनक्समा आधारित ‘जोला’ फोन, ब्याट्री आफैँ फेर्न मिल्ने, हुनेछैन डेटा ट्रयाकको डर

टेकपाना टेकपाना

मंसिर २०, २०८२ १२:४५

बजारमा आउँदै लिनक्समा आधारित ‘जोला’ फोन, ब्याट्री आफैँ फेर्न मिल्ने, हुनेछैन डेटा ट्रयाकको डर

काठमाडौँ । अहिले बजारमा उपलब्ध अधिकांश स्मार्टफोन कम्पनीले जुन डिजाइनमा पठाउँछन्, प्रयोगकर्ताले त्यही स्वरूपमा प्रयोग गर्नुपर्ने बाध्यता छ । विशेषगरी फ्ल्यागशिप सिरिजका फोनमा पहिले जस्तो आफैँ ब्याट्री फेर्न मिल्ने, दुई ओटा सिम र मेमोरी कार्ड राख्न मिल्ने सुविधा कम हुँदै गएका छन् ।

यही अभावलाई पूरा गर्ने उद्देश्यले स्मार्टफोन निर्माता कम्पनी ‘जोला’ ले आफ्नो नयाँ उत्पादन ‘जोला फोन’ घोषणा गरेको छ । लिनक्स अपरेटिङ सिस्टममा आधारित यो फोनको प्रि-बुकिङ समेत सुरु भइसकेको छ ।

कम्पनीले यसलाई स्वतन्त्र युरोपेली ‘डु इट टुगेदर’ लिनक्स फोनको संज्ञा दिएको छ । ठुला प्रविधि कम्पनीको एकाधिकार र निगरानीभन्दा फरक, यो फोन युरोपेली गोपनीयता मापदण्ड र कम्युनिटी मोडेलमा आधारित रहेको कम्पनीको दाबी छ । यो फोन पूर्ण रूपमा प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार निर्माण गरिएको हो ।

मिडियाटेकको शक्तिशाली फाइभजी प्रोसेसर जडान गरिएको यो फोनमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । प्रयोगकर्ताले चाहेमा माइक्रो एसडी कार्डमार्फत स्टोरेज २ टेराबाइटसम्म बढाउन सक्नेछन् ।

फोनमा गोरिल्ला ग्लासको सुरक्षासहित ६.३६ इन्चको फुल एचडी एमोलेड डिस्प्ले छ । यसको सबैभन्दा बलियो पक्ष भनेको ५५०० एमएएचको ब्याट्री हो । पुराना मोबाइल फोनमा जस्तै यसमा पनि ब्याट्री बिग्रिएमा वा फेर्नुपरेमा प्रयोगकर्ता आफैँले ब्याट्री निकालेर नयाँ राख्न सक्छन् ।

फोटोग्राफीका लागि पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ भने सेल्फीका लागि अगाडि वाइड लेन्स क्यामेरा दिइएको छ । कनेक्टिभिटीका लागि डुअल नानो सिम, वाइफाइ-६, ब्लुटुथ ५.४ र एनएफसीको सुविधा उपलब्ध छ । पावर बटनमै फिङ्गरप्रिन्ट रिडर राखिएको यो फोनको पछाडिको कभर प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार फेर्न सक्छन् ।

जोला फोनमा एक विशेष ‘प्राइभेसी स्विच’ राखिएको छ । यो फिचरमार्फत प्रयोगकर्ताले चाहेको बेला माइक्रोफोन, क्यामेरा वा एन्ड्रोइड एपको ट्रयाकिङ भौतिक रूपमै बन्द गर्न सक्छन् । कम्पनीका अनुसार सामान्य एन्ड्रोइड फोनले प्रयोग नभएको बेला पनि गुगललाई डेटा पठाउने गर्छन् । तर जोलाको ‘सेलफिस ओएस’ (Sailfish OS) ले अनुमति बिना कुनै पनि डेटा पठाउँदैन ।

यो फोनमा सेलफिस ओएस भए पनि एन्ड्रोइड एप सहजै चलाउन सकिन्छ । कम्पनीले पाँच वर्षसम्म सफ्टवेयर सपोर्ट दिने तथा कुनै पनि लुकेका एनालिटिक्स र ट्रयाकिङ नराख्ने प्रतिबद्धता जनाएको छ ।

यो फोन ‘स्नो ह्वाइट’, ‘कामोस ब्ल्याक’ र ‘ओरेन्ज’ गरी तीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । फोनको कुल मूल्य ४९९ युरो तोकिएको छ । हाल ९९ युरो तिरेर यसको प्रि-अर्डर गर्न सकिन्छ । प्रि-अर्डर गर्दा तिरेको रकम पछि कुल मूल्यमा घटाइनेछ ।

कम्पनीले ४ जनवरी २०२६ सम्ममा कम्तीमा दुई हजार युनिट प्रि-अर्डर आएमा मात्र उत्पादन सुरु गर्ने सर्त राखेको छ । सुरुवाती चरणमा युरोप, बेलायत, स्विजरल्याण्ड र नर्वेमा उपलब्ध हुने भए पनि यसमा ग्लोबल रोमिङ सपोर्ट हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८२ १२:५२