जेडटीई नुबिया ए ३६ र ए ५६ को मूल्य एक/एक हजार रुपैयाँले बढ्यो, ०% ब्याजदरको किस्ताबन्दी सुविधा
मंसिर २३, २०८२ २३:०
काठमाडौँ । नेपाली बजारमा उपलब्ध जेडटीई नुबिया ब्रान्डका दुई स्मार्टफोनको मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोबाइलले ‘नुबिया ए ३६’ र ‘नुबिया ए ५६’ को बजार मूल्यमा एक/एक हजार रुपैयाँ वृद्धि गरेको हो ।
गत भदौमा सार्वजनिक हुँदा १० हजार ९९९ रुपैयाँ तोकिएको ‘नुबिया ए ३६’ को नयाँ मूल्य अब ११ हजार ९९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सुरुवाती मूल्य ११ हजार ९९९ रुपैयाँ रहेको ‘नुबिया ए ५६’ को मूल्य बढेर १२ हजार ९९९ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय एआई कम्पनीहरूको बढ्दो मागका कारण मेमोरी तथा चिपको मूल्य महँगो हुँदा बजारमा पठाइएका मोबाइलको मूल्य समायोजन गर्नुपरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेप्टेम्बरयता नेपाल आयात गरिएका मोबाइलमा ३० देखि ३५ डलरसम्म अतिरिक्त शुल्क परेकाले बाध्य भएर मूल्य वृद्धि गरिएको हो ।
मूल्य बढे पनि कम्पनीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा भने निरन्तर राखेको छ । ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट बुझाएर यी फोन खरिद गर्न सक्नेछन् ।
नयाँ मूल्यअनुसार ‘नुबिया ए ३६’ का लागि ४ हजार ८०० रुपैयाँ र ‘नुबिया ए ५६’ का लागि पाँच हजार २०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनुपर्नेछ । बाँकी रकम ६ महिनासम्म क्रमशः १२ सय र १३ सय रुपैयाँको मासिक किस्तामा तिर्न सकिने व्यवस्था मिलाइएको छ ।
कम्पनीले नुबियाका अन्य मोडेलहरूको मूल्य भने यथावत् राखेको छ । हाल ‘भी ७० म्याक्स’ को १५ हजार ९९९, ‘भी ७० डिजाइन’ (८+१२८ जीबी) को १६ हजार ९९९, ‘भी ७० डिजाइन’ (८+२४८ जीबी) को १८ हजार र ‘नियो थ्री जीटी’ को ३६ हजार ९९९ रुपैयाँ पर्नेछ । यी मोडेलहरूमा पनि ४० प्रतिशत डाउन पेमेन्ट सुविधा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १३:३
