नेपाली स्याटलाइट ‘स्लिपर्स टु स्याट’ अन्तरिक्ष पुग्यो, नास्टमा सिग्नलको प्रतीक्षा
मंसिर २४, २०८२ १३:२१
काठमाडौँ । अन्तरिक्ष प्रतिष्ठान नेपालले तयार पारेको नेपाली स्याटलाइट ‘स्लिपर्स टु स्याट’ सफलतापूर्वक अन्तरिक्षमा पुगेको छ । यो स्याटलाइट बुधबार बिहान नेपाली समयअनुसार १० बजेर १ मिनेटमा चिनियाँ रकेट ‘काइनेटिका वन’ (Kinetica 1) मार्फत प्रक्षेपण गरिएको हो ।
स्याटलाइटका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीका अनुसार प्रक्षेपण भएसँगै स्याटलाइटले अन्तरिक्षमा परिक्रमा सुरु गरिसकेको छ । हाल प्राविधिक टोली नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ग्राउन्ड स्टेसनमा बसेर स्याटलाइटसँगको पहिलो सम्पर्कको प्रयास र सिग्नलको प्रतीक्षा गरिरहेको अधिकारीले जानकारी दिए ।
१ किलो २० ग्राम तौल रहेको यस स्याटलाइटमा दुई ओटा क्यामेरा जडान गरिएका छन् । यी क्यामेराले नेपालको वनस्पति र पानीको अवस्थाबारे विवरण संकलन गर्नेछन् । साथै, यसमा भूकम्पको पूर्वसूचनासम्बन्धी प्रविधिको अध्ययन गर्ने प्रणालीसमेत समावेश छ ।
यो स्याटलाइट कम्तीमा डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको छ ।
एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको सहयोगमा निर्माण भएको यो परियोजनामा चितवनका चेपाङ समुदायका बालबालिकालाई समेत सहभागी गराइएको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १६:४८
