close

अब नेपालमै पाइनेछन् क्यामेलका लिथियम आयोन ब्याट्री, ५ गुणा बढी टिकाउ हुने दाबी

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १७:१४

अब नेपालमै पाइनेछन् क्यामेलका लिथियम आयोन ब्याट्री, ५ गुणा बढी टिकाउ हुने दाबी

काठमाडौँ । नेपालमा अटोमोटिभ पार्ट्सको व्यवसाय गर्दै आएको सत्यदिप इन्टरनेसनलले लिथियम आयोन ब्याट्री तथा ‘एड्भान्स्ड इनर्जी स्टोरेज’ को क्षेत्रमा लगानी विस्तार गरेको छ । कम्पनीले एसियाकै ठुलो ब्याट्री उत्पादक मानिने ‘क्यामेल ग्रुप’ सँगको सहकार्यमा नेपालमा आधुनिक ब्याट्री भित्र्याउने घोषणा गरेको हो ।

नेपालमा विद्युतीय सवारी र ऊर्जा क्षेत्रमा भइरहेको तीव्र रूपान्तरणलाई मध्यनजर गर्दै कम्पनीले विश्वस्तरीय लिथियम प्रविधि उपलब्ध गराउने लक्ष्य लिएको छ । यो सहकार्यसँगै नेपाली बजारमा क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्रीहरू उपलब्ध हुनेछन् ।

‘क्यामेल’ ब्रान्डका ब्याट्रीहरू विशेषगरी दुईपांग्रे (स्कुटर/मोटरसाइकल), तीनपांग्रे (अटोरिक्सा) र ई–रिक्सा (सिटी सफारी/लोडर) का लागि उपलब्ध हुनेछन् । यी ब्याट्रीमा ‘एड्भान्स्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम’ (बीएमएस) जडान गरिएको छ । जसले गर्दा यी ब्याट्री बढी सुरक्षित, टिकाउ र नेपालको हावापानी सुहाउँदो हुने कम्पनीको दाबी छ ।

यसबाहेक कम्पनीले घरमा प्रयोग हुने युपीएस र इन्भर्टर सिस्टमका लागि पनि लिथियम आयोन ब्याट्री ल्याएको छ । परम्परागत लिड एसिड ब्याट्रीको तुलनामा यी ब्याट्री पाँच गुणा बढी टिकाउ हुने, छिटो चार्ज हुने र मर्मत गरिरहनु नपर्ने (मेन्टिनेन्स–फ्रि) विशेषतायुक्त छन् । कम्पनीले उद्योग, सोलार इनर्जी स्टोरेज, टेलिकम टावर र डाटा सेन्टरका लागि पनि आवश्यक पावर ब्याकअप सोलुसन विकास गरिरहेको जनाएको छ ।

सन् १९८० मा स्थापना भएको क्यामेल ग्रुप लिमिटेड चीनको हुवेई प्रान्तमा मुख्यालय रहेको कम्पनी हो । यसलाई एसियाकै अग्रणी अटोमोटिभ ब्याट्री निर्माताका रूपमा चिनिन्छ । ४० वर्षभन्दा बढी अनुभव बोकेको यो कम्पनी लिड–एसिड ब्याट्री, लिथियम–आयोन ब्याट्री र ब्याट्री रिसाइक्लिङको क्षेत्रमा विशेषज्ञ मानिन्छ ।

सत्यदिप इन्टरनेसनलले यो नयाँ व्यवसाय विस्तारसँगै नेपालको नवीकरणीय ऊर्जा प्रयोग र दिगो पावर भण्डारणको क्षेत्रमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १७:४८