शक्तिशाली ब्याट्रीसहितको फ्ल्यागशिप स्मार्टफोन साओमी १७ आउँदो जनवरीमा सार्वजनिक हुने !
मंसिर २५, २०८२ १३:६
काठमाडौँ । नयाँ स्मार्टफोन साओमी १७ आउँदो जनवरीमा नेपाल सहित विश्व बजारमा सार्वजनिक हुने सङ्केत मिलेको छ । गत सेप्टेम्बरमा चीनमा सार्वजनिक भएको यो फोनको अहिले विश्वव्यापी बजारमा डेब्युको चर्चा चलेको हो ।
साओमीले अन्तर्राष्ट्रिय बजारमा यो फ्ल्यागशिप फोनको रिलिजको बारेमा कुनै आधिकारिक जानकारी नदिए पनि एक टिप्स्टरले यसको अपेक्षित सार्वजनिक मितिको सङ्केत दिएका छन् ।टिप्स्टरका अनुसार साओमीले १७ जनवरी २०२६ मा विश्वव्यापी रूपमा डेब्यु गर्न सक्छ । यो फोन सोही समयको आसपास नेपालमा पनि आउने अपेक्षा गरिएको छ ।
साओमी १७ को सम्भावित अन्तर्राष्ट्रिय संस्करण गिकबेन्च वेबसाइटमा देखा पर्नुले समेत यसको विश्वव्यापी सार्वजनिक हुने मिति नजिकै गरेको सङ्केत दिन्छ । यो फोन मोडेल नम्बर 25113PN0EC सहित देखा परेको हो । बेन्चमार्किङ वेबसाइटका अनुसार, यो फोन एन्ड्रोइड १६ र १२ जीबी र्यामसहित सूचीकृत छ ।
यो डिभाइसमा स्न्यापड्रागन ८ इलाइट जेन ५ एसओसी चिपसेट हुने बताइएको छ । यसले बेन्चमार्क परीक्षणमा उच्च स्कोर प्राप्त गरेको छ, जसमा सिङ्गल-कोर स्कोर ३,१७६ अङ्क र मल्टी-कोर स्कोर १०,०१० अङ्क रहेको छ । यी स्कोरले यो विश्वव्यापी संस्करण हाई-इन्ड डिभाइस हुने कुराको पुष्टी गर्छ ।
साओमी १७ को विश्वव्यापी भेरियन्टमा चिनियाँ संस्करण सरह समान फिचरहरू कायम राख्ने अपेक्षा गरिएको छ । यो फोन प्रिमियम पर्फर्मेन्सका लागि निर्माण गरिएको बताइएको छ ।
यस्ता छन् सम्भावित फिचर ?
चिनियाँ भेरियन्ट समान फिचरको अपेक्षा गर्ने हो भने यसमा १२० हर्ज रिफ्रेश रेट भएको ६.३ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले रहेको छ ।
साओमी १७ सिरिजमा एलआईपीओ डिस्प्ले प्याकेजिङ प्रविधि अपनाएर बेजल्सलाई १.१८ एमएममा खुम्च्याइएको छ । यसले ३५०० निट्सको उच्चतम पीक ब्राइटनेस प्रदान गर्दछ । जसले घाममा पनि स्पष्ट दृश्य अनुभव सुनिश्चित गर्दछ ।
फोटो तथा भिडिओको लागि साओमी १७ मा लाइका समिलक्स इमेजिङ प्रणाली प्रयोग गरिएको छ । यसमा नेक्स्ट-जेनेरेसन लफिक हाई डाइनामिक प्रविधि फिचर गरिएको छ, जसले १६.५ईभी को अल्ट्रा-हाई सेन्सर डायनामिक रेन्ज हासिल गर्दछ ।
यसको मुख्य क्यामेराले ५० एमपी लाइट फ्युजन ९५० सेन्सर र ƒ/1.67 अपार्चर प्रयोग गर्दछ । यसमा १० सेन्टिमिटर क्लोज-फोकस क्षमतासहितकोलाइका ६० एमएम फ्लोटिङ लेन्स डिजाइन भएको टेलिफोटो लेन्स पनि समावेश छ ।
मोबाइलको पछाडि भागमा ५० मेगापिक्सेलका तीन वटा क्यामेरासहितको सेटअप र अगाडि भागमा ५० मेगापिक्सेलको क्यामेरा रहेको छ । साओमी १७ प्रोमा इन्भर्टेड फ्लोटिङ टेलिफोटो लेन्स छ र २० सेन्टिमिटर टेलिफोटो म्याक्रो शटहरूलाई सपोर्ट गर्दछ । साओमी १७ प्रो म्याक्समा भने शक्तिशाली ५ एक्स पेरिस्कोप टेलिफोटो लेन्स पनि रहेको छ ।
यो मोडेलको सबैभन्दा मुख्य विशेषता भनेकै यसको ब्याट्री हो, जसमा ७,००० एमएएचको सर्ज ब्याट्री प्रयोग गरिएको छ । यो क्षमता वर्तमान ६.३ इन्च फ्ल्यागशिप फोनहरूमध्ये सबैभन्दा बढी हो । यसले १०० वाटको वायर्ड फास्ट चार्जिङ र ५० वाटको वायरलेस चार्जिङलाई सपोर्ट गर्छ ।
यो सिरिजमा साओमी १७, साओमी १७ प्रो र साओमी प्रो म्याक्स गरी तीन वटा भेरियन्ट छन् । साओमी १७ लाई कम्प्याक्ट फ्ल्यागशिपको रूपमा डिजाइन गरिएको छ । जसको तौल १९१ ग्राम र मोटाई ८.०६ एमएम मात्र छ ।
साओमी १७ प्रो र साओमी १७ प्रो म्याक्सको डिजाइन ८ एमएम पातलो छ र यो कालो, सेतो, बैजनी र हरियो गरी चार रङमा उपलब्ध छ । प्रो सिरिजको मुख्य आकर्षण भनेको दोहोरो स्क्रिन डिजाइन हो । जसलाई डाइनामिक ब्याक डिस्प्ले भनिन्छ ।
यसले कस्टमइजेबल वाच फेस, एआई वालपेपर, भर्चुअल पाल्तु जनावर र उडानको स्थिति, डेलिभरी अपडेट, म्युजिक प्लेब्याक जस्ता सुविधाहरू प्रदान गरेर मोबाइल अन्तरक्रियामा फरकपन ल्याउँछ । प्रयोगकर्ताहरूले पछाडिको स्क्रिनको माध्यमबाट मुख्य क्यामेरा प्रयोग गरेर सेल्फी पनि खिच्न सक्छन् । मुख्य डिस्प्ले बन्द हुँदा, यो मोबाइल ह्यान्डहेल्ड-कन्सोल मोडमा रूपान्तरण हुन्छ ।
चिनियाँ बजारमा यो सिरिजको सुरुवाति १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको साओमी १७ को मूल्य ४४९९ युआन (करिब ९१ हजार ५०० रुपैयाँ) रहेको छ । त्यस्तै १६ जीबी र्याम तथा १ टीबी स्टोरेज क्षमताको उच्चतम भेरियन्ट साओमी १७ प्रो म्याक्सको मूल्य ६९९९ युआन (करिब १ लाख ४२ हजार ५०० रुपैयाँ) रहेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १३:६
