close

भिजिट भिसा प्रकरण: आरोपितको कल डिटेलमा भेटियो पूर्वगृहमन्त्री लेखकका स्वकीय सचिवको कनेक्सन !

टेकपाना टेकपाना

मंसिर २५, २०८२ १८:२८

भिजिट भिसा प्रकरण: आरोपितको कल डिटेलमा भेटियो पूर्वगृहमन्त्री लेखकका स्वकीय सचिवको कनेक्सन !

काठमाडौँ । भिजिट भिसामा ‘सेटिङ’ मिलाएर मानिस विदेश पठाउने गिरोहसँगको मिलेमतो र घुस लेनदेनको आशंकामा पूर्वगृहमन्त्री रमेश लेखकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान जारी राखेको छ । नेपाल टेलिकमबाट प्राप्त कल डिटेल रेकर्ड (सीडीआर) र बरामद डायरीका आधारमा उनीमाथि अनुसन्धान केन्द्रित भएको हो ।

आयोगले बिहीबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात जना र दुई ओटा कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सोही प्रकरणको अनुसन्धानका क्रममा भट्टराईबाट बरामद भएको डायरी र टेलिकमको सीडीआर विश्लेषण गर्दा तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग ‘अस्वाभाविक सम्पर्क’ देखिएको आयोगले जनाएको छ ।

यही सम्पर्कका आधारमा भट्टराईले तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक र शान्ति सुरक्षा महाशाखाका प्रमुखसम्म गैरकानुनी रूपमा रकम पुर्‍याएको हुन सक्ने आयोगको आशंका छ ।

“बद्‍नियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवको सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको छ,” अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १९:५४