close

बजारमा आउँदै साओमीको फ्ल्यागशिप ट्याब्लेट, केके छन् फिचर ?

टेकपाना टेकपाना

मंसिर २६, २०८२ १३:३०

बजारमा आउँदै साओमीको फ्ल्यागशिप ट्याब्लेट, केके छन् फिचर ?

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी साओमीको पछिल्लो फ्ल्यागशिप ट्याब्लेट विश्व बजारमा चाँडै सार्वजनिक हुने सम्भावना देखिएको छ । भर्खरैको सर्टिफिकेसन जाँचबाट ‘साओमी प्याड ८ प्रो’ चीन बाहिर सार्वजनिक हुन लागेको खुलासा भएको हो ।

साओमीको यो प्रिमियम ट्याब्लेट 25091RP04G मोडेल नम्बरका साथ एफसीसी डेटाबेसमा देखा परेको छ । यो मोडेल नम्बरको अन्त्यमा रहेको ‘G’ ले यो विश्वव्यापी संस्करण (ग्लोबल भर्सन) भएको सङ्केत गर्छ । चिनियाँ भेरियन्टको मोडेल नम्बर 25091RP04C रहेको थियो ।

यो सर्टिफिकेसनले विश्वव्यापी भेरियन्टका बारेमा त्यति विस्तृत विवरण भने दिँदैन । यद्यपि केही मुख्य विशेषताहरू भने सार्वजनिक भएका छन् । चीन बाहिर आउने साओमी प्याड ८ प्रोमा ९००० एमएएच क्षमताको ब्याट्री सेल हुनेछ । साथै यसले वाई-फाई सिक्स ई (WiFi 6E) र ब्लुटुथ ६.० लाई सपोर्ट गर्नेछ ।

यस्ता छन् मुख्य विशेषता

साओमीले यो ट्याब्लेट पहिलो पटक गत सेप्टेम्बरमा चीनमा सार्वजनिक गरेको थियो । जसमा ११.२ इन्चको लामो एलसीडी प्यानल रहेको छ । यसको डिस्प्लेमा ३.२ के (3.2K) रिजोलुसन, १४४ हर्ज रिफ्रेश रेट, ३:२ आस्पेक्ट रेसियो र ८०० निट्सको पिक ब्राइटनेस समावेश रहेको छ ।

साथै यसमा डल्बी भिजन र एचडीआर१० सपोर्ट पनि छ । ट्याब्लेट क्वालकमको स्न्यापड्रागन ८ एलिट एसओसीद्वारा सञ्चालित छ । जसले यसलाई गेमिङका लागि उत्कृष्ट डिभाइस बनाउँछ ।

क्यामेराको कुरा गर्नुपर्दा यसको पछाडि पट्टि ५० एमपीको क्यामेरा र अगाडि भागमा ३२ एमपीको सेल्फी शुटर छ । चिनियाँ भेरियन्टमा ९,२०० एमएएच क्षमताको ब्याट्री प्याक रहेको छ । यसले ६७ वाट वायर्ड फास्ट चार्जिङ र २२.५ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्ट गर्छ ।

विश्वव्यापी भेरियन्टले पनि यही फास्ट चार्जिङ स्पिड कायम राख्ने अपेक्षा गरिएको छ । यो ट्याब्लेट एन्ड्रोइड १६ ओएसमा आधारित साओमीको पछिल्लो हाइपरओएस ३ कस्टम स्किनमा चल्नेछ ।

मूल्यको कुरा गर्नुपर्दा चिनियाँ बजारमा यसको सुरुवाति मूल्य (८ जीबी/१२८ जीबी भेरियन्टबाट) मूल्य २१९९ युआन (करिब ४५ हजार रुपैयाँ) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १३:४८