एल्गोरिदमको पासोमा नेपाली समाज, एआईले भ्रामक सूचनालाई थप यसरी गर्दैछ मलजल
मंसिर २९, २०८२ १६:३
काठमाडौँ । जेन-जी विद्रोहसँग जोडेर संसद् भवनभित्र ३२ जनाको कङ्काल भेटिएको भन्ने भ्रामक पोस्ट वा भिडिओले पक्कै पनि तपाईँलाई आक्रोशित बनायो होला । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेको भन्दै हतकडी लगाएको तस्बिरमा देख्दा ‘अब चाहिँ केही हुने भयो’ वा ‘यो गलत भयो’ भन्ने पो लाग्यो कि ? बोनम्यारो क्यान्सर पीडित भनिएकी जस्मिनको हृदयविदारक तस्बिर होस् वा बालेनले काजक्रियामा कालो लुगा लगाएको, कपाल-दाह्री नखौरिएको भन्ने हल्ला, तपाईँ यस्ता दृश्यबाट प्रभावित हुनु त भएन ?
यदि हुनुभयो भने तपाईँ जानेर वा नजानेर एउटा गम्भीर डिजिटल प्रविधिको फन्दामा पर्नु भएको छ । सूचना प्रविधि, इन्टरनेट र स्मार्टफोन सर्वसुलभ भएसँगै अहिले सत्य र भ्रम छुट्याउनै मुस्किल हुँदै गइरहेको छ । एआई प्रविधिको दुरुपयोग गरी केही नेपाली फेसबुक पेजले तपाईँको मानवीय संवेदनालाई यसरी शिकारमा बदल्दै छन् ।
यसको ज्वलन्त उदाहरणका रूपमा २३ भदौको ‘जेनजी’ प्रदर्शनका क्रममा फैलिएको एउटा अफवाहलाई लिन सकिन्छ । त्यस दिन सरकार पक्षको दमन र प्रदर्शनकारीको आक्रोशबिच युट्युबर टङ्क दाहालले सामाजिक सञ्जालमा एउटा सनसनीपूर्ण दाबी गरे । उनले प्रहरीले ३२ जना प्रदर्शनकारीलाई संसद् भवनभित्र नियन्त्रणमा राखेको र ‘ती बच्चा गायब नहुन् भन्ने कामना’ भन्दै स्टाटस पोस्ट गरे । प्रदर्शनका क्रममा पहिलो दिन राज्यपक्षबाट दमन हुँदा १९ जना मारिएकै थिए । यही सन्दर्भमा दाहालले प्रत्यक्षदर्शी स्रोतको हबला दिँदै ‘आगोमा घ्यू थप्ने’गरी आफ्नो विचार राखे ।
दाहालको उक्त दाबी सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो । भोलिपल्टसम्म पुग्दा यो सूचनाले अर्कै रूप धारण गरिसकेको थियो । ‘संसद भवनभित्र ३२ जना नियन्त्रणमा राखिएको’ भन्ने अपुष्ट सूचना अपभ्रंश हुँदै ‘संसद् भवनभित्र ३२ जनाको कङ्काल भेटिएको’ भन्ने मिथ्या सूचनामा परिणत भयो ।
युट्युबर भाग्य न्यौपाने र सुजन ढकाल लगायतले यसलाई झनै भावनात्मक र सनसनीपूर्ण बनाएर प्रस्तुत गरे । प्रदर्शनका क्रममा संसद् भवनको पर्खाल भत्काउनेदेखि त्यहाँको संरचनामा आगजनी गर्ने काम प्रदर्शनकारीले गरेका थिए । तर ३२ जना जलेर मरेको वा कङ्काल भेटिएको भन्ने कुरा पूर्णतः आधारहीन थियो ।
समाजमा त्रास र आक्रोशको वातावरण सिर्जना भइसकेपछि नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै उक्त सूचना मिथ्या भएको प्रस्टिकरण दियो । टेकपाना फ्याक्टचेकले गरेको तथ्यजाँचबाट पनि संसद् भवनभित्र कुनै शव नभेटिएको पुष्टि भयो । तर, सत्य बाहिर आउन्जेल समाजको ठुलो हिस्साले भ्रमलाई नै सत्य मानेर आफ्नो धारणा बनाइसकेको थियो । एउटा सामान्य सूचना कसरी तोडमोड भएर समाजलाई उत्तेजित बनाउने अस्त्र बन्नसक्छ भन्ने यो एउटा नमुना मात्र हो ।
***
यस्तै प्रवृत्तिको अर्को शिकार राजनीतिक वृत्त बन्यो । जेन-जी विद्रोहमा भएको सरकारी दमन र त्यसपछिको तोडफोड, आगजनी, लुटपाट लगायतका घटनाको छानबिन गर्न ‘भदौ २३ र २४ घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ बनेको थियो । सो आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको समाचार सुरुवाती दिनदेखि नै मूलधारका सञ्चार माध्यममा आइरहेका छन् ।
ती सञ्चार माध्यमका अनुसार उनीहरूलाई बयानमा कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ । जेन-जी प्रदर्शन लगत्तै सरकारी दमनको जिम्मेवारी केपी शर्मा ओली र रमेश लेखकले लिनुपर्ने भन्दै उनीहरूलाई पक्राउ गर्नुपर्ने माग विभिन्न समूहले उठाइरहेका थिए । यही जनआक्रोशलाई ‘क्याश’ गर्न लालिगुराँस मिडिया, सुदन गुरुङ, ज्वाला संग्रौला लगायतले उनीहरू पक्राउ पर्न लागेको भन्दै सनसनीपूर्ण पोस्ट राखे । हेर्दाहेर्दै यो हल्ला ‘पक्राउ परिसकेको’ भन्ने निष्कर्षमा पुग्यो । ‘मिस पबी ४१’, ‘केटीएम पोस्ट’, ‘कम्रेड जानु’ जस्ता छद्मभेषी नाम भएका फेसबुक पेजले त एआई प्रयोग गरी ओली र लेखक पक्राउ परेर हतकडीसहित प्रहरी नियन्त्रणमा रहेको नक्कली तस्बिर नै सार्वजनिक गरे ।
एआईले तयार पारेका फोटोमा नेपाली शब्द प्रायः बिग्रिरहेको हुन्छ । त्यसलाई पहिचान गर्न नसकिने बनाउन यी पेजले ती फोटोमा बिग्रिएका नेपाली टेक्स्टलाई आफ्नो तरिकाले एडिट गरेर वास्तविक जस्तै देखाउने प्रयास गरे ।
एउटा राजनीतिक सम्भावना वा छलफलको विषयलाई सामाजिक सञ्जालले ‘निर्णय भइसकेको घटना’ का रूपमा स्थापित गरिदियो । अझ रोचक कुरा त के भने केही पेजले ‘पक्राउ परिसकेका ओली र लेखकलाई कस्तो कारबाही गर्नुपर्ला’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रतिक्रिया समेत बटुलिरहेका थिए ।
यी घटनालाई नजिकबाट नियालिरहेका मिडिया अनुसन्धाता एवं तथ्यजाँचकर्ता दीपक अधिकारी यसलाई भ्रामक सूचना कसरी मिथ्या सूचनामा परिणत हुँदै जान्छ भन्ने विषयको उदाहरण भएको बताउँछन् । यसमा केही भूमिका ‘कन्फर्मेसन बायस’ले खेलिरहेको उनको भनाइ छ । मानिस आफूले जे चाहन्छन्, सामाजिक सञ्जालमा त्यही देख्दा सत्यता जाँच नगरी विश्वास गर्छन् । यसैलाई कन्फर्मेसन बायस भनिन्छ ।
अधिकारीका अनुसार समाचारको एउटा चक्र हुन्छ, जसमा कुनै विषयमा छलफल हुनु पनि समाचार हो । जस्तै ओली वा अन्य नेतालाई बयानमा बोलाउनेबारे छलफल हुनु समाचार हो । तर छलफल हुनु नै निर्णय हुनु वा पक्राउ पर्नु होइन । तर, भ्युज र रिचको पछि लाग्ने पेजले ‘छलफल भइरहेको’ विषयलाई ‘काम भइसकेको’ भन्दै प्रस्तुत गर्छन् ।
पत्रकार अधिकारी भन्छन्, “जसलाई केपी ओली र रमेश लेखक पक्राउ परुन् भन्ने चाहना छ, उसले पक्राउ परेको फेक न्युज देख्दा पनि त्यसलाई सत्य मान्न पुग्छ र शेयर गर्छ । यो भनेको आफ्नो पूर्वाग्रहलाई पुष्टि गर्ने सामग्री खोज्नु हो । डोनल्ड ट्रम्प पक्राउ परेको भन्दै एआईबाट बनाइएका तस्बिर भाइरल हुँदा मानिसले जसरी विश्वास गरेका थिए, नेपालमा पनि ठ्याक्कै त्यही भइरहेको छ ।”
उनी अगाडि थप्छन्, "मिथ्या सूचना र भ्रामक सूचना बीचको सम्बन्ध एकदमै मसिनो हुन्छ । मानिसले अन्जानमा सेयर गरेको मिथ्या सूचना नै पछि गएर नियतवश फैलाइने भ्रामक सूचनामा परिणत हुन सक्छ । जस्तै, कसैले अन्जानमा घरेलु उपचारको टिप्स शेयर गर्छ भने त्यो 'मिस-इन्फर्मेसन' हो, तर त्यही कुरालाई कुनै नक्कली डाक्टरले टिकटकमा बढाइचढाइ गरेर फाइदाका लागि राख्छ भने त्यो 'डिस-इन्फर्मेसन' हुन्छ ।"
अधिकारीका अनुसार यस्ता एआई सिर्जित तस्बिरले मानिसलाई झुक्याउने मात्र नभई, समाजमा अस्थिरता ल्याउने जोखिम पनि बढाएको छ । राजनीतिमा मात्र होइन मानवीय संवेदना र दुःखद घडीमा समेत भ्रामक सूचना फैलाएर ‘रिच’ बढाउने खेल उत्तिकै मौलाएको छ । बोनम्यारो क्यान्सरबाट ग्रसित चार वर्षीया बालिका जस्मिन बस्नेतको घटना यसको ज्वलन्त उदाहरण हो । एकल आमाले हुर्काइरहेकी जस्मिनको उपचारका लागि युट्युबर भोजराज थापाले सहयोग अभियान चलाएका थिए । सहयोग रकम सङ्कलन भई उपचार भइरहेको वास्तविक जानकारी थापाले दिइरहेकै थिए । तर, सामाजिक सञ्जालमा ‘रिच’ बढाउने समूहले एआईको प्रयोग गरी भोजराज थापा र जस्मिनकी आमा रोइरहेको, बालिकाको अवस्था अत्यन्त नाजुक भएको जस्ता एआई तस्बिर र भिडिओ बनाएर भाइरल गराए । ती फोटो हेरेर हजारौँ मानिस दुःखी भए, रियाक्सन दिए । एकातर्फ उपचार भइरहेको वास्तविकता थियो भने अर्कोतर्फ एआईले सिर्जना गरेको कृत्रिम कारुणिक दृश्यले मानिसको भावनासँग खेलबाड गरिरहेको थियो ।
जस्मिन बस्नेतको जस्तै असंवेदनशीलता हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस)को घटनामा पनि देखियो । सहयोग सङ्कलन गरेरै चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने अभियानमा लागेका कट्टेलले विगत पाँच वर्षदेखि विभिन्न किसिमका झमेलाको सामना गर्नुपर्यो । यसै बिच केही दिन अघि उनी सपरिवार अमेरिका पुगेको खबर बाहिरियो । सामाजिक सञ्जालमा आफ्नो विषयमा विभिन्न किसिमका अफवाह फैलिएको भन्दै उनले लामो बकपत्र प्रस्तुत गरे । त्यही बकपत्रमा उनले आफ्नी छोरीको खुट्टामा समस्या भएको र नेपाल तथा भारतमा उपचार नहुने भएपछि अमेरिका पुगेको बताए । त्यस लगत्तै सामाजिक सञ्जालमा उनकी छोरीको खुट्टाको उपचार भइरहेको देखिने एआई फोटो फैलिए ।
उक्त एआई फोटोमा धुर्मुस र उनकी श्रीमती कुञ्जना घिमिरे रोइरहेका देखिन्छन् । यसरी हृदयविदारक अवस्था देखाउन एआई फोटोको सहायता लिएर केही फेसबुक पेज सञ्चालकले भ्रम फैलाइरहेका हुन्छन् ।
***
यस्तै असंवेदनशीलता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को पितृशोकका बेला पनि देखियो । बालेनका बुबा डा. रामनारायण शाहको निधनपछि बालेनको पहिरन र कपाल-दाह्रीबारे सामाजिक सञ्जालमा अनावश्यक चासो र तर्कवितर्क चल्यो ।
बालेनले हिन्दु संस्कार अनुसार कपाल नखौरिएको, दाह्री नकाटेको र कालो लुगा लगाएको भन्दै आलोचना र जिज्ञासा उठे । यही मौका छोपेर केही फेसबुक पेजले बालेनले काजकिरियामा बस्दा लामो दाह्री, कपाल र कालो लुगा लगाएको एआई सिर्जित तस्बिर भाइरल बनाइदिए । उनकी श्रीमती सविना काफ्लेले बुबा बितेको १२ औं दिनमा सार्वजनिक गरेको फोटोपछि मात्र वास्तविकता बाहिर आयो । तर त्यसअघि नै एआईले बनाएका नक्कली तस्बिरले जनमानसमा भ्रम छरिसकेका थिए । शोकको घडीमा रहेको व्यक्तिको निजी जीवन र पीडालाई समेत सामाजिक सञ्जालले ‘कन्टेन्ट’ र ‘गसिप’ को विषय बनाए ।
***
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का फ्याक्टचेक सम्पादक प्रत्यूष रञ्जन पनि यसलाई ‘कन्फर्मेसन बायस’ कै उपज मान्छन् । उनी भन्छन्, “केही मानिस आफ्नै कल्पित कथा सामाजिक सञ्जालमा राखेको र ती तीव्र गतिमा फैलिएको घटना हामीले देखेकै छौँ । किनभने मानिसहरू जे सत्य होस् भन्ने चाहन्छन्, त्यही कुरा देख्दा विश्वास गरिहाल्छन् । नेपालमा भएको जेनजी प्रदर्शनका पुराना भिडिओलाई बिहारको भन्दै वा अन्य सन्दर्भमा जोडेर भाइरल बनाउने प्रवृत्ति पनि यही हो ।”
उनी अगाडि भन्छन्, “फरक सन्दर्भबाट काटिएका क्लिपले आक्रोश र भ्रम मात्र बढाउँछन् । यसलाई रोक्न संस्थागत तहबाट समयमै सही सूचना प्रवाह र नागरिकमा डिजिटल साक्षरताको विकास हुनु अपरिहार्य छ ।”
यी परिदृश्यलाई विश्लेषण गर्दै काठमाडौँ विश्वविद्यालयका सहप्रध्यापक एवं मिडिया अध्येता सुधांशु दाहाल अहिलेको परिस्थिति निकै जटिल बन्दै गएको बताउँछन् । उनका अनुसार अहिले प्रविधि र एआई टुल ‘चकचके’ र ‘लाउके’ (सतही ज्ञान भएका) हरूको हातमा पुगेको छ । पहिले मिडिया सञ्चालनका लागि निश्चित आचारसंहिता र व्यावसायिकता हुन्थ्यो । तर मिडियाको ठाउँ यस्तै सामाजिक सञ्जालका पेजले लिँदै गइरहेको अवस्था छ । अहिले जो कोहीले पनि एआईको प्रयोग गरेर वास्तविक समाचार वाचककै शैलीमा भिडिओ वा फोटो बनाउन सक्ने उनी सुनाँछन् ।
“मानिसले यसको गम्भीरता र परिणामबारे नसोची मनोरञ्जनका लागि यस्ता सामग्री बनाउँछन् । तर, आम प्रयोगकर्ता (जसले यसको प्राविधिक पक्ष बुझेका हुँदैनन्) ले यसलाई परम सत्य मान्छन्,” दाहाल भन्छन्, “सामाजिक सञ्जालको एल्गोरिदमले पनि यसमा ‘आगोमा घिउ थप्ने’ काम गर्छ ।”
उनी अगाडि थप्छन्, “एल्गोरिदम ‘०’ र ‘१’ को खेल हो । यदि तपाईँले कुनै एक प्रकारको (जस्तैः कसैलाई गाली गरेको वा कुनै कन्सपिरेसी थ्यौरी) सामग्री हेर्नुभयो भने, एल्गोरिदमले तपाईँलाई त्यस्तै सामग्री मात्र देखाइ रहन्छ । यसले तपाईँलाई एउटा ‘फिल्टर बबल’ भित्र थुन्छ, जहाँ तपाईँले जे देख्नुहुन्छ, संसार त्यस्तै हो भन्ने भ्रममा पार्छ ।”
दाहालका अनुसार यो समस्या अशिक्षित वर्गमा मात्र नभई बौद्धिक भनिने वर्गमा पनि उत्तिकै छ । उनले एउटा उदाहरण दिँदै भने, “केही समयअघि एउटा पेजले ‘हिमालमा शिवजीको आकृति देखिएको’ भन्ने एउटा भ्रामक पोस्ट राखेको थियो । त्यो पूर्णतः अवैज्ञानिक र भ्रामक कुरा थियो । तर, विश्वविद्यालयकै एक वरिष्ठ प्राध्यापकले समेत त्यसमा ‘जय शम्भु’ लेखेर शेयर गरेको देखियो । जब समाजको बौद्धिक तप्कामै ‘क्रिटिकल थिङ्किङ’ (आलोचनात्मक चेत) को अभाव छ भने सामान्य नागरिकको अवस्था के होला ?” उनले मानिसको व्यक्तित्व, मानसिकता र कामबिचको अन्तर्विरोधले पनि यस्तो अवस्था सिर्जना भइरहेको औँल्याए ।
यस्ता भ्रामक सूचनाको असर व्यक्तिको मानसिक स्वास्थ्यदेखि समाजको शान्ति सुरक्षासम्म परिरहेको छ । अझ गम्भीर कुरा त समाजमा भिडतन्त्रको मानसिकता विकास भइरहेको छ । दाहालले चितवनको एक विद्यालयको उदाहरण दिँदै भने, “विद्यार्थीमा समेत सामाजिक सञ्जालको यस्तो प्रभाव परेको छ कि उनीहरू विद्यालयमा केही चित्त नबुझ्दा ‘जलाइदिन्छु’ भन्ने धम्की दिन थालेका छन् । भीडले जे गर्दा पनि हुन्छ भन्ने भाष्य निर्माण हुनु लोकतन्त्र र विधिको शासनका लागि ठूलो चुनौती हो ।”
माथि उल्लेख गरिएका घटना शेयर गर्ने पेजहरू कस्ता हुन् र किन फैलिरहेका छन् यस्ता पोस्ट ?
हामीले विश्लेषण गर्ने क्रममा माथि उल्लिखित पोस्ट प्रायः एउटै किसिमका पेजबाट आइरहेका देखिन्छन् । ‘मिस पबी ४१’, ‘कम्रेड जामु’, ‘नबराज बिक’, ‘Givina Magar- गिभिना मगर’, ‘युविन मगर’, ‘मिराज ढुङ्गाना नामक ग्रुप’, ‘केटीएम पोस्ट’, ‘दिब्या मल्ल बम’, ‘भोजराज थापा’ नामक फेसबुक ग्रुप’ लगायतले प्रायः एउटै किसिमको फोटो राखेको देखिन्छ ।
सामाजिक सञ्जालमा आउने अपुष्ट सूचनालाई नै उनीहरू मिथ्या बनाउन लागि परेका देखिन्छन् । विशेषगरी मानवीय संवेदना र राजनीतिक विषयलाई जोडेर यी पेज तथा ग्रुपले भ्रम फैलाउने गरेको देखिन्छ । माथि उल्लेख भएका मिस पबी ४१, गिभिना मगर, मिराज ढुङ्गाना, भोजराज थापा नाम भएका फेसबुक पेज तथा ग्रुपले चर्चामा आएका व्यक्तिको नाम र फोटो दुरुपयोग गरेको देखिन्छ । फ्यान क्लबको नाममा यस्ता पेजले भ्रामक तथा मिथ्या सूचना फैलाइरहेका छन् । यी पेजको लोकेसन हेर्दा अधिकांश नेपाल बाहिरबाट सञ्चालन भइरहेको पाइएको छ ।
पोस्टमा इङ्गजेमेन्ट बढाउन भावनात्मक टेक्स्ट राखिएको देख्न सकिन्छ । उदाहरणका लागि बालेनको सन्दर्भमा ‘बुबा बितेको १२ दिनसम्म पनि रोकिएन बालेनको आँशु, साथ दिन १ लाइक गर्नुहोला’, ‘हाम्री छोरीको उपचार हुँदैछ, छोरीको लागि सबैले Get well soon लेखिदिनुहोला, मुटु हुनेले लाइक कमेन्ट गर्छ’, ‘प्यारी छोरी जस्मिनको अन्तिम चेकअप हुँदैम छिट्टै निको हुनेछ तिमीलाई, पीर नगर है’, ‘धुर्मुस सुन्तलीकी छोरीको उपचार सुरु भयो, सबैले Get well soon लेखिदिनुहोला’, ‘छोरी जस्मिन अवस्थामा झनै जटिल बन्यो, मानवता भएकाले Get well soon लेखेर स्वास्थ्य लाभको कामना गर्नुहोला’, ‘अन्ततः ओली लेखक कानुनी फन्दामा, ठुला माछालाई समात्नु सहि कि गलत सबैले कमेन्ट गर्नुहोला’ जस्ता वाक्य राखिएका छन् ।
यस्ता शब्द राख्नुका पछाडि सामाजिक सञ्जाल प्रयोगकर्ताको भावनासँग खेलेर पोस्टमा इङ्गेजमेन्ट बढाउने अनि एल्गोरिदमलाई झुक्याएर पोस्ट बुस्ट गराउने रणनीति रहेको एआई विज्ञ एवं मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्रध्यापक सुरेश मानन्धर बताउँछन् । “सामाजिक सञ्जालको एल्गोरिदमले हेर्ने मुख्य कुरा ‘इङ्गेजमेन्ट’ नै हो,” प्रध्यापक मानन्धर भन्छन्, “यसले ‘रिकमेन्डेसन सिस्टम’का आधारमा काम गर्छ । जस्तो कि तपाईँ र मैले (सामाजिक सञ्जालमा कनेक्ट भएका दुई वा त्यसभन्दा बढी व्यक्ति) हेर्ने पोस्ट उस्तै प्रकृतिका छन् भने, मैले हेरेको तर तपाईँले नहेरेको पोस्ट एल्गोरिदमले तपाईँलाई देखाइदिन्छ । यसलाई व्यापक रूपमा लैजाँदा कुनै पोस्ट भाइरल भयो भने धेरैले हेर्छन् र नहेरेकालाई पनि त्यही सिफारिस हुन्छ ।" सामाजिक सञ्जालको एल्गोरिदमले कुन पोस्ट भ्रामक वा मिथ्या हो भन्नेभन्दा पनि इङ्गेजमेन्ट कति भयो भन्ने विषयलाई आधार बनाउँदा यस्ता पेजले राखेको पोस्ट भाइरल हुने उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: पुस ५, २०८२ ९:१
