‘बैकुण्ठ यात्रा-२’ डिशहोम गो एपबाट प्रसारण हुने, १८ एपिसोडको प्याकेज ४९ रुपैयाँमै
पुस १, २०८२ १७:२७
काठमाडौँ । वरिष्ठ अभिनेता सरोज खनाल अभिनित नेपाली वेब सिरिज ‘बैकुण्ठ यात्रा–२’ डिशहोम गो एपमार्फत प्रसारण हुने भएको छ । डिशहोमले लोकप्रिय सिरिजको दोस्रो सिजन छिट्टै डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ ल्याउने जानकारी दिएको हो ।
कुल १८ एपिसोड रहेको यस सिरिजले मानिसको भावनात्मक यात्रा, सामाजिक संघर्ष र जीवनदर्शनलाई गहिरो रूपमा प्रस्तुत गर्ने बताइएको छ । सिरिजमा प्रेम, मनोभावनात्मक उतारचढाव र आत्मिक यात्राको निरन्तरता देखाइनेछ ।
सिरिजमा खनालसहित प्रियारानी लामा, अञ्जु निरौला, नीलम चन्द, प्रवण भुसाल, श्रीदेव बी.एल, रोजी लामिछाने लगायतको अभिनय रहेको छ ।
दर्शकलाई सहुलियत दरमा उच्च गुणस्तरको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले निकै कम शुल्क निर्धारण गरिएको डिशहोमले जनाएको छ । नेपालभित्रका दर्शकहरूले सम्पूर्ण एपिसोड (१८ भाग) जम्मा ४९ रुपैयाँमा हेर्न सक्नेछन् । त्यस्तै, नेपालबाहिर रहेका दर्शकहरूका लागि १ अमेरिकी डलर तोकिएको छ ।
नेपाली कन्टेन्टलाई विश्वव्यापी बनाउने र स्थानीय कलाकार तथा सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने लक्ष्यसहित यो सिरिज ल्याइएको डिशहोम गोले जनाएको छ । एन्ड्रोइड र आईओएस दुवैमा डिशहोम गो एप उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: पुस १, २०८२ १७:२७
