एनपीएलमा हानिएका ६०७ चौकाबापत विद्यार्थीलाई दुई हजार ४२८ थान शैक्षिक सामग्री गर्दै एनसेल
पुस १, २०८२ २०:१६
काठमाडौँ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा भएको प्रतिबद्धता अनुरूप देशभरका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई दुई हजार ४२८ थान शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
प्रतियोगितामा प्रहार हुने ‘प्रत्येक चौका बापत चार ओटा शैक्षिक सामग्री’ उपलब्ध गराउने पूर्वघोषित नीति अनुसार एनसेलले यो सहयोग गर्न लागेको हो । एनपीएलको दोस्रो संस्करणमा ९९ जना खेलाडीले कुल ६०७ चौका प्रहार गरेका थिए । सोही तथ्याङ्कका आधारमा दुई हजार ४२८ वटा शैक्षिक सामग्री वितरण गर्न लागिएको हो ।
प्रतियोगितामा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सर्वाधिक ३१ चौका प्रहार गर्दै एक्लैले १२४ ओटा शैक्षिक सामग्री सुनिश्चित गराए । यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्टले २६ चौकासहित १०४ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ चौका प्रहार गर्दै ९२ ओटा शैक्षिक सामग्री वितरणमा योगदान पुर्याएका छन् ।
वितरण गरिने शैक्षिक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्री समावेश हुनेछन् ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले खेलको उत्साहलाई शैक्षिक सहयोगसँग जोड्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, “खेलाडीहरूको प्रदर्शनले मैदानमा आफ्नो टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको छ ।”
यस वर्ष एनपीएलको ‘पावर्ड बाई’ साझेदार रहेको एनसेलले प्रतियोगिता अवधिभर सर्वाधिक चौका प्रहार गर्ने एडम रोसिङ्टनलाई दुई लाख रुपैयाँ र हरेक खेलमा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरेको थियो ।
पछिल्लो अध्यावधिक: पुस १, २०८२ २०:१६
