close

चलचित्र निर्माण र अध्ययनमा रुचि छ ? केयूले ल्यायो ‘मास्टर्स इन फिल्म स्टडिज’ कोर्स

टेकपाना टेकपाना

पुस ५, २०८२ १४:१४

चलचित्र निर्माण र अध्ययनमा रुचि छ ? केयूले ल्यायो ‘मास्टर्स इन फिल्म स्टडिज’ कोर्स

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले चलचित्र निर्माण र अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि स्नातकोत्तर तहमा ‘मास्टर्स इन फिल्म स्टडिज’ (एमएफएस) कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत दुई वर्षे यो नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यसअघि सम्बन्धनप्राप्त विभिन्न कलेजहरूमा मात्र चलचित्र सम्बन्धी विषयको अध्यापन हुँदै आएकोमा विश्वविद्यालयले पहिलो पटक आफ्नै विभागमार्फत यो कोर्स सुरु गरेको हो । पहिलो ब्याचका लागि विश्वविद्यालयले १० जना विद्यार्थीको कोटा निर्धारण गरेको छ ।

कुल ६६ क्रेडिट आवरको यो कोर्स पूरा गरेपछि विद्यार्थीहरू चलचित्र निर्देशन, निर्माण, पटकथा लेखन, चलचित्र समीक्षा, पत्रकारिता, अनुसन्धान, फिल्म फेस्टिभल व्यवस्थापन जस्ता क्षेत्रमा व्यावसायिक रूपमा काम गर्न सक्षम हुने विश्वविद्यालयले जनाएको छ ।

यो कार्यक्रम अध्ययन गर्न इच्छुक विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नातकमा न्यूनतम २.० सीजीपीए वा ४५ प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरू आवेदनका लागि योग्य मानिनेछन् ।

विश्वविद्यालयका अनुसार आवेदकहरूले लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरेपछि मात्र भर्नाको अवसर पाउनेछन् । इच्छुक विद्यार्थीले अनलाइनबाट आवेदन फारम डाउनलोड गरी ललितपुरको हात्तिबनस्थित विश्वविद्यालयको कार्यालयमा बुझाउनु पर्ने जानकारी दिइएको छ ।

विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको र यसले नेपाली चलचित्र क्षेत्रको प्राज्ञिक विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।

इच्छुक विद्यार्थीले यो कोर्सबारे थप बुझ्न तथा भर्ना आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: पुस ५, २०८२ १४:३२