close

कोल्डप्ले कन्सर्टको भाइरल भिडिओपछि ‍जागिर गुमाएकी क्रिस्टिन क्याबोटलाई ज्यान मा*र्ने धम्की

टेकपाना टेकपाना

पुस ५, २०८२ १७:४२

कोल्डप्ले कन्सर्टको भाइरल भिडिओपछि ‍जागिर गुमाएकी क्रिस्टिन क्याबोटलाई ज्यान मा*र्ने धम्की

काठमाडौँ । चर्चित साङ्गीतिक ब्यान्ड ‘कोल्डप्ले’को कन्सर्टका क्रममा ‘किस क्याम’मा कैद भएर भाइरल बनेकी क्रिस्टिन क्याबोटले अन्ततः आफ्नो मौनता तोडेकी छन् । ५३ वर्षीया क्याबोटले ‘न्युयोर्क टाइम्स’लाई दिएको एक अन्तर्वार्तामा उक्त भिडिओ र त्यसपछि उत्पन्न विवादले आफ्नो जीवनमा पारेको गहिरो प्रभावबारे खुलासा गरेकी हुन् ।

गत १६ जुलाईमा बोस्टनमा भएको कन्सर्टमा खिचिएको उक्त भिडिओ टिकटकमा भाइरल भएपछि क्याबोटले आफू कार्यरत टेक कम्पनी ‘एस्ट्रोनोमर’को मानव संसाधन (एचआर) प्रमुखको पदबाट राजीनामा दिनुपरेको थियो । सोही भिडिओमा उनीसँगै देखिएका कम्पनीका सीईओ एन्डी बायरनले पनि पद त्याग्न बाध्य भएका थिए ।

आफ्नो पक्ष स्पष्ट पार्दै क्याबोटले न्युयोर्क टाइम्सलाई भनिन्, “मले एउटा गलत निर्णय लिएकी थिएँ । त्यसबेला केही पेय पदार्थ पिएकी थिएँ र आफ्नो हाकिमसँग अनुपयुक्त व्यवहार गरेँ । यो सानो कुरा थिएन । मैले यसको जिम्मेवारी लिएँ र आफ्नो करियर नै गुमाएँ । त्यो मैले रोजेको मूल्य थियो ।”

उनले उक्त समयमा आफू श्रीमानबाट अलग भइसकेको पनि स्पष्ट पारिन् । “म आफ्ना छोराछोरीलाई के बुझाउन चाहन्छु भने मानिसबाट गल्ती हुन सक्छ तर त्यसबापत ज्यान मार्ने धम्की पाउनु उचित होइन,” उनले भनिन् ।

भिडिओ भाइरल भएपछि क्याबोटले ५० देखि ६० ओटासम्म ज्यान मार्ने धम्की आएको र त्यसले उनका छोराछोरीलाई निकै त्रसित बनाएको बताइन् । कन्सर्टको जम्पोट्रोनमा आफ्नो अनुहार देखिएपछि क्याबोटले लाजले अनुहार छोपेकी थिइन् भने बायरन फ्रेमबाट हटेका थिए । उक्त दृश्य देखेर कोल्डप्लेका गायक क्रिस मार्टिनले ठट्टा गर्दै भनेका थिए, “कि उनीहरूको प्रेम सम्बन्ध छ, कि उनीहरू निकै लजालु छन् ।”

क्याबोटले विशेषगरी अन्य महिलाबाटै आफूलाई बढी निशाना बनाइएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्, “पछिल्ला महिनाहरूमा मैले जे देखेँ त्यसले महिला नै एकअर्कालाई तल गिराउन लागिपरेका छन् भन्ने महसुस गरायो ।”

उनका अनुसार घटनापछि बायरनसँग केही समय सम्पर्क भए पनि सेप्टेम्बरदेखि दुवैबिच कुनै संवाद भएको छैन । बायरनले भने यसबारे टाइम्सलाई प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

घटनाको छ महिना बितिसक्दा पनि क्याबोट अझै आफ्नो जीवनलाई लयमा फर्काउने प्रयासमा छिन् र हाल नयाँ जागिरको खोजीमा रहेकी छन् ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८२ १७:५७