कोशी प्रदेशका साना उद्यमीलाई कर्जा दिन ग्लोबल आइएमई बैंक र डीएआई-उदय परियोजनाबिच सम्झौता
पुस १०, २०८२ १०:५२
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई-उदय परियोजनाबिच कोशी प्रदेशका साना तथा लघु उद्यमीहरूलाई वित्तीय पहुँच पुर्याउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेशमा सञ्चालित साना व्यवसायहरूलाई सहज रूपमा कर्जा प्रवाह गरी रोजगारी सिर्जना र व्यवसाय विस्तारमा सहयोग पुर्याउन यो सहकार्य गरिएको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र डीएआई-उदय परियोजनाका 'चिफ अफ पार्टी' अरुण रानाले उक्त सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार डीएआई-उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशस्थित सबै शाखा कार्यालयहरूबाट सहज रूपमा कर्जा सुविधा प्राप्त गर्नेछन् ।
नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहल स्वरूप सञ्चालित डीएआई-उदय परियोजनाले कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा प्रदेशका सबै जिल्लाहरूमा कार्य गर्दै आएको छ । यस परियोजनाले विशेषगरी नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन र उत्पादनमूलक उद्योगहरूको व्यावसायिक उन्नति र वित्तीय स्रोतमा सहज पहुँचका लागि काम गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकले यो सहकार्यबाट लगानीको अभावले व्यवसाय विस्तार गर्न नसकेका उद्यमीहरू लाभान्वित हुने र यसले प्रदेशको समग्र आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिएको छ । निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ७७ ओटै जिल्लामा सञ्जाल पुर्याएको ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा, ३८४ एटिएम र १,००० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा छन् ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १०:५२
