close

१०,०८० एमएएच ब्याट्रीसहित अनर ‘पावर टु’ स्मार्टफोन सार्वजनिक हुँदै, यस्ता छन् मुख्य विशेषता

टेकपाना टेकपाना

पुस १४, २०८२ १६:५९

१०,०८० एमएएच ब्याट्रीसहित अनर ‘पावर टु’ स्मार्टफोन सार्वजनिक हुँदै, यस्ता छन् मुख्य विशेषता

काठमाडौँ । स्मार्टफोन निर्माता अनरले आफ्नो नयाँ शक्तिशाली स्मार्टफोन ‘अनर पावर टु’ को सार्वजनिक हुने मिति औपचारिक रूपमा घोषणा गरेको छ । कम्पनीले सामाजिक सञ्जाल वेइबोमार्फत दिएको जानकारी अनुसार यो फोन आगामी ५ जनवरीमा चीनमा सार्वजनिक हुनेछ ।

फोनको सबैभन्दा मुख्य आकर्षण यसमा रहेको १०,०८० एमएएच क्षमताको विशाल ब्याट्री हो । जसले प्रयोगकर्तालाई लामो समयसम्म पावर ब्याकअप प्रदान गर्नेछ । अनरले सार्वजनिक गरेको डिजाइन अनुसार यसको पछाडिको भाग (रियर डिजाइन) चर्चित आईफोन १७ प्रोसँग मिल्दोजुल्दो देखिएको छ ।

फोनको पछाडि आयताकार क्यामेरा मोड्युलमा तीन ओटा क्यामेरा कटआउटहरू रहेका छन् । यो स्मार्टफोन राइजिङ सन ओरेन्ज (सुन्तला), म्याजिक नाइट ब्ल्याक (कालो) र स्नो ह्वाइट (सेतो) गरी तीन रङमा उपलब्ध हुनेछ ।

अनर पावर २ मा मिडियाटेकको डाइमेन्सिटी ८५०० एलिट चिपसेट प्रयोग गरिएको छ । कम्पनीले यसलाई १२ जीबी र्‍यामसँगै २५६ जीबी र ५१२ जीबी स्टोरेज गरी दुई ओटा भेरियन्टमा बजारमा उतार्ने तयारी गरेको छ ।

विभिन्न मिडिया रिपोर्ट र लिक भएका विवरण अनुसार यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । त्यसैगरी, यसमा ६.७९ इन्चको एलटीपीएस एमोलेड डिस्प्ले रहने सम्भावना छ ।

अनरले यो फोनमार्फत विशेषगरी धेरै ब्याट्री क्षमता खोज्ने र गेमिङ वा भिडिओ स्ट्रिमिङमा रुचि राख्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेको देखिएको छ । चीनमा सार्वजनिक भएपछि विश्वका अन्य देशहरूमा ‘अनर पावर टु’ कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन ।

 

पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १९:३४