कम्प्युटर विज्ञानका विद्यार्थीको आन्दोलन: सेवा आयोगमा ताला, उपकुलपति कार्यालय अगाडि अनशन
उप-प्राध्यापक परीक्षा विवाद
पुस १५, २०८२ १५:५
काठमाडौँ । त्रिवि सेवा आयोगले कम्प्युटर विज्ञान विषयका लागि उप-प्राध्यापकको परीक्षा लिने क्रममा अयोग्य उम्मेदवारहरूलाई सहभागी गराएको आरोप लगाउँदै कम्प्युटर विज्ञान विद्यार्थी सङ्घका सदस्यहरूले अनशन सुरु गरेका छन् । त्रिवि उपकुलपतिको कार्यालय अगाडि बसेर मंगलबार बिहानदेखि विद्यार्थीहरूले अनशन सुरु गरेका हुन् ।
आंशिक समकक्षताका आधारमा पनि कम्प्युटर विज्ञान विषयको उप-प्राध्यापकको परीक्षा दिन उम्मेदवारहरूलाई योग्य ठहर गरेको र यसअघि सेवा आयोगको परीक्षामा अयोग्य ठहर भइसकेका उम्मेदवारहरू पनि यसपटक समावेश गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । त्यस्ता उम्मेदवारहरूलाई परीक्षा दिन अयोग्य ठहर गरेर छानबिन गर्नुपर्ने उनीहरूको माग छ ।
सोही माग गर्दै सङ्घका सदस्यहरूले आइतबार राति त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला समेत लगाएका थिए । डीन कार्यालयबाट माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएपछि डीन कार्यालयको भने ताला खोलेका थिए । तर त्रिवि सेवा आयोगको ताला भने अझै खुला गरिएको छैन ।
ताला खुला गर्नका लागि सोमबार त्रिवि सामान्य प्रशासन महाशाखाले प्रहरी वृत्त कीर्तिपुरसँग आग्रह गरेको थियो । सो पछि प्रहरीले आन्दोलनमा संलग्न संघका सदस्यहरूलाई ताला खोल्न आग्रह गरेका थिए । यद्यपि आफूहरूसँग वार्ता गरेर माग सम्बोधन नगरेसम्म ताला खोल्ने पक्षमा आफूहरू नरहेको कम्प्युटर विज्ञान विद्यार्थी संघका अध्यक्ष निश्चल बुढाथोकीले बताए ।
यता उपकुलपतिसम्म पनि आफ्नो माग लिएर पुगे पनि वार्ता हुन नसकेको उनले बताए । उनले भने, “विषय समितिले कम्प्युटर साइन्स विषयमा एमएस्सी सीएस र एमएस्सी सीएसआईटी पढेको हुनुपर्ने निर्णयसहितको कार्यविधि तयार पारेको छ । यो कार्यविधि विद्या समितिबाट पारित भइसकेको छ । पहिला विद्या परिषद्बाट पारित भएको कार्यविधिलाई सेवा आयोगले मान्थ्यो । तर यो पटक प्राज्ञिक परिषद्बाट पास हुनै पर्ने भनेको छ ।” त्यसैले आफूहरूको मागलाई उपकुलपतिले सम्बोधन नगरेसम्म अनशन जारी राख्ने उनको भनाई छ ।
पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १६:२
