close

मेमोरीको मूल्य बढ्दाको असर स्मार्टफोन बजारमा, आगामी वर्ष मुख्य ब्रान्डहरूकै बिक्री घट्ने प्रक्षेपण

टेकपाना टेकपाना

पुस १५, २०८२ १६:२०

मेमोरीको मूल्य बढ्दाको असर स्मार्टफोन बजारमा, आगामी वर्ष मुख्य ब्रान्डहरूकै बिक्री घट्ने प्रक्षेपण

काठमाडौँ । सन् २०२६ मा विश्व बजारमा स्मार्टफोनको बिक्री २.१ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । मेमोरीको बढ्दो मूल्यका कारण अङ्ग्रेजी वर्ष २०२६ मा विश्व बजारमा स्मार्टफोनको बिक्री घट्ने अनुमान काउन्टर पोइन्ट रिसर्चले गरेको हो । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि डेटा सेन्टरको निर्माणको काम तीव्र गतिमा बढ्दा विश्वव्यापी रूपमा मेमोरी चिपको आपूर्तिमा चरम अभाव देखिएको छ । जसका कारण मेमोरीको मूल्य बढ्दै गइरहेको छ । यसका साथै अन्य कम्पोनेन्टको मूल्य पनि बढ्दै गइरहेको बताइएको छ । 

काउन्टर पोइन्टका अनुसार अधिकांश स्मार्टफोन ब्रान्डको बिक्री घट्ने देखिन्छ । एप्पल, सामसङ, साओमी, भिभो, ओप्पो, अनरलगायतका ब्रान्डको बिक्री घट्ने अनुमान छ । हेर्नुहोस् चित्रमा:

स्रोत: काउन्टर पोइन्ट

रिसर्च निर्देशक एमएस ह्वाङ्गका अनुसार २०० अमेरिकी डलर (करिब २९ हजार रुपैयाँ) भन्दा कम मूल्यका स्मार्टफोनको बजारमा यसले ठुलो असर पर्दैछ । "२०० डलरभन्दा कम मूल्यका स्मार्टफोनको बजारमा धेरै ठुलो असर देखिँदैछ । सन् २०२५ को सुरुआतदेखि नै कम्पोनेन्टहरूको भाउ बढ्दै गइरहेको छ । यो सेग्मेन्टको बिल अफ मटेरियल्स (बीओएम) २० देखि ३० प्रतिशतसम्म बढिसकेको छ । यससँगै बजारमा रहेका मिडदेखि हाई इन्ड सेग्मेन्टका स्मार्टफोनको मूल्य १० देखि १५ प्रतिशतसम्म बढेको छ," ह्वाङ्गले भनेका छन् ।

सन् २०२६ को दोस्रो त्रैमासिक (आगामी अप्रिल-जुन) सम्ममा मेमोरीको मूल्य थप ४० प्रतिशतसम्म बढ्न सक्ने काउन्टर पोइन्टको प्रक्षेपण छ । जसले बीओएम थप ८ देखि १५ प्रतिशतसम्म बढ्न सक्ने जोखिम छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १६:२०