चर्को आलोचनापछि कुलमानको स्पष्टीकरण: ‘भान्जा र ससुरा भनिएकाहरूसँग मेरो कुनै नाता छैन’
पुस १६, २०८२ १४:५२
काठमाडौँ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणीको कुलमान घिसिङले खण्डन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा घिसिङले आफ्ना भान्जा र ससुरालाई सिफारिस गराएको भन्दै भइरहेको चर्चालाई उनले भ्रमपूर्ण र निराधार भनेका छन् ।
वर्तमान सरकारमा मन्त्रीसमेत रहेका घिसिङले भान्जा भनिएका राम लामा र ससुरा भनिएका धर्मलाल तामाङसँग आफ्नो कुनै पारिवारिक नाता नरहेको घिसिङले दाबी गरे । "समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन् । साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु," उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बन्दसूचीमा आफ्ना मान्छे भर्ती गरेको भन्दै आलोचना भएपछि घिसिङले तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । "झुट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ । बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु," उनले थपे ।
“समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो । म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्,” घिसिङले फेसबुकमा लेखेका छन्, “चाहन्छु राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ ।”
घिसिङले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधि भित्र सच्याइने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १४:५२
