काठमाडौँ । चिनियाँ अटोमोबाइल ब्राण्ड बीवाईडी एलन मस्कको कम्पनी टेस्लालाई पछि पार्दै विश्वकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक गाडी (ईभी) बिक्रेता बनेको छ । वार्षिक बिक्रीको कुल तथ्याङ्कमा बीवाईडीले पहिलोपटक आफ्नो अमेरिकी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको हो ।
बीवाईडीका अनुसार सन् २०२५ मा ब्याट्रीबाट चल्ने गाडीहरूको बिक्री २८ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष २२ लाख ५० हजारभन्दा बढी गाडी बिक्री गर्न सफल भएको जानकारी बिहीबार दिएको छ । यद्यपि, टेस्लाले सन् २०२५ को आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न बाँकी छ ।
टेस्लाले उक्त विवरण शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर, गत साता प्राप्त केही विवरण अनुसार सन् २०२५ मा टेस्लाका करिब १६ लाख ५० हजार गाडीमात्रै बिक्री भएको देखिएको छ ।
अमेरिकी कम्पनी टेस्लाका लागि सन् २०२५ निकै उतारचढावपूर्ण रह्यो । एलन मस्कको राजनीतिक महत्त्वाकाङ्क्षादेखि चिनियाँ गाडीहरूसँगको तीव्र प्रतिस्पर्धा टेस्लाका लागि प्रतिकूल साबित भयो ।
गत अक्टोबरमा टेस्लाले बिक्री बढाउने रणनीति अनुरूप आफ्ना सबैभन्दा लोकप्रिय दुई ओटा मोडेलका सस्तो संस्करण (भेरियन्ट) बजारमा ल्याएको थियो । तर, प्रतिस्पर्धामा टिक्न टेस्लाले नयाँ तथा किफायती गाडीका मोडेलहरू सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै उसको आलोचना हुँदै आएको छ ।
विश्वकै सर्वाधिक धनी व्यक्ति तथा टेस्लाका मालिक मस्कमाथि आगामी दशकमा बिक्री दर बढाउन र सेयर मूल्य वृद्धि गराउनुपर्ने ठुलो दबाब छ । किनभने उनले टेस्लाबाट अहिलेसम्मकै ठुलो पारिश्रमिक प्याकेज प्राप्त गरेका छन् । टेस्लाका शेयरधनीहरूले गत नोभेम्बरमा मस्कका लागि ऐतिहासिक पारिश्रमिक सुविधासम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
सम्झौता अनुसार आगामी १० वर्षमा मस्कले लाखौँको संख्यामा 'ह्युमनोइड रोबोट' बिक्री गर्नुपर्ने दायित्व छ । यसका साथै टेस्लाले आफ्नो 'अप्टिमस' रोबोट र स्वचालित 'रोबोट्याक्सी' परियोजनामा ठुलो लगानी खन्याएकाले ती उत्पादनलाई सफल बनाउने जिम्मेवारी पनि मस्ककै काँधमा छ ।
सन् २०२५ को पहिलो त्रैमासमा टेस्लाको बिक्रीमा गिरावट आएको थियो । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पलाई जिताउन अभियान सञ्चालन गरेको र ट्रम्प प्रशासनमा प्रत्यक्ष संलग्न भएसँगै टेस्लाको व्यावसायिक ध्यान मोडिएको विश्लेषण गरिएको छ ।
मस्कले टेस्लाबाहेक सामाजिक सञ्जाल एक्स, स्पेस एक्स र बोरिङ कम्पनी जस्ता ठुला व्यवसायहरू पनि सम्हालिरहेका छन् । ट्रम्प प्रशासनमा मस्कले सरकारी दक्षता विभाग (डज) को नेतृत्व लिएपछि लगानीकर्ताहरूले उनको ध्यान टेस्लाबाट हट्न थालेको भन्दै आलोचना गरेका थिए। तर, पछि राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध चिसिएपछि उनी उक्त विभागबाट पूर्ण रूपमा अलग भएका थिए ।
-बीबीसीको सहयोगमा
पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १४:५०
