close

केवल एउटा भिडिओ हालेर युट्युबबाट करोडपति !

टेकपाना टेकपाना

पुस २३, २०८२ १३:१७

केवल एउटा भिडिओ हालेर युट्युबबाट करोडपति !

काठमाडौँ । इन्टरनेटको दुनियाँमा सफल हुनका लागि सधैँ नयाँ, जोसिलो र धेरै मिहिनेत गरिएका सामग्री नै चाहिन्छ भन्ने छैन । यसको ज्वलन्त उदाहरण ९ वर्षअघि युट्युबमा अपलोड गरिएको एउटा साधारण भिडियो बनेको छ, जसले आफ्नो अज्ञात मालिकलाई करोडपति बनाएको छ ।

सन् २०१६ मा Fireplace 10 Hours (@fireplace10hours) नामक च्यानलमा Fireplace 10 hours full HD शीर्षकको एउटा भिडिओ अपलोड गरिएको थियो । यो भिडियोमा अरू केही नभएर केवल १० घण्टासम्म एउटा चुल्होमा दाउरा बलिरहेको दृश्य र त्यसको 'चड्किएको' मधुर आवाज मात्र छ । अचम्मको कुरा त के छ भने, यो च्यानलमा यो बाहेक अर्को कुनै पनि भिडिओ छैन ।

यो १० घण्टा लामो 'लुप' भिडियोले हालसम्म १५ करोड ७० लाख (१५७ मिलियन) भन्दा बढी भ्युज र १ लाख १५ हजारभन्दा बढी सब्सक्राइबर बटुलिसकेको छ ।

सोसलब्लेडको अनुमानको आधारमा यो च्यानलले ९ वर्षको अवधिमा १२ लाख अमेरिकी डलर (१७ करोड रुपैयाँभन्दा बढी) विज्ञापन आम्दानी गरेको छ । जुन वार्षिक १ लाख ४० हजार अमेरिकी डलर हुन्छ ।

यो भिडिओ विशेष गरी एम्बियन्ट कन्टेन्ट (Ambient Content) को रूपमा प्रसिद्ध छ । मानिसहरूले यसलाई राति सुत्ने बेलामा ब्याकग्राउण्ड आवाजका लागि, पढ्दा वा काम गर्दा एकाग्रता बढाउन, जाडो महिनामा कोठामा न्यानो आभास दिन तथा रेस्टुरेन्ट, स्टुडियो वा ट्याटु शपहरूमा शान्त वातावरण सिर्जना गर्न प्रयोग गर्ने गरेका छन् ।

यति लामो भिडिओ भएकाले यसमा धेरै विज्ञापन राख्न सकिन्छ । भ्युअरहरूले प्रायः यो भिडिओ बजाएर सुत्ने हुनाले विज्ञापनहरू स्किप हुँदैनन्, जसले गर्दा क्रियटरको आम्दानी ह्वात्तै बढ्छ ।

यद्यपि, यो आम्दानीको विषयमा केही बहस पनि सुरु भएको छ । युट्युबको हालको नियम अनुसार च्यानल मनिटाइज हुन कम्तीमा तीनवटा भिडिओ अपलोड हुनुपर्ने प्रावधान छ । कतिपयको आशङ्का छ कि यो दोहोरिने सामग्री (repetitive content) भएकाले यसको सबै पैसा युट्युब आफैँले राखेको हुन सक्छ ।

सामाजिक सञ्जालमा यो खबर भाइरल भएपछि प्रयोगकर्ताहरूले निकै रमाइला प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, "साँच्चै, जीवन त्यति गाह्रो छैन रहेछ ।" अर्काले यसलाई 'युट्युबमा अनन्त पैसा कमाउने जुक्ति' को संज्ञा दिएका छन् ।

पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १३:१७