आकाङ्क्षी उम्मेदवारहरूलाई सामाजिक सञ्जालमा तत्काल प्रचार प्रसार बन्द गर्न रास्वपाको निर्देशन
पुस २४, २०८२ १९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनतर्फका आकाङ्क्षी उम्मेदवारहरूलाई सामाजिक सञ्जालमा प्रचार प्रसार तत्काल रोक्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा आकाङ्क्षी उम्मेदवारहरूलाई यस्तो निर्देशन दिएको हो ।
पार्टीबाट प्रत्यक्ष तर्फको निर्वाचनका आकाङ्क्षी उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार-प्रसार गर्दै आइरहेका छन् । ती मध्ये केही उम्मेदवारले पार्टीमा आफ्नो उम्मेदवारीबारे औपचारिक आवेदन दिएको र केहीले आवेदन नै नदिएको उल्लेख छ ।
सूचनामा भनिएको छ, “यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार-प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ।"
प्रत्यक्ष तर्फ उम्मेदवारीका लागि पार्टीमा औपचारिक आवेदन दिएका उम्मेदवारले सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने जनाएको छ । त्यसपछि भने प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भएपछि मात्र निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार प्रसार गर्न सक्ने बताइएको छ ।
यसरी प्रचारप्रसार गर्दा पार्टीको निर्वाचन आचारसंहिता अनुसार मर्यादित, सीमित र भद्र तरिकाले गर्नुपर्ने सूचनामा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १९:१९
