एनसेलले ल्यायो जेन-जी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमा महिनाभर अनलिमिटेड कल र ५ जीबी डेटा
पुस २६, २०८२ १८:२५
काठमाडौँ । एनसेलले युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै ‘युवा सिम’ नामक स्टार्टर प्याक सार्वजनिक गरेको छ । जेन-जी (सन् १९९७ पछि जन्मिएका) पुस्ताको सञ्चार आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कम्पनीले शनिबारदेखि यो योजना सञ्चालनमा ल्याएको हो ।
यो प्याक अन्तर्गत ग्राहकले करसहित मात्र २९९ रुपैयाँमा २८ दिनका लागि अनलिमिटेड एनसेल-टु-एनसेल कल र ५ जीबी डेटा प्राप्त गर्नेछन् । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवा पुर्याउने प्रतिबद्धता बमोजिम ल्याइएको यो सिममा डिजिटल वालेटहरू इसेवा र खल्तीको प्रयोग गर्दा डेटा शुल्क लाग्ने छैन ।
अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ मा पनि विद्यार्थीले निःशुल्क पहुँच पाउने एनसेलले जनाएको छ । ग्राहकले फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोगका लागि २४ घण्टासम्म मान्य रहने १ जीबी डेटा मात्र १९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
एनसेलबाट अन्य नेटवर्कमा (अफ-नेट) कल गर्दा प्रतिमिनेट १ रुपैयाँ शुल्क तोकिएको छ । प्याकको ५ जीबी डेटा सकिएपछि ग्राहकले पे-एज-यू-गो अन्तर्गत प्रति एमबी ५० पैसामा डेटा चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले युवा सिमले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउनुका साथै शिक्षामा समेत मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
कसरी लिने युवा सिम ?
यो सिम लिन चाहने विद्यार्थी वा युवाहरूले नजिकैको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ । आफ्नो परिचयपत्र नभएकाको हकमा अभिभावकको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर सिम प्राप्त गर्न सकिनेछ ।
हरेक २८ दिनपछि यी सुविधाहरू पुनः प्राप्त गर्न ग्राहकले प्याक नवीकरण गर्नुपर्नेछ । यो प्याक एनसेल एपमार्फत वा *१२३# डायल गरेर सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २६, २०८२ १९:९
