काठमाडौँ । आउँदो माघ १ गतेदेखि पाँच लाख रुपैयाँ भन्दा बढी नगदमा कारोबार गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६३ को दफा ४४ ग को उपदफा (१) को प्रयोजनका लागि १ माघदेखि पाँच लाख रुपैयाँभन्दा माथि नगद कारोबार गर्न रोक लगाउन लागेको छ ।
सोही निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले सर्त तोकिएका बाहेकको पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबारमा नगद प्रयोग नगराउन शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर पठाएको हो ।
१ माघदेखि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा नगदको सट्टा वित्तीय संस्था वा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने भएको छ ।
केही कारोबारहरूमा भने यो सीमा लागु नहुने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको सावाँ तथा ब्याज भुक्तानी गर्न, वित्तीय संस्थाहरूबिचमा नगद कारोबार गर्न पाँच लाखको सीमा लागु नहुने स्पष्ट पारेको छ ।
यसका साथै, उक्त सीमाभन्दा बढी नगद स्रोत तथा प्रयोजन खुल्ने गरी आफूसँग राख्न वा देशभित्र एक स्थानबाट अर्को स्थानमा लैजान पाइनेछ ।
कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाएर नगद भुक्तानीका लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उक्त सीमाभन्दा बढी नगद भुक्तानी दिन सकिने अर्थ मन्त्रालय प्रस्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: पुस २६, २०८२ २१:२
