स्टारलिङ्कको इन्टरनेट सेवा रोक्न इरानले पहिलो पटक प्रयोग गर्यो 'किल स्विच'
पुस २८, २०८२ ८:१७
काठमाडौँ । इरानले आफ्नो देशमा जारी विरोध प्रदर्शन र सरकार विरोधी गतिविधिहरूलाई दबाउन सैन्य जामर प्रयोग गरी पहिलो पटक स्टारलिङ्क इन्टरनेट सेवालाई सफलतापूर्वक अवरुद्ध गरेको छ । यो सेवा प्रदर्शनकारी र अधिकारकर्मीका लागि 'गेम-चेन्जर' मानिएको थियो, किनभने यसअघि सरकारले आन्तरिक इन्टरनेट सेवा बन्द गर्दा स्टारलिङ्कलाई वैकल्पिक माध्यमको रूपमा प्रयोग गरिँदै आएको थियो ।
इरान वायरका अनुसार इरानभित्र दशौँ हजार स्टारलिङ्क युनिटहरू सञ्चालनमा रहे तापनि हाल यो ब्ल्याकआउटले स्याटेलाइट कनेक्सनलाई समेत प्रभाव पारेको छ । सुरुमा स्टारलिङ्कको ट्राफिकमा ३० प्रतिशत अवरोध देखिएकोमा केही घण्टामै यो दर तीव्र रूपमा बढेर ८० प्रतिशतभन्दा बढी पुगेको छ । इरानी सरकारले स्टारलिङ्कलाई कहिल्यै आधिकारिक अनुमति नदिएको हुँदा यसको प्रयोग गैरकानुनी मानिन्छ । तर 'द टाइम्स अफ इजरायल' का अनुसार पछिल्ला ब्ल्याकआउटहरूको तुलनामा यस पटक यसका रिसिभरहरूको प्रयोग निकै बढेको थियो ।
स्टारलिङ्क रिसिभरहरूले स्याटलाइटसँग जोडिन र आफ्नो अवस्थिति पत्ता लगाउन जीपीएस (GPS) प्रयोग गर्छन् । गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धदेखि नै इरानले जीपीएस सिग्नलहरूमा अवरोध पुर्याउँदै आएको छ । यसका कारण इरानमा स्टारलिङ्कको कनेक्टिभिटी कतै चल्ने त कतै नचल्ने 'प्याचवर्क क्विल्ट' (patchwork quilt) जस्तो भएको छ र कतिपय क्षेत्रहरूमा त इन्टरनेट पूर्ण रूपमा ठप्प भएको छ । मियान ग्रुपका आमिर रशिदीले आफूले विगत २० वर्षदेखि इन्टरनेट पहुँचको अनुगमन गर्दा यस्तो प्रकारको अवरोध कहिल्यै नदेखेको बताएको फोर्ब्सले लेखेको छ ।
विज्ञ सिमोन मिग्लियानोका अनुसार इरानको यो राष्ट्रिय ब्ल्याकआउट असन्तुष्टिलाई दबाउन प्रयोग गरिएको एउटा 'क्रूर हतियार' (blunt instrument) हो । यो 'किल स्विच' नीतिका कारण इरानी अर्थतन्त्रले प्रति घण्टा १५.६ लाख अमेरिकी डलर बराबरको ठुलो आर्थिक क्षति ब्यहोरीरहेको छ ।
पछिल्लो रिपोर्ट अनुसार नेटब्लक्सले जनाए अनुसार इरानको यो इन्टरनेट ब्ल्याकआउट अहिले ६० घण्टा नाघिसकेको छ । हाल देशको राष्ट्रिय इन्टरनेट कनेक्टिभिटी सामान्य स्तरको तुलनामा १ प्रतिशतमा खुम्चिएको छ ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ ८:१७
