close

इटहरीमा २४ घण्टे ‘गोदावरी ह्याक्स’ आयोजना हुँदै, किशोर-किशोरीले प्रतिभा देखाउने

टेकपाना टेकपाना

माघ १, २०८२ १८:४८

इटहरीमा २४ घण्टे ‘गोदावरी ह्याक्स’ आयोजना हुँदै, किशोर-किशोरीले प्रतिभा देखाउने

काठमाडौँ । कोशी प्रदेशको इटहरीमा किशोर पुस्तालाई लक्षित गर्दै २४ घण्टा लामो ‘गोदावरी ह्याक्स २०२६- टिन ह्याकाथन’ आयोजना हुने भएको छ । इटहरीस्थित सुष्मा गोदावरी कलेजका विद्यार्थीहरूको सक्रियतामा यही ४-५ माघमा ह्याकाथन हुन लागेको हो ।

युवा डेभलपर, इनोभेटर र प्रविधिमा रुचि राख्ने किशोर-किशोरीहरूलाई एउटै थलोमा ल्याई उनीहरूको क्षमता प्रस्फुटन गराउने उद्देश्यले ह्याकाथन आयोजना गरिएको कार्यक्रमका सम्पर्क व्यक्ति दीपक पराजुलीले जानकारी दिए । कलेजकै परिसरमा हुने प्रतिस्पर्धामा सहभागीहरूले निश्चित समयभित्र कुनै समस्याको प्राविधिक समाधान (प्रोटोटाइप) तयार पार्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने २० हजार रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नगद पुरस्कारका साथै सहभागीहरूलाई पेन ड्राइभ, किबोर्ड, माउस लगायतका अन्य विभिन्न इलेक्ट्रोनिक्स ग्याजेट उपहार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।

युवा डेभलपरहरूमाझ सहकार्यको भावना विकास गर्न र उनीहरूलाई प्रविधिको क्षेत्रमा थप उत्प्रेरित गर्न यो ह्याकाथन महत्त्वपूर्ण हुने पराजुलीले विश्वास राखे । “हाम्रो मुख्य उद्देश्य नेपालको बढ्दो प्रविधि इकोसिस्टममा युवाहरूको भूमिका बढाउनु र उनीहरूलाई सामूहिक रूपमा काम गर्न सिकाउनु हो,” उनले भने ।

ह्याकाथनबारे विस्तृत जानकारीका लागि आधिकारिक वेबसाइट hack.godawari.edu.np भिजिट गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: माघ २, २०८२ १०:५०