एनएमबिको नयाँ भिसा डेबिट कार्ड सार्वजनिक, कुनै पनि बैंकको एटीएमबाट निःशुल्क पैसा झिक्न सकिने
माघ ६, २०८२ १९:१६
काठमाडौँ । एनएमबि बैंकले दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ । ग्राहकको बदलिँदो जीवनशैली र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो ।
यी कार्डले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई थप सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ । नयाँ प्लाटिनम कार्ड प्रयोगकर्ताले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै सर्तअनुसार विभिन्न विमानस्थलमा लाउन्ज सुविधा समेत प्राप्त गर्नेछन् ।
विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड लक्षित गरिएको बैंकले जनाएको छ । यस कार्डमार्फत ग्राहकले नेपालभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् । यसका साथै भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइने व्यवस्था गरिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १९:१६
