close

ईभीमा शिफ्ट भएका पेट्रोलहेडको अनुभवमा कस्तो छ बीवाईडी एटो २ ?

टेकपाना टेकपाना

माघ ८, २०८२ १९:४४

ईभीमा शिफ्ट भएका पेट्रोलहेडको अनुभवमा कस्तो छ बीवाईडी एटो २ ?

काठमाडौँ । नेपालको अटोमोबाइल बजार अहिले एउटा ठुलो सङ्क्रमणकालबाट गुज्रिरहेको छ । डिजेल र पेट्रोलको धुवाँ उडाउने गाडीहरू बिस्तारै सडकबाट विस्थापित हुँदैछन् भने तिनको स्थान वातावरणमैत्री र शान्त विद्युतीय सवारी (ईभी) ले लिइरहेका छन् । यो परिवर्तन केवल इन्धनको बचत वा वातावरणीय सचेतना मात्र होइन; यो प्रविधि र जीवनशैलीको परिवर्तन पनि हो ।

तर, प्रश्न उठ्छ– जसको नसा-नसामा इन्धन इन्जिनको पावर र साउन्ड बगेको छ, त्यस्ता पेट्रोलहेड (मोटरकार पारखी) लाई के ईभीले सन्तुष्ट पार्न सक्छ ? यही प्रश्नको उत्तर खोज्न हामीले भेट्यौँ बनेपाका दिपिन प्रधानलाई । गाडीका सौखिन दिपिन पहिले मोडिफाई गरिएको हुन्डाई आई-२० चलाउँथे, उनै अहिले कालो रङको बीवाईडी एटो २ का मालिक हुन् । करिब दुई महिनाको अवधिमा काठमाडौँको जामदेखि सिन्धुलीको बीपी राजमार्गसम्म करिब ४,००० किलोमिटर यात्रा गरिसकेपछि उनले आफ्नो अनुभव हामीसँग साटेका छन् ।

किन रोजे ईभी ?

दिपिनका लागि ईभीमा सिफ्ट हुनुको मुख्य कारण वातावरण जोगाउने अभियान मात्र थिएन । यो त काठमाडौँ उपत्यकाको ट्राफिक जाम र बढ्दो इन्धन मूल्यले सिर्जना गरेको बाध्यता र आवश्यकताको उपज थियो ।

"मलाई थाहा छ, एउटा कार पारखीका लागि ईभीले इन्जिनको त्यो 'रेभ', गियर सिफ्टिङको मेकानिकल फिल वा त्यो रमाइलो दिँदैन," दिपिन स्वीकार्छन् ।

उनी थप्छन्, "तर मेरो दैनिक रुट बनेपादेखि काठमाडौँसम्मको २५ देखि ५० किलोमिटरको यात्रा हो । काठमाडौँको ट्राफिक यति बढेको छ कि म्यानुअल गियर भएको गाडी चलाउनु अहिले रमाइलो भन्दा पनि शारीरिक र मानसिक तनावको कारण बनेको छ ।"

यही कारणले उनले आफ्नो एक्साइटमेन्टलाई थाती राखेर 'कन्भिनियन्स' (सहजता) र 'कम्फर्ट' (आराम) लाई रोजे । डिजेल/पेट्रोल गाडीको तुलनामा ईभी चलाउँदा हुने कम लागत खर्च त छँदैछ, मुख्य कुरा ड्राइभिङमा हुने सहजता नै उनको प्राथमिकता बन्यो ।

बीवाईडी एटो २ नै किन ?

बजारमा थुप्रै विकल्पहरू उपलब्ध हुँदाहुँदै पनि दिपिनको रोजाइमा बीवाईडी एटो २ नै किन पर्‍यो त ? उनको परिवारमा पहिले नै एउटा ईभीको रूपमा चिनियाँ ब्रान्ड ओमोडाको ई-५ गाडी छ । सुरुमा उनी बीवाईडी डल्फिन वा एटो ३ लिने सोचमा थिए । तर, नेपालको बाटो र उनको आवश्यकतालाई हेर्दा एटो २ नै उपयुक्त लाग्यो ।

यसको प्रमुख कारण थियो– ग्राउन्ड क्लियरेन्स । "नेपालको बाटोको कुनै भर छैन । कतिबेला कहाँ खाल्डो भेटिन्छ वा बाटो बिग्रिएको हुन्छ, थाहा हुँदैन," दिपिन भन्छन्, "डल्फिनको ग्राउन्ड क्लियरेन्स अलि कम थियो । तर एटो २ मा करिब २०० एमएमको क्लियरेन्स छ । यसले मलाई ढुक्क बनायो ।"

अर्को कारण थियो– लुक र डिजाइन । उनले कालो रङको गाडी रोज्नुको पछाडि पनि खास कारण छ । सामान्यतया ईभीहरू अलि सफ्ट र फ्युचरिस्टिक (भविष्यमुखी) डिजाइनका हुन्छन् । तर कालो रङको एटो २ ले अलि बलियो, 'माचो' (साहसीपन) र 'ग्याङ्स्टर' भाइब दिन्छ । "भिडिओ रिभ्युहरू हेर्दा नै मलाई लाग्यो कि यो गाडीले मेरो व्यक्तित्व सुहाउँदो लुक्स दिन्छ," उनी भन्छन् । यसका साथै शोरुम र सेल्स टिमसँगको पुरानो चिनजान र विश्वासले गर्दा उनले टेस्ट ड्राइभ नै नगरी गाडी बुक गरेका थिए ।

सिन्धुलीको टेस्ट: रेन्जको वास्तविकता

कुनै पनि नयाँ ईभी खरिदकर्ताको मनमा हुने सबैभन्दा ठुलो डर भनेकै 'रेन्ज एन्जाइटी' अर्थात् बीच बाटोमै चार्ज सकिने चिन्ता हो । कम्पनीले दाबी गरेको रेन्ज र वास्तविक सडकमा पाइने रेन्जमा फरक पर्न सक्छ । यही कुरा जाँच्न दिपिनले गाडीलाई सिन्धुलीको बीपी राजमार्गमा लगे ।

बनेपादेखि सिन्धुलीको त्यो यात्रा करिब २४८ किलोमिटर (दुईतर्फी) को थियो, जसमा उकालो, ओरालो र थुप्रै घुम्तीहरू थिए । उनी घरबाट १०० प्रतिशत चार्ज गरेर निस्किए ।

"बाटोमा थुप्रै चार्जिङ स्टेसनहरू देखेँ, तर मलाई गाडी रोकेर चार्ज गर्नुपर्ने आवश्यकता नै महसुस भएन," उनी आफ्नो अनुभव सुनाउँछन् । ओरालोमा 'रिजेनेरेटिभ ब्रेकिङ' (Regenerative Braking) को सही प्रयोग गर्दै उनले ब्याट्री रिकभर गरे । घर फर्कंदा गाडीमा अझै ४२ प्रतिशत चार्ज बाँकी थियो ।

"२४८ किलोमिटर गुडाएर आउँदा पनि ४२ प्रतिशत बाँकी हुनु भनेको मेरो लागि आश्चर्यजनक थियो । यसले मेरो रेन्जसम्बन्धी सबै डर भगाइदियो," उनी भन्छन् । जाडो मौसम सुरु भए पनि उनले आफ्नो नियमित रुटमा रेन्जमा १-२ प्रतिशत भन्दा बढी गिरावट महसुस गरेका छैनन् ।

ड्राइभिङ अनुभव र पर्फर्मेन्स

दिपिनका अनुसार एटो २ को ड्राइभिङ अनुभव एकदमै 'स्मुथ' छ । पेट्रोल गाडी चलाउने बानी परेकाहरूलाई सुरुमा ईभीको पावर डेलिभरी अलि फरक लाग्न सक्छ ।

"ईभी चलाउने आफ्नै तरिका हुन्छ," उनी आफ्नो अनुभव बाँड्छन्, "पेट्रोल गाडीजस्तो एक्सिलेरेटरमा बेसरी थिच्नु पर्दैन । फेदर टच (प्वाँखजस्तै हलुका) तरिकाले चलाउँदा गाडी सजिलै र शान्तसँग गुड्छ ।"

उनको घर नजिकैको बाटो अलि कच्ची र हिलो छ । त्यस्तो अवस्थामा गाडीको स्नो मोड (Snow Mode) फिचर एकदमै उपयोगी साबित भएको छ । यसले चक्कालाई चिप्लिन दिँदैन र हिलो वा ग्राभेल बाटोमा पनि गाडीले राम्रो पकड बनाउँछ । चार हजार किलोमिटर चलाउँदा उनले कुनै पनि पावर ल्याग वा कठिनाइ महसुस गरेका छैनन् ।

इन्टेरियर: स्क्रिनको जमानामा बटनको महत्त्व

अहिलेका आधुनिक कारहरू, विशेषगरी ईभीहरूमा ठुला टचस्क्रिन राखेर फिजिकल (भौतिक) बटनहरू हटाउने होडबाजी चलेको छ । तर, बीवाईडीले एटो २ मा अत्यावश्यक फङ्सनका लागि बटनलाई कायमै राखेकोमा दिपिन निकै खुसी छन् ।

"मलाई बटनहरू भएको मन पर्छ । गाडी चलाउँदा स्क्रिनमा आँखा डुलाएर एसी वा भोलुम मिलाउनु जोखिमपूर्ण हुन सक्छ । तर बटन छ भने सडकबाट आँखा नहटाई छामेरै काम गर्न सकिन्छ," उनी तर्क गर्छन् ।

इन्टेरियरको अर्को सबल पक्ष यसको 'डार्क थिम' हो । नेपालजस्तो धेरै धुलो हुने देशमा सेतो वा फिका रङको इन्टेरियर मेन्टेन गर्न निकै गाह्रो हुन्छ । तर एटो २ को कालो इन्टेरियर सफा गर्न सजिलो छ र लामो समयसम्म नयाँ देखिन्छ । पछाडिको सिटमा ३ जना बस्दा पनि पर्याप्त स्पेस रहेको र बुट स्पेस (डिक्की) मा पनि मल्टी-लेयर फ्लोरिङले गर्दा सामान राख्न निकै सहज भएको उनको अनुभव छ । ३६० डिग्री क्यामराको क्वालिटी पनि उनले सोचेभन्दा राम्रो पाएका छन् ।

केही कमजोरी र सुधारका पक्ष

कुनै पनि मसिन शतप्रतिशत पूर्ण हुँदैन । ४,००० किलोमिटरको यात्रामा दिपिनले एटो २ मा केही सुधार गर्नुपर्ने पक्षहरू पनि भेट्टाएका छन् ।

पहिलो कमजोरी हो– ह्विल आर्कको आवाज । गाडीको टायर माथिको क्ल्याडिङ (Cladding) मा साउन्ड प्रुफिङ अलि कम भएको महसुस उनले गरे । "ग्राभेल वा कच्ची बाटोमा हिँड्दा साना ढुङ्गाहरू ठोक्किएको आवाज केबिन भित्र प्रस्ट सुनिन्छ । यसलाई अझै रिफाइन गर्न सकिन्थ्यो," उनी भन्छन् ।

दोस्रो, हेडलाइटको परफर्मेन्स । हाइवेमा हाई-बिम ठिकै भए पनि सहरको भिडभाड र विशेषगरी विपरीत दिशाबाट गाडी आइरहेको बेला यसको लो-बिम अलि मधुरो भएको उनको बुझाइ छ ।

तेस्रो, फिचर र सेफ्टी । गाडीमा 'ब्लाइन्ड स्पट मनिटरिङ' अभाव उनलाई अलि खट्किएको कुरा हो । डल्फिन र एटो ३ मा यो सुविधा छ, जसले ड्राइभिङलाई अझ सुरक्षित बनाउँछ । साथै, पछाडि एउटा मात्र 'रिभर्स लाइट' हुनु (जुन युरोपेली स्ट्यान्डर्ड हो) नेपालमा अलि अनौठो देखिन्छ । अनि, गाडीमा 'स्पेयर टायर' को सट्टा 'पन्चर रिपेयर किट' मात्र हुनुले लामो यात्रामा कहिलेकाहीँ मानसिक तनाव दिन सक्छ ।

निष्कर्ष

समग्रमा, दिपिन प्रधान आफ्नो नयाँ बीवाईडी एटो २ सँग निकै सन्तुष्ट छन् । उनले आफ्नो अनरशिप अनुभवको आधारमा यो ईभीलाई १० मा ८.५ अङ्क दिएका छन् । सर्भिसिङ सेन्टरको अनुभव लिन बाँकी भएकोले उनले १.५ अङ्क रिजर्भमा राखेका हुन् ।

"मलाई यो गाडीको लुक्स, ग्राउन्ड क्लियरेन्स र ब्याट्री रेन्जले कहिल्यै निराश बनाएको छैन," दिपिनको निष्कर्ष छ, "यदि तपाईं नेपालको बाटोमा ढुक्कसँग चलाउन मिल्ने, राम्रो ग्राउन्ड क्लियरेन्स भएको र कुनै झन्झट बिना दैनिक यात्रा गर्न मिल्ने गाडी खोज्दै हुनुहुन्छ भने, एटो २ एउटा उत्कृष्ट विकल्प हो ।

"एक 'पेट्रोल हेड' ले ईभीको सहजतालाई आत्मसाथ गर्नु आफैमा एउटा महत्त्वपूर्ण परिवर्तन हो । दिपिनको यो अनुभवले नेपालमा विद्युतीय सवारी साधनको भविष्य र यसको स्वीकार्यतालाई प्रस्टसँग चित्रण गर्छ । एटो २ ले बजारमा पाएको चर्चा र दिपिनजस्ता ग्राहकको सन्तुष्टिले यो गाडी नेपालको सडक सुहाउँदो छ भन्ने कुरालाई पुष्टि गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १९:४४