आईओई इन्जिनियरिङमा स्नातकोत्तर तहको प्रवेश परीक्षा ७ फागुनदेखि, अर्को साता अनलाइन आवेदन खुल्ने
माघ ९, २०८२ ८:३०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक सत्र २०८२/०८३ का लागि स्नातकोत्तर तह (एमएस्सी) का विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि प्रवेश परीक्षाको आवेदन आह्वान गरेको छ ।
संस्थानको प्रवेश परीक्षा बोर्डले मंगलबार एक सूचना जारी गर्दै स्नातक तह उत्तीर्ण गरेका इच्छुक विद्यार्थीका लागि आवेदन खुला गरेको हो ।
आईओई अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा सञ्चालित स्नातकोत्तर कार्यक्रमहरूमा भर्ना हुन चाहने परीक्षार्थीहरूले आगामी १६ माघ बिहान १०:०० बजेदेखि १ फागुन दिउँसो ३:०० बजेसम्म अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।
आवेदन फारम संस्थानको आधिकारिक वेबसाइट entrance.ioe.edu.np मार्फत भर्नुपर्नेछ ।
प्रवेश परीक्षा आगामी ७ फागुनदेखि सञ्चालन हुने बोर्डले जनाएको छ । प्रवेश परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण तथा जानकारीहरू आगामी १५ माघदेखि संस्थानको वेबसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ ।
प्रवेश परीक्षाको नतिजा र योग्यताक्रमका आधारमा आङ्गिक क्याम्पसहरूमा भर्ना लिइने बताइएको छ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ ८:३०
