काठमाडौँ । ‘ड्युड’ नामको कुकुर अचानक गम्भीर बिरामी परेपछि उसका मालिकलाई सबैभन्दा खराब स्थितिको लागि तयार रहन भनिएको थियो । सरकारी र निजी दुवै अस्पतालका धेरै पशु चिकित्सकले ड्युडको स्वास्थ्य रिपोर्ट हेरेपछि आशै मारिसकेका थिए । कारण कुकुरको रिपोर्टमा उसलाई ‘क्रोनिक किड्नी फेलियर’ (मृगौला फेल) भएको देखिएको थियो । चिकित्सकका अनुसार ड्युड बाँच्ने सम्भावना ५ प्रतिशतभन्दा पनि कम थियो ।
तर, सामाजिक सञ्जाल रेडिटको सबरेडिट ‘r/Indian_flex’ मा भाइरल भएको एउटा पोस्टका अनुसार ड्युडका मालिकले हिम्मत हारेनन् । चिकित्सकको उपचार पद्धति र ठम्याइमा विश्वास नलागेपछि उनले एआई टुल च्याटजीपीटीको सहारा लिने निर्णय गरे ।
“पशु चिकित्सकले प्रयास गर्न छाडिसके भन्ने जस्तो मलाई लाग्यो,” ड्युडका मालिकले पोस्टमा लेखेका छन्, “त्यसैले मैले यो सबै आफैँ सम्हाल्ने निर्णय गरेँ ।”
उनले ड्युडका सबै लक्षण र ल्याब रिपोर्ट च्याटजीपीटीमा अपलोड गरेर पुन: परीक्षण गरे । जहाँ चिकित्सक मृगौलाको समस्या निको नहुने दाबी गरिरहेका थिए त्यहाँ च्याटजीपीटीले भने अर्कै सम्भावना देखायो । एआईले यो ‘एक्युट किड्नी इन्फेक्सन’ अर्थात् अचानक मृगौलामा भएको संक्रमण हुनसक्ने बतायो । चिकित्सा विज्ञानमा ‘क्रोनिक’ र ‘एक्युट’ बिच ठुलो भिन्नता हुन्छ । एक्युट समस्यालाई समयमै पहिचान गरी उपचार गरेमा निको पार्न सकिन्छ ।
चिकित्सकले बेवास्ता गरेका विवरणलाई च्याटजीपीटीले ध्यान दिएको थियो । बिरामी पर्नुअघि ड्युडले सडकमा कुहिएको मासु खाएको थियो । यसले गर्दा उसको रगतमा सेतो रक्तकोषको मात्रा उच्च थियो । “रिपोर्ट निकै खराब थिए, तर यदि यो पुरानो समस्या हुन्थ्यो भने लक्षण पहिले नै देखिनुपर्थ्यो । ऊ त एक्कासि बिरामी भएको थियो,” मालिकले रेडिट पोस्टमा उल्लेख गरेका छन् ।
उपचारको सन्दर्भमा पनि च्याटजीपीटी र चिकित्सकबिच मतभेद देखियो । ड्युडको तौल र अवस्था हेरेर च्याटजीपीटीले अस्पतालमा दिइएको भन्दा बढी मात्रामा ‘आईभी फ्लुइड’ (स्लाइन) दिन सुझाव दियो । अस्पतालको ढिलासुस्ती र सेवाभन्दा शुल्कलाई बढी प्राथमिकता दिने प्रवृत्तिबाट आजित भएपछि मालिकले ड्युडलाई घरमै ल्याएर एआईको सुझाव अनुसारको उपचार प्रक्रिया अघि बढाए ।
केही हप्ताको निरन्तर हेरचाहपछि ड्युडको स्वास्थ्यमा सुधार आयो र अन्ततः ऊ पूर्ण रूपमा स्वस्थ भएको ड्युडका मालिकको दाबी छ । यस घटनाले अहिले इन्टरनेटमा अर्को ठुलो बहस छेडिदिएको छ । कतिपयले मालिकको दृढता र प्रविधिको सही प्रयोगको प्रशंसा गरेका छन् भने कतिपयले विज्ञको सल्लाहबिना एआईको भरमा उपचार गर्नु जोखिमपूर्ण हुने चेतावनी दिएका छन् । ड्युडका मालिकले भने भनेका छन्, “डिग्री वा प्रमाणपत्रभन्दा पनि विश्वास, तत्परता र जवाफदेहिता बढी महत्त्वपूर्ण हुने रहेछ ।”
पछिल्लो अध्यावधिक: माघ १०, २०८२ १३:४७
