close

च्याटजीपीटीले एलन मस्कको ‘ग्रोकिपिडिया’ लाई पटक-पटक स्रोतका रूपमा प्रयोग गरेको खुलासा

टेकपाना टेकपाना

माघ १२, २०८२ १६:९

च्याटजीपीटीले एलन मस्कको ‘ग्रोकिपिडिया’ लाई पटक-पटक स्रोतका रूपमा प्रयोग गरेको खुलासा

काठमाडौँ । एआई कम्पनीहरूबिचको प्रतिस्पर्धा तीव्र बनिरहेका बेला ओपनएआईको च्याटजीपीटी र एन्थ्रोपिकको ‘क्लउड’ ले एलन मस्कको स्वामित्वमा रहेको ग्रोकिपिडियालाई प्रमुख स्रोतका रूपमा प्रयोग गर्न थालेका छन् । पूर्ण रूपमा एआईद्वारा सञ्चालित यो स्रोतको प्रयोगले इन्टरनेटमा गलत सूचनाको बाढी आउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

द गार्डियनको एक रिपोर्ट अनुसार, च्याटजीपीटीको पछिल्लो संस्करण ‘जीपीटी ५‍.२ ले इरानको राजनीतिक संरचना र होलोकस्ट (नरसंहार) सम्बन्धी जटिल प्रश्नहरूको जवाफ दिँदा मस्कको एक्सएआईद्वारा निर्मित ग्रोकिपिडियालाई पटक-पटक उद्धृत गरेको पाइएको छ । विकिपिडियाको विकल्पका रूपमा अघि सारिएको ग्रोकिपिडियालाई एन्थ्रोपिकको क्लउडले पनि पेट्रोलियम उत्पादन जस्ता विषयमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेको छ ।

एउटा एआई मोडेलले अर्को एआई मोडेलद्वारा सिर्जित सामग्रीलाई स्रोत मान्दा सेल्फ-रिइन्फोर्सिङ फिडब्याक लुप (Self-reinforcing feedback loop) सिर्जना हुन्छ । यसको अर्थ, यदि एआईले कुनै गलत तथ्य सिर्जना गर्‍यो र अर्को एआईले त्यसैलाई सत्य मानेर फैलायो भने भविष्यमा ती गलत तथ्यहरूलाई सच्याउन वा मेटाउन असम्भव जस्तै हुनेछ ।

विकिपिडियामा मानिसहरूले तथ्य जाँच र एडिट गर्ने व्यवस्था भए पनि ग्रोकिपिडिया पूर्ण रूपमा लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) मा आधारित छ । एआई मोडलहरूमा हुने हलुसिनेसन अर्थात् भ्रमपूर्ण सूचना दिने प्रवृत्तिका कारण यसको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ ।

विकिपिडियाका सह-संस्थापक जिमी वेल्सले एआईद्वारा लेखिएको इन्साइक्लोपीडियाप्रति कडा आपत्ति जनाएका छन् । उनले भनेका छन्, “एआई मोडलहरू यति सक्षम छैनन् कि उनीहरूले विकिपिडियाका लागि लेख लेख्न सकून् । मस्कले प्रयोग गरिरहेको प्रविधिले ठुला गल्तीहरू गर्ने निश्चित छ ।”

रिपोर्टका अनुसार, च्याटजीपीटीले केही विवादास्पद विषयमा ग्रोकिपिडियालाई उद्धृत गर्दा पहिले नै गलत सावित भइसकेका सूचनाहरूलाई समेत सत्यका रूपमा प्रस्तुत गरेको भेटिएको छ ।

यस विषयमा ओपनएआईका प्रवक्ताले च्याटजीपीटीको वेब सर्चले सार्वजनिक रूपमा उपलब्ध विभिन्न स्रोतहरू र दृष्टिकोणहरू समेट्ने दाबी गरेका छन् । कम्पनीले उच्च जोखिमयुक्त र हानिकारक लिङ्कहरू रोक्न ‘सेफ्टी फिल्टर’ प्रयोग गरिरहेको र कम विश्वसनीय सूचनाहरू छान्न नयाँ परियोजनामा काम गरिरहेको बताएको छ ।

एलन मस्कको एक्सएआईले अक्टोबर २०२५ मा सुरु गरेको ग्रोकिपिडिया एउटा एआई-जेनेरेटेड ज्ञानको भण्डार हो । यसमा भएका लेखहरू ग्रोक एआईले नै तथ्य जाँच गर्छ । विकिपिडियामा जस्तो सर्वसाधारण प्रयोगकर्ताले यसमा लेख सम्पादन गर्न पाउँदैनन् । तर त्रुटि देखिएमा 'फ्ल्याग' गर्न वा सुझाव दिन सक्छन् ।

मस्कले भने एआईद्वारा सञ्चालित इन्साइक्लोपीडिया मानव सभ्यताका लागि महत्त्वपूर्ण भएको दाबी गर्दै आएका छन् । उनले यसमा मानवीय संलग्नता नहुने भएकाले कुनै पनि राजनीतिक विचारधारा वा पूर्वाग्रह नहुने तर्क गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १६:३२