close

उम्मेदवारले क्यूआरबाट सहयोग जुटाउन थालेपछि राष्ट्र बैंकले भन्यो- चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोल्नू

टेकपाना टेकपाना

माघ १२, २०८२ १८:६

उम्मेदवारले क्यूआरबाट सहयोग जुटाउन थालेपछि राष्ट्र बैंकले भन्यो- चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोल्नू

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

पछिल्लो समय स्वतन्त्र तथा विभिन्न दलका उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका लागि भन्दै आफ्नो व्यक्तिगत बैंक खाताको क्यूआर कोड फेसबुक लगायतका प्लेटफर्ममा राखेर पैसा संकलन गरिरहेका छन् । यस्तो सहयोग कति र कसबाट आयो भन्ने कुराको पारदर्शितामा प्रश्न उठ्ने भएपछि राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधमा छुट्टै खाताको व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन दिएको हो ।

निर्वाचनमा सहभागी हुने प्रत्येक राजनीतिक दल, उनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका क्रममा हुने आम्दानी र खर्चको कारोबार गर्न छुट्टै एउटा मात्र बैंक खाता खोल्न पाउने सूूचनामा उल्लेख छ ।

निर्वाचन आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा यस्तो खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ । यसरी खोलिएको खाता निर्वाचन सम्पन्न भएपछि आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि खोलिने यस्ता खाताको हकमा विद्यमान एकीकृत निर्देशन, २०८२ को व्यवस्थामा विशेष छुट दिएको छ । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनको बुँदा नं. ४५ अनुसार कुनै पनि व्यक्तिले एउटै बैंक वा वित्तीय संस्थामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न पाउँदैनन् ।

तर, निर्वाचन आयोगले चुनावी खर्चको पारदर्शिताका लागि छुट्टै खाता आवश्यक रहेको बताएपछि आयोगको अनुरोधमा निर्वाचन अवधिसम्मका लागि उम्मेदवारहरूलाई यो नियममा छुट प्रदान गरिएको सूचनामा उल्लेख छ।

निर्वाचनको समयमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन र निर्वाचन आचारसंहिता बमोजिम खर्चको सीमा अनुगमन गर्न आयोगले बैंकिङ प्रणाली अनिवार्य गरेको हो । अब उम्मेदवारहरूले निर्वाचनका लागि हुने सबै आर्थिक सहयोग र खर्च यही छुट्टै बैंक खातामार्फत गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वारा हस्ताक्षरित यो सूचना सम्पूर्ण इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई कार्यान्वयनका लागि पठाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १८:३३