close

कस्तो छ, १९० एमएम ग्राउन्ड क्लियरेन्स, २० मिनेटमै २०% बाट ८५% सम्म चार्ज हुने नामी भिगो ईभी ?

टेकपाना टेकपाना

माघ १२, २०८२ २३:१८

कस्तो छ, १९० एमएम ग्राउन्ड क्लियरेन्स, २० मिनेटमै २०% बाट ८५% सम्म चार्ज हुने नामी भिगो ईभी ?

काठमाडौँ । नेपाली बजारमा चिनियाँ इलेक्ट्रिक गाडीहरूको भीडमा अर्को एक सशक्त प्रतिस्पर्धी थपिएको छ– डोङफेङ नामी भिगो । एमएडब्लू वृद्धिले नेपाल भित्र्याएको यो गाडीले छोटो समयमै १५० भन्दा बढी युनिट बिक्री गरेर आफ्नो बलियो उपस्थिति जनाइसकेको छ ।

टेकपानाले तयार पारेको यस गाडीको 'फर्स्ट इम्प्रेसन' र भिडिओ रिभ्युमा गाडीको डिजाइन, पर्फर्मेन्स र फिचरहरूबारे विस्तृत चर्चा गरिएको छ । रिभ्युका अनुसार नामी भिगोको बाहिरी बनावट अहिलेको ट्रेन्ड अनुसारको बक्सी (Boxy) भए पनि निकै एलिगेन्ट र चिटिक्क परेको छ ।

अगाडि भागमा एल आकारको युनिक एलईडी हेडल्याम्प र डीआरएल दिइएको छ, जसले गाडीलाई फ्युचरिस्टिक लुक्स दिन्छ ।

साइड प्रोफाइलको कुरा गर्नुपर्दा गाडीमा १८ इन्चको टायर प्रयोग गरिएको छ । यसमा रहेको ह्विल कभरले एलोय ह्विलकै झल्को दिन्छ । साथै, फ्लस डोर ह्यान्डलको साटो परम्परागत जस्तो देखिने तर भित्रपट्टि बटन थिच्नुपर्ने डोर ह्यान्डल दिइएको छ भने साइड मिररमा क्यामेरा तथा इन्डिकेटरको संयोजनले यसलाई प्रिमियम देखाएको छ ।

नेपालको बाटोलाई मध्यनजर गर्दै यसमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन यो सेग्मेन्टका लागि उत्कृष्ट मानिन्छ ।

गाडीको भित्र पस्दा एकदमै सफा अनुभव हुन्छ । ड्याशबोर्डमा भौतिक बटनहरू लगभग हटाइएको छ र सबै कन्ट्रोलहरू १२.८ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमबाटै गर्न सकिन्छ ।

 

५ जना यात्रु बस्नका लागि गाडी निकै फराकिलो छ । पछाडि बस्ने यात्रुका लागि पर्याप्त लेगरुम र हेडरुम रहेको छ । ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइटिङ, ३६० डिग्री क्यामेरा र उच्च गुणस्तरको साउन्ड सिस्टम यसमा पाउन सकिन्छ ।

यसमा ५०० लिटरको बुट स्पेस छ । यसको टेलगेट (डिक्की) खोल्दा बस्न मिल्ने गरी 'हेभन एण्ड अर्थ' कन्सेप्टमा डिजाइन गरिएको छ, जुन क्याम्पिङ मन पराउनेहरूका लागि निकै उपयोगी हुन सक्छ ।

नामी भिगोमा ९९ किलोवाटको मोटर र ५१.८७ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ । डब्लूएलटिपी मापदण्ड अनुसार यसले फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने सिटी र हाइवेमा चलाउँदा ४०० किलोमिटर आसपास रेन्ज पाइएको कम्पनीको दाबी छ ।

यसले १६० किलोवाटको डीसी फास्ट चार्जरलाई सपोर्ट गर्छ । जस मार्फत यो ईभी करिब १८ देखि २० मिनेटमा २०% बाट ८५% सम्म चार्ज हुने बताइएको छ ।

सुरक्षाको मामिलामा यो गाडीले ५ स्टार सेफ्टी रेटिङ (सी-एनक्याप) पाएको छ । यसमा ६ वटा एयरब्याग र लेभल-२ को एड्याश (Advanced Driver Assistance Systems) फिचर समावेश छ ।

फिचर र प्राइस पोइन्टको आधारमा नामी भिगोको मुख्य प्रतिस्पर्धा बजारमा लोकप्रिय बीवाईडी एटो ३ सँग छ ।

यो गाडी चलाउन निकै सजिलो छ । स्टेरिङ ह्विल ओभल आकारको (माथि र तल च्याप्टो) भएकाले चलाउँदा रमाइलो अनुभव हुन्छ । गाडीको पिकअप र ब्रेकिङ निकै शक्तिशाली रहेकाले चालकले सुरुमा केही बानी भने पार्नुपर्ने नै हुन्छ ।

कम्पनीले गाडीको मोटर र ब्याट्रीमा ८ वर्ष वा १,५०,००० किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ । यसको प्रतिस्पर्धी मूल्य र प्रिमियम फिचरहरूले गर्दा यो अहिले नेपाली ईभी बजारमा हट केक बनिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ २३:१८