close

फ्याक्टचेक: बालेन टिमलाई दोष दिएका राप्रपाका उम्मेदवार पुष्पराज पुरुष आफैँले फैलाए भ्रम

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १४, २०८२ १९:२९

फ्याक्टचेक: बालेन टिमलाई दोष दिएका राप्रपाका उम्मेदवार पुष्पराज पुरुष आफैँले फैलाए भ्रम

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग जोडेर एउटा सामग्री भाइरल भइरहेको छ । उक्त पोस्टमा राप्रपाले आधिकारिक विज्ञप्ति जारी गर्दै झापा क्षेत्र नम्बर ५ मा बालेन शाहलाई सघाउने निर्णय गरेको दाबी गरिएको छ । सोही दाबीलाई आधार बनाएर राप्रपाका समानुपातिक उम्मेदवार पुष्पराज पुरुषले ‘बालेन टिम’ ले झुटो प्रचार फैलाएको आरोप लगाएका छन् ।

यस विषयमा टेकपाना फ्याक्टचेकले गरेको विस्तृत अध्ययनबाट उक्त भाइरल सामग्री ‘क्लिकबेट’ (झुक्याएर क्लिक गराउने) लिङ्क भएको र यसमा प्रयोग गरिएको फेसबुक ग्रुप समेत नक्कली रहेको पुष्टि भएको छ ।

दाबी

२६ जनवरी २०२६ को बेलुका ८:०३ बजे ‘Pushpa raj purush - पुष्प राज पुरुष’ नामको फेसबुक पेजबाट एउटा स्क्रिनशट पोस्ट भयो । समाचारको जस्तो देखिने उक्त स्क्रिनशटमा ‘Balen Shah’ नामको फेसबुक ग्रुपमा ‘Ranjita Shareshtha’ नामक प्रयोगकर्ताले एउटा लिङ्क शेयर गरेको देखिन्छ । 

उक्त लिङ्कको हेडलाइनमा लेखिएको छ, ‘राप्रपाले बिग्यप्ती जारी गर्दै झापा ५ मा बालेन लाई सघाउने निर्णय गर्दै ओलि लाई कुनै पनि हालतमा ह...seemore’ । तलपट्टि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको फोटो राखिएको छ भने छेउमा राप्रपाको विज्ञप्ति राखिएको छ । 

पुष्पराज पुरुषले क्याप्सनमा लेखेका छन्, “बालेन ग्रुपले झुटको खेती फेक लिंक बनाएर मान्छेलाई भ्रम पार्न सुरु। राप्रपाको उम्मेदवारलाई हराउन आफ्ना ग्रुपमा गलत फेक अनलाईन लिंक बनाएर प्रचार गरेको भेटिएको छ। सबैले प्रतिकार गरौं। यस्तो गलत लिंकहरुलाई डिलेट गर्न एडमिनलाई सचेत गराइन्छ। बालेनको पव्लिक ग्रुपमा रञ्जिता श्रेष्ठको नाम बाट लिंक सेयर भएको छ। याद रहोस् राप्रपाको लागि बालेन र केपी ओली दुबै निरपेक्ष दलका नेताहुन। पक्ष लिनु पर्ने कुनै कारण छैन।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ५७९ रियाक्सन, १५० कमेन्ट आएका छन् भने ८१ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा दुई ओटा पक्षबाट अनुसन्धान सुरु गरेको छ । पहिलो- भाइरल भइरहेको लिङ्कको प्रकृति कस्तो हो, कसले फैलाएको हो, त्योसँग बालेनको के सम्बन्ध छ ? र दोस्रो- पुष्पराज पुरुषको दाबीको तथ्यजाँच । सबैभन्दा पहिले, राप्रपाले झापा क्षेत्र नम्बर ५ मा बालेनलाई सघाउने निर्णय गरेको भन्ने दाबीका सम्बन्धमा अध्ययन गरौँ ।

त्यसका लागि हामीले भाइरल भइरहेको स्क्रिनशटमा देखिएको ग्रुप र प्रयोगकर्ताको नाम त्यहाँ देखिएको कन्टेन्ट विश्लेषण गर्न खोज्यौं । ग्रुपको नाम ‘Balen Shah’ छ । त्यसमा पोस्ट गर्ने अकाउन्टको नाम ‘Ranjita Sharestha’ छ । ‘श्रेष्ठ’ थर लेख्न खोजेको तर बिग्रिएर ‘शरेष्ठ’ भएको छ । थर नै बिग्रिएको राखिएको छ । यसबाट अकाउन्ट नक्कली हुने देखिन्छ । हामीले यही नाम राखेर खोज्यौं । तर, यो अनुसन्धानका क्रममा उक्त नाम भएको फेसबुक अकाउन्ट वा पेज फेला परेन । 

त्यसपछि हामीले उक्त लिङ्कको विश्लेषण गर्न थाल्यो । उक्त लिङ्कमार्फत शेयर गर्न खोजिएको टेक्स्टको हिज्जे नै बिग्रिएको छ । ‘बिग्यप्ती’, ‘ओलि’को हिज्जे बिग्रिएको छ भने ‘लाई’लाई छुट्याइएको छ । व्यावसायिक सञ्चार माध्यमले यस्तो गल्ती विरलै गर्छन् । त्यसबाहेक वेबसाइटको लिङ्क हुनुपर्ने ठाउँमा ‘videoo.link’ छ । अर्थात् यो कुनै सञ्चार माध्यमको लिङ्क नभई थर्ड पार्टी प्लेटफर्मको लिङ्क हो । 

उक्त लिङ्क परीक्षण गर्ने क्रममा त्यसले ‘daady.link’ सँग जोडिएको देखायो । उक्त लिङ्क खोज्दा यो सीटीआर अर्थात् क्लिक थ्रु रेट बढाउने प्लेटफर्म भएको देखियो । 

उदाहरणका लागि तपाईंलाई कुनै लिङ्कमा भिजिटर ल्याउनु छ । तर, त्यसलाई डाइरेक्ट शेयर गर्दा सामाजिक सञ्जालमा प्रिभ्यु गतिलो वा तपाईंले खोजेको जस्तो नदेखिन सक्छ । 

यस्तोमा यो थर्ड पार्टी प्लेटफर्मले फोटो, टेक्स्ट प्रयोगकर्ताले चाहेको जस्तो राख्ने सुविधा दिन्छ । अर्थात् ‘videoo.link’ भन्ने प्लेटफर्म अरु कुनै लिङ्कमा पठाउने माध्यम भएको देखियो । 

उक्त लिङ्कमा राप्रपाको विज्ञप्ति स्पष्ट देखिंदैन । त्यसैले विज्ञप्ति पढ्नुभन्दा प्रयोगकर्ता लिङ्कमा क्लिक गर्न प्रेरित हुन्छन् । हामीले उक्त फोटोको स्रोत फेला पार्न गुगल रिभर्स इमेज सर्च गर्‍यौं । उक्त फोटो अनलाइन खबरले १० कात्तिक २०८२ मा राखेको ‘रुमल्लिएको राप्रपा : प्रदेशका २८ सांसदको राजीनामाको निर्णय नै भारी’ शीर्षकको समाचारमा विज्ञप्ति राखेको भेटियो । 

झापा-५ को निर्वाचनलाई जोडेर भाइरल बनाइएको विज्ञप्ति र यो समाचारमा देखिएको विज्ञप्तिको मिति र टेक्स्ट मिलेको पाइयो । २४ भाद्र २०८२ मा जारी भएको उक्त विज्ञप्तिमा ‘राप्रपाका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले सामूहिक राजीनामा दिएर संसदबाट बाहिरिने निर्णय गरेको’ उल्लेख छ ।

 

त्यही विज्ञप्तिलाई जोडेर राप्रपाले झापा ५ मा बालेनलाई सघाउने दाबी गरिएको पुष्टि हुन्छ । हामीले गुगल एड्भान्स सर्चमार्फत राप्रपाले झापा-५ मा गरेको निर्णयबारे खोज्यौं । तर, कुनै पनि सञ्चार माध्यमले राप्रपाले बालेनलाई सघाउने निर्णय गरेको विषयमा समाचार राखेको फेला परेन । राप्रपाको वेबसाइटमा रहेको सूचना, समाचार प्रेस विज्ञप्तिमा पार्टीको पछिल्ला निर्णयबारे खोज्यौं । तर, झापा-५ मा बालेनलाई सघाउने भन्ने कुनै निर्णय भएको समाचार, विज्ञप्ति वा सूचना फेला पारेनौं ।   

यसबाट ‘राप्रपाले विज्ञप्ति जारी गर्दै झापा-५ मा बालेनलाई सघाउने घोषणा गरेको’ भन्ने दाबी मिथ्या पुष्टि भयो । 

त्यसपछि हामीले भाइरल भइरहेको दाबी फेला पार्न ‘राप्रपताले बिग्यप्ती जारी गर्दै झापा ५ मा बालेन लाई सघाउने निर्णय गर्दै ओलि लाई कुनै पनि हालतमा ह…’ भन्ने वाक्य फेसबुक, एक्स, इन्स्टाग्राम र टिकटकमा सर्च गर्‍यौं । त्यस क्रम फेसबुकमा विभिन्न अकाउन्टबाट उक्त दाबीसहितको लिङ्क फैलिएको पाइयो । हेर्नुहोस् स्क्रिनरेकर्ड । इन्स्टाग्राम, टिकटक र एक्समा भने फेला परेन ।

यसमा ‘Balen Shah’, ‘KP Sharma Oli’, ‘Bhojraj Thapa’, ‘Rabi Lamichhane’, ‘Dr. Toshima Karki’, ‘Purnika Shah’ लगायतका सार्वजनिक तथा चर्चामा रहेका व्यक्तिको नामबाट खोलिएका ग्रुपबाट शेयर भएको पाइयो ।

 

ती लिङ्कमा कुनै समाचार नभई थर्ड पार्टी लिङ्क राखिएको छ । उक्त लिङ्कले हरेक पटक फरक फरक वेबसाइटमा रिडाइरेक्ट गरिरहेको छ । टेकपानाका अनुसार यसमा लिङ्क फर्वार्डर प्लेटफर्म प्रयोग गरेर रोटेटर लिङ्क राखिएको छ । यसले कहिले बेटिङ प्लेटफर्ममा पुर्‍याउँछ, कहिले अश्लील साइटमा त कहिले मालवेयर वितरण गर्ने साइटमा पुर्‍याउँछ ।

यो लिङ्क कसले सञ्चालन गरेर फैलाइरहेको छ भन्ने जाँच गर्न हामीले शेयर गर्ने प्रोफाइल जाँच गर्‍यौं । त्यस क्रममा ती प्रोफाइलले प्रायः त्यस्तै लिङ्क ग्रुपमा शेयर गर्ने गरेको पायौं । अकाउन्टको नाम नै वास्तविक व्यक्तिको नामभन्दा फरक छ । टाइमलाइनभित्र पनि कन्टेन्ट देखिंदैनन् । यसबाट ती अकाउन्ट यस्ता थर्ड पार्टी लिङ्क प्रवर्द्धन गर्न लिङ्क फर्वार्डर प्लेटफर्म प्रयोग गर्ने गरेको देखियो । 

अब दोस्रो दाबीतर्फ लागौं । पुष्पराज पुरुषले गरेको जस्तो दाबी ‘Surya Tamang’ नामका फेसबुक प्रयोगकर्ताले पनि गरेका छन् । २६ जनवरी राति १०ः२७ बजे उनले उक्त स्क्रिनशट राख्दै लेखेका छन्, “यसरी जथाभावी झुट कुरा लेखेर भ्रम फैलाउने घण्टेका बानहरु मेरो अगाडी पर्‍यो भने मुखैभरी थुकिदिन्छु। राप्रपाले न २३ गतेको नरसंहारको नाईकेलाई सहयोग गर्छ, न त २४ गतेको विध्वंसको नाईकेलाई नै सहयोग गर्छ। झापा ५ मा राप्रपाले आफ्नै उम्मेदवार खडा गरेको छ, अब जित हार के हुन्छ जनताकै हातमा छ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

पुष्पराज पुरुष र सूर्य तामाङले यो भ्रामक सूचना ‘बालेन टिम’बाट आएको दाबी गरेका छन् । हामीले ‘Balen Shah’ नाम र बालेनको फोटो कभर राखिएको ग्रुप खोज्यौं । त्यस क्रममा दुई लाख ८० हजार बढी सदस्य भएको ग्रुप भेटियो । उही कभर फोटो र नाम भएको अर्को ग्रुप फेला नपरेपछि भ्रामक सूचना फैलिएको ग्रुप यही हुने आधार भेटियो । 

यस ग्रुपमा ‘Sita M Stha’, ‘NaraYan Shrestha’ र ‘Bhoj Raj Ghimire’ एड्मिन र मोडिरेटर रहेको देखियो । यी तीन जना रास्पवा वा बालेनसँग जोडिएको विषयमा हामीले बालेन सचिवालयका सदस्य ‘सुरेन्द्र बजगाईं’लाई ह्वाट्सएपमा सम्पर्क गर्‍यौं । उनले यो ग्रुपको बालेनसँग कुनै सम्बन्ध नै नरहेको पुष्टि गरे । हेर्नुहोस् ह्वाट्सएप च्याटको स्क्रिनशट ।

यसबाट पुष्पराज पुरुष र सूर्य तामाङले दाबी गरेको जस्तो यो ग्रुप बालेन शाह वा उनको टिमले सञ्चालन गरेको होइन । फेसबुक बालेन शाहको नाम जोडिएका सयौं फेसबुक ग्रुप सक्रिय छन् । यी त्यस्ता ग्रुप हुन् जसले जुन व्यक्ति चर्चामा हुन्छ वा सामाजिक सञ्जालमा जुन व्यक्तिबारे प्रयोगकर्ता खोजिरहेका हुन्छन् त्यही व्यक्तिको नाम चेन्ज गरेर सञ्चालन गर्छन् । 

यी विभिन्न तथ्यबाट के पुष्टि हुन्छ भने राप्रपाले झापा-५ मा बालेनलाई सघाउने निर्णय गरेको भन्ने दाबी मिथ्या हो । त्यस्तै पुष्पराज पुरुष र सूर्य तामाङले दाबी गरेको जस्तो यो ग्रुप बालेन शाह वा उनको टिमले फैलाएको होइन । यी त्यस्ता अकाउन्ट हुन् जसले कुनै लिङ्कमा भिजिटर पठाएवापत डलर पाउँछन् । त्यही लोभमा यस्ता अकाउन्टले क्लिकबेट टाइटल र फोटो राखेर लिङ्क फर्वार्डरमा अकाउन्ट बनाई भ्रम फैलाउँछन् । 

दाबी

पहिलो दाबी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विज्ञप्ति जारी गर्दै झापा क्षेत्र नम्बर ५ मा बालेन शाहलाई सघाउने निर्णय गरेको छ ।

दोस्रो दाबी: बालेन शाहको आधिकारिक ग्रुप वा टिमले राप्रपाविरुद्ध भ्रम फैलाउन यो 'फेक न्युज' र लिंक प्रचारमा ल्याएको हो । 

दाबीकर्ता

'Ranjita Sharestha' नामको फेसबुक अकाउन्टले 'Balen Shah' नामको ग्रुपमा लिंक शेयर गरेको ।

राप्रपाका समानुपातिक उम्मेदवार पुष्पराज पुरुष र फेसबुक प्रयोगकर्ता सूर्य तामाङ ।

तथ्य

भाइरल भइरहेको लिंक कुनै सञ्चार माध्यमको नभई 'videoo.link' र 'daady.link' जस्ता थर्ड पार्टी लिङ्क फर्वार्डर प्लेटफर्मको हो । यो भाइरल भइरहेको लिङ्कले प्रयोगकर्तालाई झुक्काएर विज्ञापन वा अन्य शंकास्पद साइटमा पुर्‍याउने काम गरेको छ । त्यस्तै पोस्टमा प्रयोग गरिएको राप्रपाको विज्ञप्ति २४ भदौ २०८२ हो, जुन सांसदहरूको सामूहिक राजीनामासँग सम्बन्धित थियो । 

झापा-५ मा बालेनलाई सघाउने भन्ने कुनै पनि आधिकारिक विज्ञप्ति वा निर्णय राप्रपाले गरेको छैन । जुन 'Balen Shah' ग्रुपमा यो पोस्ट गरिएको छ, त्यो बालेन शाहको आधिकारिक ग्रुप होइन । बालेनको सचिवालयले उक्त ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ । त्यस्तै पोस्ट गर्ने अकाउन्ट नै शंकास्पद छ । लिङ्क क्लिक गराउन बालेनको पक्षमा राप्रपाको नामबाट भ्रामक लिङ्क फैलायो भन्दैमा त्यो बालेनकै समर्थक हो भन्ने पनि हुँदैन । 

पोस्ट गरिएको सामग्रीमा 'बिग्यप्ती', 'ओलि' जस्ता शब्दको हिज्जे गलत छ, जसले यो कुनै व्यावसायिक समाचार नभएको पुष्टि गर्छ ।

निष्कर्ष 

राप्रपाले झापा-५ मा बालेनलाई सघाउने कुनै निर्णय गरेको छैन । साथै, यो भ्रम बालेन शाहको आधिकारिक टिमले नभई सामाजिक सञ्जालमा क्लिक गराउने उद्देश्यले खोलिएका नक्कली अकाउन्टले शाहको नामबाट खोलिएको ग्रुपमार्फत फैलाएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८२ १९:४०