close

मेटालाई एक वर्षमै २८ खर्ब घाटा, संकटमा भर्चुअल रियालिटी व्यवसाय !

टेकपाना टेकपाना

माघ १५, २०८२ १७:९

मेटालाई एक वर्षमै २८ खर्ब घाटा, संकटमा भर्चुअल रियालिटी व्यवसाय !

काठमाडाैँ । मेटाको भर्चुअल रियालिटी (भीआर) युनिट रियालिटी ल्याब्सले सन् २०२५ मा भारी आर्थिक घाटा बेहोरेको छ । बुधबार सार्वजनिक गरिएको कम्पनीको वित्तीय प्रतिवेदनअनुसार यो युनिटले एक वर्षमा १९.१ अर्ब अमेरिकी डलर (करिब २८ खर्ब नेपाली रुपैयाँ) घाटा बेहोरेको हो ।

यो घाटा अघिल्लो वर्षको तुलनामा बढी हो । सन् २०२४ मा रियालिटी ल्याब्सले १७.७ अर्ब डलर गुमाएको थियो । प्रतिवेदनअनुसार सन् २०२५ को अन्तिम त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा मात्रै यस युनिटले ६.२ अर्ब डलर घाटा बेहोरेको छ ।

आर्थिक संकट चुलिँदै गएपछि मेटाले यसै महिनाको सुरुमा रियालिटी ल्याब्सका १० प्रतिशत अर्थात् करिब एक हजार कर्मचारीलाई कामबाट निकालेको थियो । आम्दानीको तथ्याङ्क हेर्दा सन् २०२५ भरि यस युनिटले बिक्रीबाट जम्मा २.२ अर्ब डलर मात्र संकलन गरेको छ ।

२०२६ मा पनि घाटा कायमै रहने

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले घाटाका बाबजुद आफ्नो भीआर टोलीप्रति आशावादी रहेको बताएका छन् । यद्यपि, उनले सन् २०२६ मा पनि घाटाको अवस्था यस्तै रहने स्वीकार गरेका छन् ।

"हामी अब आफ्नो लगानी मुख्य रूपमा चस्मा र वेयरेबल्समा केन्द्रित गर्दैछौँ," जुकरबर्गले भनेका छन्, "होराइजनलाई मोबाइलमा सफल बनाउने र आगामी वर्षहरूमा भीआरलाई नाफामूलक इकोसिस्टम बनाउने हाम्रो लक्ष्य छ ।" उनले सन् २०२६ घाटाको उच्च विन्दु हुने र त्यसपछि बिस्तारै घाटा कम हुँदै जाने अपेक्षा राखेका छन्।

सन् २०२१ मा मेटाभर्स निर्माण गर्ने महत्वाकांक्षाका साथ कम्पनीले आफ्नो नाम नै मेटा राखेको थियो । तर, पछिल्लो पाँच वर्षमा यो व्यवसायले लगातार अर्बौँ डलर गुमाउँदै आएको छ । हाल मेटाले आफ्नो ध्यान भर्चुअल रियालिटीबाट हटाएर एआईतर्फ केन्द्रित गर्न थालेको छ ।

यसै रणनीतिक परिवर्तनका कारण कम्पनीले आफ्ना केही भीआर स्टुडियोहरू बन्द गर्ने योजना बनाएको छ । साथै, भर्चुअल मिटिङका लागि ल्याइएको 'वर्करुम्स' एपलाई पनि बन्द गर्ने घोषणा गरिसकेको छ । बजार विश्लेषकहरूले मेटाको यो कदमलाई भीआर व्यवसायबाट बिस्तारै पछि हट्न खोजेको संकेतका रूपमा लिएका छन् ।

 


 

 

पछिल्लो अध्यावधिक: माघ १५, २०८२ १७:३४