ग्यालेक्सी एस २६ फेब्रुअरी २५ मा सार्वजनिक हुने सङ्केत, सामसङले फेर्यो आफ्नो रणनीति
माघ १७, २०८२ ११:२९
काठमाडौँ । सामसङले ग्यालेक्सी ‘एस’ सिरिजका स्मार्टफोन सामान्यतया जनवरी महिनामा सार्वजनिक गर्दै आएको छ । तर, यस पटक ग्यालेक्सी एस २६ सिरिजको सार्वजनिक मिति अघिल्लो वर्षको तुलनामा केही ढिलो हुने सङ्केत देखिएको छ ।
हालै बाहिरिएको सामसङको एक टिजर अनुसार ग्यालेक्सी एस २६ सिरिज आगामी २५ फेब्रुअरीमा घोषणा हुने सम्भावना छ । चर्चित लिकर इभान ब्लासले बाहिर ल्याएको विवरणअनुसार सामसङको आगामी ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टको टिजरमा २५ फेब्रुअरी २०२६ को मिति उल्लेख छ ।
उक्त टिजरमा सिधै ‘ग्यालेक्सी एस २६’ को नाम नलिइए पनि यो मिति एस २६ सिरिजकै सार्वजनिक कार्यक्रमसँग सम्बन्धित रहेको विश्लेषण प्रविधि क्षेत्रका विभिन्न सञ्चार माध्यमले गरेका छन् । यसअघि बाहिरिएका विभिन्न रिपोर्टले पनि सोही मितिलाई सङ्केत गरेका थिए ।
Breaking!
— Ice Universe (@UniverseIce) January 28, 2026
Samsung has released the first teaser for the Galaxy S26.
The teaser campaign consists of three videos, all centered around a new Privacy Screen feature.
This feature is powered by a new display hardware solution, delivering hardware-level anti-peeping protection that… pic.twitter.com/KOlPPLLkwn
गत वर्ष सामसङले ग्यालेक्सी एस २५ सिरिज २२ जनवरी २०२५ मा घोषणा गरेको थियो । त्यस आधारमा हेर्दा यसपटक सामसङले करिब एक महिना ढिलो गरी नयाँ सिरिज बजारमा ल्याउन लागेको देखिन्छ । रिपोर्टका अनुसार २५ फेब्रुअरीमा घोषणा हुने यो सिरिज आगामी ११ मार्च २०२६ देखि विभिन्न देशका बजारमा बिक्रीका लागि उपलब्ध हुन सक्नेछ ।
सामसङले यसपटक आफ्नो उत्पादनको रणनीतिमा केही महत्त्वपूर्ण परिवर्तन गरेको बताइएको छ । सुरुवाती योजना अनुसार कम्पनीले ग्यालेक्सी एस २६, ग्यालेक्सी एस २६ एज र ग्यालेक्सी एस २६ अल्ट्रा सार्वजनिक गर्ने तयारी गरेको थियो ।
तर, गत वर्ष ‘ग्यालेक्सी एस २५ एज’ को कमजोर बिक्रीका कारण कम्पनीले आफ्नो रणनीति परिमार्जन गरेको छ ।
साममोबाइल नामक सञ्चार माध्यमलाई प्राप्त जानकारी अनुसार बजारको माग र उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै सामसङले यसपटक ‘एज’ मोडललाई हटाएर त्यसको सट्टा ‘ग्यालेक्सी एस २६ प्लस’ लाई नै निरन्तरता दिने निर्णय गरेको छ । यससँगै अब ग्यालेक्सी एस २६ सिरिजमा एस २६, एस २६+ र एस २६ अल्ट्रा गरी तीन मोडेल उपलब्ध हुनेछन् ।
पछिल्लो अध्यावधिक: माघ १७, २०८२ ११:५२
