close

७.५ प्रतिशत फोनमा मात्रै पुग्यो एन्ड्रोइड १६, अझै पनि एन्ड्रोइड १५ कै वर्चस्व

टेकपाना टेकपाना

माघ १७, २०८२ १७:३८

७.५ प्रतिशत फोनमा मात्रै पुग्यो एन्ड्रोइड १६, अझै पनि एन्ड्रोइड १५ कै वर्चस्व

काठमाडौँ । गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको भर्सन वितरण सम्बन्धी पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार हाल विश्वभरका सक्रिय एन्ड्रोइड डिभाइसहरूमध्ये ७.५ प्रतिशतमा मात्रै नयाँ एन्ड्रोइड १६ सञ्चालनमा रहेको देखिएको छ ।

गुगलले सन् २०२५ को जुन महिनामा आफ्ना पिक्सेल स्मार्टफोनहरूका लागि एन्ड्रोइड १६ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको सात महिनाभन्दा बढी भइसक्दा पनि यसको विस्तार दर सुस्त देखिएको छ । गुगलका अनुसार यो तथ्याङ्क १ डिसेम्बर २०२५ सम्मको हो, जसले गर्दा हालको अवस्थामा यो प्रतिशत केही बढेको हुन सक्ने अनुमान छ ।

हाल बजारमा सबैभन्दा बढी प्रयोग हुने भर्सनमा एन्ड्रोइड १५ अग्रस्थानमा छ । कुल एन्ड्रोइड डिभाइसको १९.३ प्रतिशत हिस्सा एन्ड्रोइड १५ ले ओगटेको छ । त्यस्तै, १७.२ प्रतिशतका साथ एन्ड्रोइड १४ दोस्रो र १३.९ प्रतिशतका साथ एन्ड्रोइड १३ तेस्रो स्थानमा रहेका छन् । नयाँ एन्ड्रोइड १६ भने हाल सातौँ स्थानमा छ, जसलाई एन्ड्रोइड ११, १२ र १० ले समेत पछाडि पारेका छन् ।

एप्पलको आईओएसको नयाँ भर्सन विस्तारको तुलनामा एन्ड्रोइडको यो दर निकै कम देखिए पनि यसका केही प्राविधिक कारण छन् । एन्ड्रोइड एक ओपन इकोसिस्टम हो, जहाँ दर्जनौँ कम्पनीहरूले हजारौँ मोडेलका डिभाइस‍ उत्पादन गर्छन् । प्रत्येक कम्पनीले आफ्ना विभिन्न मोडेलहरूका लागि छुट्टाछुट्टै अपडेट विकास गरी पठाउनुपर्ने भएकाले नयाँ भर्सन सबै प्रयोगकर्तामा पुग्न समय लाग्ने गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८२ १८:१२