close

सार्वजनिक हुनुअघि नै बाहिरियो सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको आधिकारिक पोस्टर, के छ विशेष ?

टेकपाना टेकपाना

माघ १९, २०८२ १५:१६

सार्वजनिक हुनुअघि नै बाहिरियो सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको आधिकारिक पोस्टर, के छ विशेष ?

काठमाडौँ । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेका बेला यसको शीर्ष मोडेल एस२६ अल्ट्राको आधिकारिक पोस्टर बाहिरिएको छ । प्रविधि विश्लेषक इभान ब्लासले सार्वजनिक गरेको उक्त पोस्टरमा फोनको नयाँ लुक्स र रङको खुलासा भएको छ ।

आगामी तीन हप्ताभित्र बजारमा आउने अपेक्षा गरिएको यो फोन नयाँ कोबाल्ट भायोलेट (Cobalt Violet) रङमा देखिएको छ । फोनको क्यामेरा डिजाइनमा व्यापक परिमार्जन गरिएको छ, जुन सामसङकै जेड फोल्ड सेभेनसँग मिल्दोजुल्दो छ । फोनको साथमा एस पेन स्टाइलस पनि देखाइएको छ, जुन फोनको मुख्य रङभन्दा फरक (कालो) रङमा रहेको छ ।

हालै बाहिरिएका केही विवरणअनुसार ग्यालेक्सी एस२६ अल्ट्रामा ६.९ इन्चको डाइनामिक एमोलेड डिस्प्ले रहनेछ । जसले क्यूएचडी प्लस रेजोलुसन र १ देखि १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्नेछ । पर्फमेन्सका लागि यसमा क्वालकमको सबैभन्दा शक्तिशाली स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट प्रयोग गरिएको छ ।

क्यामेराको क्षेत्रमा यो फोन निकै शक्तिशाली हुने चर्चा छ । यसमा f/1.4 एपर्चरसहितको २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । साथै, ५० मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो (५x जुम) र ३x अप्टिकल जुमसहितको १० मेगापिक्सेलको अर्को टेलिफोटो लेन्स समावेश गरिएको छ ।

फोनमा ५,००० एमएएचको ब्याट्री र ६० वाटको फास्ट वायर चार्जिङ सुविधा उपलब्ध हुनेछ ।

सामसङले यो सिरिज औपचारिक रूपमा सार्वजनिक गर्ने मिति घोषणा नगरे पनि फेब्रुअरीको अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८२ १६:१२