close

आफूलाई ५१ वर्षको जेनजी बताएपछि एमालेका सूर्य थापा भाइरल, को हो त वास्तविक जेनजी ?

टेकपाना टेकपाना

माघ २१, २०८२ ११:२

आफूलाई ५१ वर्षको जेनजी बताएपछि एमालेका सूर्य थापा भाइरल, को हो त वास्तविक जेनजी ?

काठमाडौँ । नेपालको राजनीतिक बजारमा यतिबेला 'जेनजी' शब्द निकै चर्चामा छ । चुनाबी प्रचारका क्रममा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले आफूलाई 'जेनजी' दाबी गरेको एक भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

"मै जेन जी हो । प्युठानको कम्युनिस्ट आन्दोलनको नेतृत्वका हिसाबले जेनजी मै हो । नव युवा मै हो । म ९१ वर्ष पुगेको छैन, म ८० वर्ष पुगेको छैन, म ७० वर्ष पुगेको छैन, म ६० वर्ष पुगेको छैन, म ५१ वर्षको भर्भराउँदो युवा हो । जेनजी मै हो," भाइरल क्लिपमा उनले बोलेको सुनिन्छ ।

तर, के ५१ वर्षका सूर्य थापा वास्तवमै जेनजी हुन् त ? तथ्याङ्क र परिभाषाले भन्छ- पक्कै होइनन् । एमालेका नेता सूर्य थापाको जन्म विस २०३१ साउन ८ गते (सन् १९७४ जुलाई २४) प्युठानको झिमरुकमा भएको हो ।

समाजशास्त्रीय र प्राविधिक परिभाषा अनुसार सन् १९६५ देखि १९८० को बीचमा जन्मिएका व्यक्तिहरू जेन एक्स (Generation X) मा पर्छन् । त्यसैले, सूर्य थापा 'जेनजी' होइनन्, उनी वास्तवमा 'जेन एक्स' हुन् । चुनावी भाषणमा युवाहरूको मन जित्न उनले आफूलाई जेनजी दाबी गरे पनि उनी यो पुस्ताभन्दा दुई पुस्ता पुराना हुन् ।

 

को हो त वास्तविक 'जेनजी' ?

वास्तविक जेनजी, जसलाई अनौपचारिक रूपमा जुमर्स (Zoomers) पनि भनिन्छ । जो सन् १९९७ देखि २०१२ सम्म जन्मिएका व्यक्तिहरू हुन् । केही अध्ययनहरूले यसका लागि सन् १९९५ देखि २०१० को बीचको समयलाई पनि लिने गरेका छन् । यो पुस्ता मिलेनियल (Millennials) पछि र जेन अल्फा (Generation Alpha) भन्दा अघि आउने पुस्ता हो ।

जेनजीलाई डिजिटल नेटिभ्स (Digital Natives) पनि भनिन्छ । यो पुस्ताको मुख्य विशेषता नै प्रविधि र इन्टरनेटसँगको यिनको गहिरो सम्बन्ध हो ।

यिनीहरू वेब २.०, उच्च गतिको वाई-फाई र स्मार्टफोनको युगमा जन्मिएका र हुर्किएका पहिलो सामाजिक पुस्ता हुन् । यिनीहरूले डायल-अप इन्टरनेट वा ब्ल्याक एन्ड ह्वाइट टिभीको जमाना देख्नुपरेन ।

यो पुस्ताका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब केवल मनोरञ्जनका साधन मात्र होइनन्, बरु यिनीहरूका लागि सूचनाको मुख्य स्रोत र पहिचान बनाउने माध्यम हुन् ।

जेनजीका सदस्यहरू दैनिक कम्तीमा ३ देखि ६ घण्टा वा सोभन्दा बढी समय आफ्नो फोनमा बिताउँछन् । यिनीहरू शपिङ, डेटिङ र साथी बनाउने काम अनलाइनमै गर्न रुचाउँछन् ।

डिजिटल माध्यममा धेरै विकल्पहरू भएका कारण यिनीहरू लामो व्याख्या भन्दा छोटो, स्पष्ट र भिजुअल (Visual) सामग्रीहरू रुचाउँछन् । टिकटकका छोटा भिडिओहरू लोकप्रिय हुनुको मुख्य कारण यही पुस्ता हो ।

नेपालको सन्दर्भमा जेनजी पुस्ताले आफ्नो शक्ति गएको २३-२४ भदौमा भएको आन्दोलन मार्फत देखाएको थियो । यो आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र राज्यमा व्याप्त भ्रष्टाचार विरुद्ध केन्द्रित थियो ।

यिनीहरूले सामाजिक सञ्जालमार्फत नै सङ्गठित भई देशव्यापी प्रदर्शन गरे, जसले गर्दा तत्कालीन केपी ओली शर्मा ओली नेतृत्वको सरकार पतन भयो र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा भयो ।

नेपाली जेनजीहरू परम्परागत राजनीतिक दलहरूप्रति निकै आलोचनात्मक छन् र उनीहरू नातावाद (Nepotism) तथा भ्रष्टाचारको कडा विरोधी हुन् । यो पुस्ताले प्रविधि र इन्टरनेटको माध्यमबाट आफ्नै छुट्टै भाषा पनि निर्माण गरेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ ११:२