close

नेपाल टेलिकमको वार्षिकोत्सव अफर: २२ रुपैयाँमा प्रिपेड सिमदेखि २२२ रुपैयाँमा २२ जीबी डेटा

टेकपाना टेकपाना

माघ २२, २०८२ १३:२०

नेपाल टेलिकमको वार्षिकोत्सव अफर: २२ रुपैयाँमा प्रिपेड सिमदेखि २२२ रुपैयाँमा २२ जीबी डेटा

काठमाडौँ । २२औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल टेलिकमले ‘वार्षिकोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि लागु हुने गरी मोबाइल सेवा, एफटीटीएच र डेटा प्याकेजहरूमा विशेष सहुलियत घोषणा गरेको हो ।

यस अवसरमा टेलिकमले प्रिपेड सिम कार्ड खरिदमा छुट उपलब्ध गराएको छ । यसअघि ९० रुपैयाँमा बिक्री गर्दै आएको सिम आजदेखि १४ फागुनसम्म अर्थात् २२ दिनका लागि २२ रुपैयाँमै उपलब्ध हुनेछ। 

त्यस्तै एफटीटीएच प्याकेज जडान गर्दा लाग्ने शुल्क एक महिनासम्म नि:शुल्क गरिएको छ । यसअघि कम्पनीले सबै एफटीटीएच प्याकेजहरूमा नयाँ जडान गर्दा ५०० रुपैयाँ शुल्क लिँदै आएको थियो । 

डेटामा पनि छुट

टेलिकमले वार्षिकोत्सवकै अवसर पारेर २२२ रुपैयाँमा २२ दिनको लागि २२ जीबी डेटा अफर ल्याएको छ । यस्तै २२ रुपैयाँमा १ दिनका लागि २ जीबी डेटा उपलब्ध हुनेछ । यसबाहेक सेलिब्रेसन प्याकको रूपमा २२२ रुपैयाँमा २२ दिनका लागि २२२ मिनेट अल नेटवर्क भ्वाइस कल, ४ जीबी डेटा र २२२ ओटा अल नेटवर्क एसएमएसको समेत कम्पनीले उपलब्ध गराउने छ ।  

टेलिकमको वार्षिक वा बहु-वर्षीय एफटीटीएच डेटा सेवा प्रयोग गरिरहेका ग्राहकले आफ्नो मोबाइल नम्बर कम्पनीलाई उपलब्ध गराएमा २२ जीबी मोबाइल डेटा बोनस समेत प्राप्त गर्नेछन् । यो बोनस सुविधा नयाँ जडान गर्ने र नवीकरण गर्ने ग्राहकले जडान गरेको भोलिपल्ट प्राप्त गर्नेछन् । यस्तो मोबाइल डेटा बोनसको समयसीमा ३ दिनको हुनेछ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले जीएसएम प्रिपेड प्रयोगकर्ताका लागि सुन्धारा र भैरहवा कार्यालयबाट अनलाइन केवाईसी अपडेटको परीक्षण सुरु गरेको छ । साथै, २०७९/८० सम्मको बक्यौता रहेको महसुल २०८२ माघ मसान्तसम्म भुक्तानी गरेमा जरिबानामा छुट दिने व्यवस्था समेत गरिएको छ । यसैगरी कम्पनीले विद्यार्थी अफरको समयावधि पनि २२ फागुन २०८२ सम्मका लागि थप गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १४:११