close

चिनियाँ वैज्ञानिकले विकास गरे २० गिगावाटको शक्तिशाली माइक्रोवेभ हतियार, स्टारलिङ्कलाई खतरा

टेकपाना टेकपाना

माघ २३, २०८२ १५:४८

चिनियाँ वैज्ञानिकले विकास गरे २० गिगावाटको शक्तिशाली माइक्रोवेभ हतियार, स्टारलिङ्कलाई खतरा

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले विश्वकै पहिलो २० गिगावाट क्षमताको शक्तिशाली र सघन (कम्प्याक्ट) माइक्रोवेभ हतियार निर्माण गरेका छन् । यो हतियार ६० सेकेन्डसम्म लगातार ऊर्जाको लहर प्रहार गर्न सक्षम रहेको समाचार साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित भएको छ ।

‘TPG1000Cs’ नाम दिइएको यो विशेष उपकरण चीनको शान्सी प्रान्तको सियानस्थित उत्तर-पश्चिमी आणविक प्रविधि संस्थानमा तयार पारिएको हो । यो प्रविधिलाई एलन मस्कको स्पेस-एक्सद्वारा सञ्चालित स्टारलिङ्क स्याटलाइटहरूका लागि गम्भीर खतराको रूपमा हेरिएको छ ।

पृथ्वीको तल्लो कक्षमा रहेका स्टारलिङ्क स्याटलाइटहरूलाई जमिनमा आधारित यो हतियारले सजिलै अवरोध पुर्‍याउन वा भौतिक रूपमै क्षति पुर्‍याउन सक्ने देखिएको छ ।

यो उपकरण केवल चार मिटर (१३ फिट) लामो छ र यसको तौल जम्मा पाँच टन रहेको छ । यसको सानो आकारका कारण यसलाई ट्रक, युद्धपोत, युद्धक विमान वा स्याटलाइटहरूमा समेत जडान गरी युद्ध मैदानमा लैजान सकिन्छ ।

यसअघिका यस्तै ज्ञात प्रणालीहरू बढीमा तीन सेकेन्ड मात्र लगातार चल्न सक्थे र ती निकै ठुला आकारका हुन्थे । तर TPG1000Cs ले पूर्ण रूपमा एक मिनेटसम्म लगातार २० गिगावाट शक्ति प्रदान गर्न सक्छ, जुन यस क्षेत्रमा एउटा ठुलो फड्को हो ।

चिनियाँ विज्ञहरूको अनुमान अनुसार १ गिगावाट भन्दा बढी ऊर्जा उत्सर्जन गर्ने माइक्रोवेभ हतियारले नै स्टारलिङ्क स्याटलाइटको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्छ । त्यसैले, २० गिगावाट क्षमताको यो नयाँ हतियार स्याटलाइट प्रतिरक्षा र अन्तरिक्ष युद्धको क्षेत्रमा चीनका लागि एउटा महत्त्वपूर्ण सामरिक शक्ति बन्न सक्ने विश्लेषण गर्न थालिएको छ ।

यो हतियारको विकासले अन्तरिक्षमा रहेका सञ्चार उपग्रहहरूको सुरक्षा र भविष्यको युद्धकलामा नयाँ बहस सिर्जना गरिदिएको छ । सानो आकार र उच्च शक्तिको यो संयोजनले गर्दा यसलाई विभिन्न सैन्य प्लेटफर्ममा प्रयोग गर्न सकिने सम्भावनाले यसको रणनीतिक महत्त्व झनै बढाएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १६:१