इसेवाको १७औँ वार्षिकोत्सवमा नयाँ ब्रान्ड गीत “सबै . सधैं . सँगै” सार्वजनिक
माघ २३, २०८२ १८:४८
काठमाडौँ । भुक्तानी सेवाप्रदायक इसेवाले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा नयाँ ब्रान्ड गीत “सबै . सधैं . सँगै” सार्वजनिक गरेको छ । इसेवाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आपसी साथ, भरोसा र एकताको भावनालाई समेटिएको छ ।
गीतले समय र परिस्थिति जस्तोसुकै भए पनि परिवर्तन र चुनौतीका बीच एकअर्काको बलियो सहारा बनेर उभिने सन्देश बोकेको छ । गीतमा सामूहिक एकता र एकअर्कालाई साथ दिँदा प्राप्त हुने शक्तिलाई उत्सवका रूपमा चित्रण गरिएको छ ।
आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्य बोकेको इसेवाले ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ जुन मान्यता राखेको छ, ब्रान्ड गीतमा पनि सोही भावना व्यक्त गरिएको छ ।
विप्लव प्रतीकको शब्द रचना र मनोज कुमार केसीको संगीत रहेको गीतमा गायक-गायिकाहरू सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन् । गीतमा प्रिन्स नेपालीको सारङ्गी वादन रहेको छ ।
यो गीत कठिन समयदेखि सुखद यात्रासम्म एकअर्कालाई विश्वास दिलाउँदै अघि बढ्ने संकल्पको प्रतिनिधित्व हो । सहज समयमा मात्र नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरिएको यो गीत सहकार्यको शक्तिमा विश्वास गर्ने सबैका लागि समर्पित गरिएको इसेवाले जनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १८:५०
