काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले अनलाइन माध्यमको दुरुपयोग गरी भ्रामक र सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न सचेत गराएको हो ।
“सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामाग्री बनाउने र शेयर गर्नु अपराध हो,” प्रहरीले सूचनामा भनेको छ । यस्तै कसैको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने खालका सामग्री बनाउने र शेयर नगर्न प्रहरीले चेतावनी दिएको छ ।
सूचनामा अगाडि भनिएको छ, “कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडिओलाई झुटो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन मिल्ने गरी लाइक, शेयर वा कमेन्ट नगर्न पनि सबैमा अनुरोध गर्दछौँ ।”

प्रहरीले अनलाइनमा देखिने कुनै पनि पोस्ट वा सामग्री शेयर गर्नुअघि त्यसको सत्यता र आधिकारिकता जाँच्न समेत आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १०:४०
