अन्तरिक्ष यात्रीले अब चन्द्रमामा आईफोन लैजान पाउने, नासाको प्रतिबन्ध फुकुवा
माघ २५, २०८२ २०:५१
एआई सिर्जित तस्बिर
काठमाडाैँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्ना आगामी मिसनहरूमा अन्तरिक्ष यात्रीहरूलाई आईफोनसहित आधुनिक स्मार्टफोन बोक्न अनुमति दिने भएको छ । वर्षौँदेखिको कडा र सतर्क नीतिमा परिवर्तन गर्दै नासाले अन्तरिक्ष यात्रीहरूलाई व्यक्तिगत प्रविधि प्रयोग गर्न दिने निर्णय गरेको हो ।
नासाका अनुसार यो सुविधा आगामी क्रु-१२ र चन्द्रमामा पुग्ने अर्टेमिस-२ मिसनका यात्रीहरूलाई उपलब्ध हुनेछ । यसअघि अन्तरिक्ष यात्रीहरूलाई बोर्डमा व्यक्तिगत स्मार्टफोन लैजान अनुमति थिएन । उनीहरूले नासाद्वारा प्रमाणित गरिएका विशेष क्यामेराहरू मात्र प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
यस निर्णयको पुष्टि गर्दै जेरेड आइज्याकम्यानले सामाजिक सञ्जाल एक्समार्फत अन्तरिक्ष यात्रीहरूले अब आफ्ना परिवारसँग जोडिन र अन्तरिक्षका महत्त्वपूर्ण क्षणहरू सहजै कैद गरी पृथ्वीमा पठाउन आधुनिक स्मार्टफोनको प्रयोग गर्नसक्ने बताएका छन् ।
NASA astronauts will soon fly with the latest smartphones, beginning with Crew-12 and Artemis II. We are giving our crews the tools to capture special moments for their families and share inspiring images and video with the world. Just as important, we challenged long-standing…
— NASA Administrator Jared Isaacman (@NASAAdmin) February 5, 2026
अन्तरिक्षमा प्रयोग हुने उपकरणहरूले रेडियसन, अत्यधिक तापक्रम, भ्याकुम, कम्पन जस्ता कठिन परीक्षणहरू पार गर्नुपर्ने हुन्छ । यिनै प्राविधिक सुरक्षाका कारण नासाले यसअघि आधुनिक ग्याजेटहरू प्रयोगमा कडाइ गर्दै आएको थियो । तर, हाल योजना गरिएका पुराना प्रविधिका क्यामराहरू (जस्तै २०१६ को निकोन डीएसएलआर) भन्दा आधुनिक स्मार्टफोनहरू बढी प्रभावकारी र सानो हुने देखिएपछि एजेन्सीले आफ्ना पुराना नियमहरू पुनरावलोकन गर्न थालेको हो ।
यसअघि सन् २०११ मा अन्तिम स्पेस सटल मिसनमा आईफोन-४ पठाइएको भए पनि त्यसको प्रयोग अत्यन्त सीमित थियो । पछिल्लो समय पोलारिस, एक्जियम जस्ता निजी अन्तरिक्ष मिसनहरूमा स्मार्टफोनको सफल प्रयोग भएपछि नासाले पनि सोही बाटो पछ्याएको हो ।
यस निर्णयसँगै अब चन्द्रमाको सतहबाट खिचिएका उच्च गुणस्तरका भिडिओ र तस्बिरहरू स्मार्टफोनकै माध्यमबाट संसारभर छिटो उपलब्ध हुने अपेक्षा गरिएको छ । हाललाई कुन मोडेलका आईफोनहरू अन्तरिक्षमा पठाइनेछ भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ २१:१०
