सांकेतिक तस्बिर
काठमाडौँ । नेपाल प्रहरीले सर्वसाधारणलाई साइबर ठगीप्रति सतर्क रहन आग्रह गरेको छ । भ्यालेन्टाइन विक (प्रणय सप्ताह) अन्तर्गतको ‘टेडी डे’ को अवसर पारेर मंगलबार सामाजिक सञ्जालमा एक चेतनामूलक सामग्री सार्वजनिक गर्दै प्रहरीले आफ्नो व्यक्तिगत र गोप्य विवरण कसैलाई पनि नबाँड्न सचेत गराएको हो ।
भावनात्मक सम्बन्धको आडमा साइबर ठगहरूले आर्थिक तथा व्यक्तिगत फाइदा उठाउन सक्ने जोखिमबारे औँल्याउँदै प्रहरीले पोस्टमा भनेको छ, “माया गर्नेले मन माग्छ तर साइबर ठगले तपाईंको ओटीपी र पासवर्ड माग्छ ।”
प्रेम र उपहार आदानप्रदान हुने यस्ता अवसरहरूमा अपराधीहरूले विभिन्न प्रलोभन देखाएर वा भावनात्मक प्रभावमा पारेर व्यक्तिगत विवरण चोरी गर्ने प्रवृत्ति बढेको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै ओटीपी, पासवर्ड जस्ता संवेदनशील जानकारीहरू माग्ने कुनै पनि लिङ्क वा मेसेजलाई विश्वास नगर्न तथा आफ्नो गोप्य विवरण कसैलाई नदिन प्रहरीले निरन्तर आग्रह गर्दै आएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधका घटनाहरूमा वृद्धि भइरहेको सन्दर्भमा प्रहरीले यस्ता सचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: माघ २८, २०८२ ९:१२
